• २०८१ बैशाख ११ मंगलबार

जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्केट जात्रामा हजारौको भीड

kharibot

भक्तपुर । नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रशिद्ध बिस्केट जात्रा हेर्न आज विभिन्न जिल्लाबाट हजारौँको भीड लागेको छ । 

परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि शुरु भएको थियो । भेलुखेलमा शुक्रबार साँझ उठाइएको लिंगो हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका विभिन्न जिल्लाबाट हजारौको घुइँचो लागेको छ । 

५५ हात लामो इन्द्रध्वजासहितको लिंगो जात्रा हेरे शत्रुनास हुने सहकाल आउने जनविश्वास रहेको छ । चैत मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ लिंगो ढाल्ने गरिन्छ । आज यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने शत्रु नाश हुने जनविश्वास रहेको छ । 

चरखण्डीमा रातिदेखि नै भीड : 

आजै भक्तपुरको दधिकोट र सिरुटारको संगमस्थलमा रहेको प्रशिद्ध चरखण्डी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । 

चरखण्डी महादेव मन्दिरको कुण्डमा स्नान गरी महादेवको पूजा गरे शरीरका सबै रोग नास भई गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयवासी एवं संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताउनुभयो । 

किंवदन्तीअनुसार सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बूढापाकाको भनाइ छ भने यही विश्वासले आज यहाँको कुण्डमा स्नान गर्ने बिहान ४ बजेदेखि नै भीड लागेको छ । 

प्रत्येक वर्ष वैशाख १ गते मनाइने चारखण्डी मेलामा मन्दिर परिसरमा युवाले शरीरमा बत्ति बालेर बसेका छन् । शरीरमा बत्ति बालेर बसेमा पाप नष्ट हुने एवं पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यस मन्दिरमा बिहान ५ बजेदेखि नै तीनवटा खटसहितको खट जात्रासमेत गरिएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराई बिहानै ल्याइएको खट पुनः मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ । 

त्यसैगरी दधिकोटको चित्रपुरस्थित गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रासमेत गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । यता सिरुटार र ललितपुरको टीकाथली गाविस जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ ।  

यता सिरुटार, बालकोटका बासिन्दाले यहाँको गुप्तेश्वर महादेव मन्दिरमा रथ यात्रा गरी जात्रा मनाएका छन् । धिमे बाजाका साथ रथलाई टोल टोलमा घुमाएर पूजा गर्दै जात्रा मनाएको हो । 

थिमिमा चान्हेसियाअर्थात् रात्रिको जात्रा मनाइयो 

चैत मसान्तको दिन साँझबाट शुरु गरी रातभर सञ्चालन हुने चान्हेसियाअर्थात् रात्रिको जात्रा आज बिहान थिमिमा सम्पन्न भएको छ । 

मध्यपुरथिमीका बासिन्दाले मनाउने उक्त जात्रामा शुक्रबार साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा शुरु गरिएको थियो । 

चान्हेसिया जात्रामा सर्वप्रथम त दिगुटोलस्थित दिगुभैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकमारी मन्दिरमा विराजमान गराइन्छ । 

जात्रामा थिमीको अधिंकाश घरघरबाट चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शंखधर चोक हुँदै क्वाछेंस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो । 

त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पु¥याएर पाँच पटक परिक्रमा गराएपछि सोही स्थानमा आआफ्नो आसनमा खटलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । यो जात्रा शुक्रबार साँझ शुरु भई आज बिहान बरिक ४ बजे सम्पन्न भएको थियो । 

थिमीमा विष्णुवीर सिद्धिकाली जात्रा 

त्यस्तै मध्यपुर थिमीका बासिन्दाले प्रसिद्ध विष्णुवीर एवं सिद्धिकाली जात्रा आज थिमीमा सम्पन्न गरेका छन् । विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाँकाल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमासमेत परिक्रमा गराइएको थियो । 

बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितका देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरुप मान्छे मर्दा बजाइने सिं बाजा बजाउँदै लाने प्रचलन रहेको छ । 

त्यस्तै सिद्धिकालीका साथै अन्य विभिन्न देवगण थिमीको हात्ती महाँकाल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पु¥याइ स्वङ्गापुखुको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचो सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइएको छ । त्यसैगरी विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायत अन्य देवगणलाई सिन्दूर चढाई आआफ्नो स्थानमा विराजमान गराएपछि आजको जात्रा विसर्जन गरिने स्थानीयवासी रमेश श्रेष्ठले बताए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय