• २०८१ बैशाख १४ शुक्रबार

२०७४ का चर्चित १० पात्र : प्रधानमन्त्री ओलीदेखि सन्दीपसम्म 

kharibot

काठमाडौं । समय परिवर्तनशील छ, परिवर्तनसँगै व्यक्ति र व्यक्तित्वको चर्चा हुन्छ । नेपालको आफ्नै विशेषता छ । विश्वका कैयौँ देशहरु जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मानेर उत्सव मनाउँछन्, वर्षभरिका चर्चित घटनाहरुको स्मरण गर्छन्, एक अर्कामा शुभकामना आदानप्रदान गर्छन् तर नेपालीहरु भने सन् लाई भन्दा विक्रम संवतलाई आधार मानेर मौलिकताको संवद्र्धन गर्छन् । वैशाख १ नेपालीहरुको नयाँ वर्षको सुरुको दिन हो । यो इस्वी सन् भन्दा ५७ वर्ष जेठो छ । विक्रम संवत् को पहिलो दिन वैशाख १ हो अर्थात् आजको दिन । त्यसकारण वैशाख १ कै सेरोफेरोमा वर्षको ३ सय ६५ दिनमा भएका घटनाहरुको स्मरण, चर्चाको शिखरमा पुगेका व्यक्तित्वबारे कुराकानी हुने गर्छ नयाँ वर्षको वरिपरि रहेर ।

यो शनिबार नेपालीहरुको नयाँ वर्षको सुरुवात हो । हामीले पनि वि.सं. २०७४ मा नेपालको राजनीतिक, सामाजिक तथा अन्य विविध क्षेत्रमा सत्कर्म या अन्य कुनै कारणबाट चर्चामा रहेका ११ व्यक्तित्वबारे हामीले खोजी गरेका छौँ । विशेष गरी यो वर्ष राजनीति र न्याय क्षेत्रका व्यक्तित्वहरु चर्चामा रहे । हुन त नेपालजस्तो देशमा राजनीति नै पहिलो चर्चाको विषय हुँदै आएको पाइन्छ । तर कतिपय यस्ता उदाहरणीय व्यक्तिहरु छन् जो राजनीतिबाट भन्दा आफ्नै सत्कर्मबाट चर्चामा रहन सफल भए । राजनीति त विवादको पुञ्ज हो, खास गरी नेपालको हकमा । त्यसकारण राजनीतिक रुपमा विवादित पात्रहरु सधैँ चर्चामा रहन्छन् । हामीले समावेशी रुपमा राजनीतिलाई मात्र नलिई नेपाली परिवेशका विभिन्न आयामहरुमा चर्चित ११ व्यक्तित्वलाई २०७४ को चर्चित व्यक्तित्वका रुपमा लिएका छौँ । निम्नलिखित व्यक्तिहरु गत वर्ष चर्चामा रहे —

१) खड्ग प्रसाद ओली उर्फ केपी ओली, प्रधानमन्त्री तथा अध्यक्ष – नेपाल कम्युनिष्ट पार्टी (एमाले) 

नेपाली राजनीतिमा पछिल्लो समय वाक्पटु नेताका रुपमा चिनिन्छन् केपी शर्मा ओली । गत वर्ष सम्पन्न स्थानीय, प्रादेशिक र केन्द्रीय संसद्को निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बनाउन सफल ओली खासगरी विनाशकारी भूकम्पलगत्तै चर्किएको मधेश आन्दोलनका चर्को आलोचकका रुपमा उनको चर्चा बढी भयो । संविधान जारी गर्दा ‘बोल्ड’ भूमिका निर्वाह गरेर ओलीले तत्कालीन नेपाली कांग्रेस सभापति स्व. सुशील कोइराला र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर नेपालको ऐतिहासिक संविधान २०७२ जारी गर्न अहं भूमिका खेले । यसले मधेशी समुदाय हिंसात्मक आन्दोलनमा सहभागी बन्दा समेत ओलीले उनीहरुको माग पूरा नगर्न लागिपरे र अन्ततः आज उनी नेपालको बलियो प्रधानमन्त्री बनिसक्दासमेत मधेशवादी दलको त्यो माग पूरा हुनसकेको छैन । अझ अहिले त तिनै मधेशवादी दल आफ्नो एक शत्रुका रुपमा परिचित ओली नेतृत्वकै सरकारलाई संसदमा सघाउने स्थितिमा पुग्यो । 

खास गरी ओलीले लिएको त्यो अडान नेपाली राजनीतिमा एउटा विन्दु बन्न पुगेको थियो । अझ उनले त्यतिबेला नेपालको संविधानलाई समर्थन गर्न र लगाएको नाकाबन्दी फिर्ता नगरुन्जेल भारत भ्रमणमा जान्न भनेर पहिलो कार्यकालमा लिएको अडान ओलीको चर्चाको प्रमुख विषय रह्यो । उनको त्यही अडानले उनलाई राष्ट्रवादी नेताको छवि दियो भने भारत पनि सीमामा लगाएको नाकाबन्दी फिर्ता गरेर मधेशवादी दललाई सम्झाइ बुझाइ गर्न बाध्य बन्यो । त्यतिमात्र होइन, ओलीले अध्यक्षता गरेको एमालेलाई त्यही अडानले गत वर्ष सम्पन्न तीनै तहको निर्वाचनमा सधैँ जितिराख्ने कांग्रेसभन्दा बढी जनमत जुटाउन सफलता हात पर्यो । उनले आफ्नो निर्वाचन क्षेत्रमा ५० हजारभन्दा बढी जनमत प्राप्त गर्नुको मुख्य कारण यही थियो । यसमा विगतको उनको विवादित राजनीतिक ‘इमेज’ले काम गरेको भन्दा पनि नाकाबन्दी र भूकम्पले जुटाइदिएको अवसरको मात्रै योगदान छ भन्दा फरक पर्दैन । त्यसो त ओली एक गैरजिम्मेवार राजनीतिज्ञ पनि हुन् ।

उनले बयलगाडामा चढेर नेपालमा गणतन्त्र आउँदैन भन्दै तत्कालीन समयमा राजावादी छवि बनाएका थिए भने मधेश आन्दोलनकै सन्दर्भमा मधेशी जनतालाई नेपाली जनता नै हैन जसरी आँपको बोटबाट एक दुईवटा आँप झर्दैमा केही नहुने भनी मधेश आन्दोलनमा दमनको नेतृत्व गरेका थिए । यसबाहेक भारतसँगको वैमनश्यको झोकमा राजनीतिमा ‘चाइनाकार्ड’ प्रयोग गरी तत्कालीन राजा महेन्द्रको ‘नक्कल’ गर्ने कोसिस समेत गरेका ओलीले चीनसँग पारवहन सम्झौता गर्दै तेल आयातमा भारतीय एकाधिकार तोड्न रसुवागढी नाकाबाट पेट्रोलियम पदार्थ आयात गरेजस्तो ‘नौटंकी’ पनि प्रस्तुत गरे, भारतसँगको तेल पाइपलाइन सम्झौतालाई राष्ट्रघात समेत बताएका ओली अन्ततः उनी दोस्रो कार्यकालमा त्यही सम्झौताको कार्यान्वयन भारत पुगेर शिलान्यास नै गरे । अतः एउटा बेपर्वाह, गैरजिम्मेवार र लाचार राजनीतिज्ञका रुपमा समेत गत वर्ष ओली चर्चाको शिखरमा रहे । 

२) शेरबहादुर देउवा, सभापति – नेपाली कांग्रेस

चौतर्फी राजनीतिक खिचातानी र पहिलो ठूलो दलको दम्भको भरपूर फाइदा उठाउँदै २०७४ जेठ २३ गते चौँथो पटक नेपालको प्रधानमन्त्री बनेका शेरबहादुर देउवा पनि यो वर्षका प्रमुख चर्चित व्यक्तित्वमा पर्न सफल रहे । 

आईजीपी प्रकरणमा डीआईजी नवराज सिलवाललाई ‘धूली चटाउन’ र यही प्रकरणमा आफू मुछिने डरले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि संसदमा महाअभियोग प्रस्ताव दर्ता गराउन देउवाले खेलेको भूमिका कारण उनी गत वर्ष विशेष चर्चामा रहेका हुन् । त्यतिमात्रै होइन, तेस्रो दल माओवादी केन्द्रले समर्थन दिएधको दोस्रो ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रित्वलाई असफल पार्न देउवाले अपनाएको राजनीतिक ‘चाटुबाजी’ सम्झनैपर्ने विषय बन्यो । ओली सरकारलाई अल्पमतमा पारेर त्याग गरेजसरी देउवाले तेस्रो दलका अध्यक्षलाई प्रधानमन्त्री बनाइदिए, त्यो पनि मौखिक भागबण्डा गरेर । 

एकै वर्ष हुनुपर्ने तीन निर्वाचनको पहिलो खण्डको हिस्सा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिएर बाँकी निर्वाचन सम्पन्न गर्न नेतृत्व हातमा लिने देउवाले गत वर्ष राजनीतिमा असम्भवलाई समेत सम्भव बनाइदिनसक्ने खूबी नेता भएको आफूलाई प्रमाणित गरिदिए । देउवाले चाहे ओली सरकार झुकाउन होस्, वा आफ्नो प्रतिरोध गर्ने तत्कालीन सर्वोच्च अदालतको ‘शेखी’ झार्न काम थियो सुशीला कार्कीमाथिको महाभियोग प्रस्ताव दर्ता थियो, जसले नेपालको सर्वोच्च न्यायालयको नेतृत्वलाई निलम्बनमा पारिदियो । आलोचना समेत खेप्न सक्ने देउवा आफूमाथिको दबाबसमेत थेग्न समेत क्षमता आफूमा भएको देखाउन सफल भए ।

खास गरी गत वर्षको प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो दललाई धेरै सिट जिताउन असफल भएपछि पार्टीभित्रबाट आएको राजीनामाको समेत प्रतिरोध गर्न सफल भए । युवानेता गगन थापा, प्रभावशाली नेता प्रकाशमान सिंहजस्ता नेताहरुको सभापतिबाट राजीनामा दिनुपर्ने मागलाई उनले उनीहरुकै समकक्षी नेता विश्वप्रकाश शर्मालाई पार्टीको केन्द्रीय प्रवक्ता बनाइदिएर कमजोर पारिदिए भने संसदमा ६२ सिट हात पार्दै दोस्रो दल हुँदा समेत शेखर कोइराला, शशांक कोइराला, रामचन्द्र पौडेल जस्ता नेताको सामना गर्न सफल भए । पार्टीभित्र आफूलाई जोगाउन सफल देउवाले मधेश आन्दोलनमा ओली सरकारको गैरजिम्मेवारीलाई मध्यमार्गी भूमिका दिएर अप्रत्यक्ष भारतीय दबाबलाई मत्थर पार्दै मधेशवादी दललाई आफ्नो विचारधारामा ल्याएर हिंसात्मक स्थितिबाट सहमतिको विन्दुमा ल्याउन खेलेको भूमिका सकारात्मक रह्यो । ओलीको अतिवाद र मधेशवादी दलको हिंसात्मक वादविरुद्ध देउवाले अपनाएको मध्यमार्गी संरक्षणवाद केही हदसम्म प्रभावकारी देखियो र तीनै तहको निर्वाचन सफल पार्न काफी रह्यो । 

३) पुष्पकमल दाहाल, अध्यक्ष – माओवादी केन्द्र 

प्रचण्ड नेपाली राजनीतिका चतुर तर अपरिपक्व खेलाडी हुन् । पहिलो कार्यकालमा अनुभवहीनताका कारण उनको निर्णय विवादित बन्यो भने जननिर्वाचित भए पनि उनले अपरिपक्वताका कारण राजीनामा नै दिनुपर्ने स्थिति बनेको थियो । त्यसपछि भने उनी राजनीतिमा अनुभवी देखिँदै आएका छन् । खासगरी पछिल्लोपटक दोस्रो कार्यकाल प्रधानमन्त्रित्व गर्न उनले जनमत पाएको भन्दा पनि राजनीतिक चालबाजी नै प्रमुख रह्यो । आफैँ सहभागी सरकारविरुद्ध विद्र्रोह गरी अल्पमतमा पारेर प्रचण्डले देउवासँग सत्ता गठबन्धन गरे, जबकि माओवादी हैसियत तेस्रो वरीयतामा थियो ।

गत वर्षको निर्वाचनमा पहिले कहिल्यै मिल्न नसक्ने जस्तो विरोधाभाष राजनीतिक पृष्ठभूमि भएका प्रचण्डले ओलीसँग मिलेर प्रदेश र केन्द्रको संसदीय निर्वाचनमा गठबन्धन गर्ने बोल्ड निर्णय गरे, यो विनाशको बाटोमा अघि बढेको माओवादी पार्टीकै लागि जीवनदानजस्तो हुनपुग्यो । गाउँ गाउँमा माओवादीको नामोनिशान हुँदै गएको अवस्थामा एमालेसँग एकीकरण गर्ने गरी वाम गठबन्धन गर्ने निर्णयले अन्ततः नेपालमा कम्युनिष्टहरुको पकड बलियो बनाउने स्थिति देखिनुमा प्रचण्डको सुझबुझपूर्ण निर्णयलाई मान्नुपर्छ । त्यसो त कतिपय नकारात्मक कुराले पनि प्रचण्डलाई चर्चाको शिखरमा पुर्यायो । 

चितवनमा मेयरपदमा उठेकी छोरी रेणु र एमालेका उम्मेदवार देवी ज्ञवालीबीचको विवादले चर्चा पाउनुमा प्रचण्ड कारण बन्न पुगेका हुन् । छोरीलाई जसरी पनि जिताउने भूमिका प्रचण्ड उभिएका थिए । विगतमा कमल थापाले पाएको मुसाप्रवृत्ति प्रचण्डमा देखियो । जता फाइदा उतै कुद्दै प्रचण्डले आफ्नो राजनीतिक आधार संरक्षण गरिरहे । हरेकपटक पहिलो र दोस्रो ठूलो दल जसले सरकार गठनको पहल गरे पनि उतै ढल्किएका कारण प्रचण्ड गत वर्ष चर्चामा रहे । छोरा प्रकाश दाहालको मृत्युका कारण समेत प्रचण्डको चर्चा भयो । 

४) नवराज सिलवाल, पूर्वडीआईजी तथा हाल प्रतिनिधिसभा सदस्य

गत वर्ष सर्वाधिक चर्चामा आएका पात्र हुन् नवराज सिलवाल । आईजीपी प्रकरणमा प्रचण्ड, देउवा, ओली र तत्कालीन प्रधानन्यायाधीशसमेतलाई विवादमा तान्ने विन्दु बनेका थिए सिलवाल । सरकारले रोजेर आईजीपी बनाउँदै आएको परम्परामा ब्रेक लगाउन केपी ओलीको अप्रत्यक्ष सहयोग लिने पात्र पनि उनै सिलवाल हुन् । गोप्य रहने कार्यसम्पादन मूल्यांकनको अंक कीर्ते गरे पनि तत्कालीन प्रधानन्यायाधीश कार्कीले उनलाई काखी च्यापेपछि कांग्रेसले संसदमा महाभियोग प्रस्ताव नै दर्ता गर्नुपर्ने स्थिति आयो भने उनी लामो समय कानुनी कारबाहीबाट बच्न भूमिगत रहनुपर्यो । अहिले पनि सिलवालमाथि सर्वोच्चले छानबिन गर्न दिएको आदेश कार्यान्वयन भएको छैन । 

केपी ओलीले आईजीपी प्रकरणबाट जोगाउन सिलवाललाई राजनीतिक संरक्षण दिएर ललितपुरबाट सांसद नै बनाए भने लगभग गुम्नुपर्ने सांसद पद ओलीले बलजफ्ती जोगाइदिन पुगे । यसकारण पनि सिलवाल भाग्यमानी ‘फरार अभियुक्त’ ठहरिए । यतिसम्म कि इन्टरपोलमा समेत उनीविरुद्ध पक्राउ पुर्जी जारी भयो भने ललितपुरमा उनी लुकेको आशंकामा सयौँको संख्यामा प्रहरी सर्च वारेन्ट लिएर खोजीमा निस्किए तर कानुनी कारबाहीमाथि राजनीतिक छाता ओढ्न सफल बने सिलवाल ।  

५) गोविन्द केसी, चिकित्सक तथा सामाजिक अभियन्ता

आफूलाई चित्त नबुझे सिधै अनशनमा पलेँटी कस्ने डाक्टर हुन् गोविन्द केसी । पहिलेदेखि नै यसो गर्दै आएका डा. केसी गत वर्ष बहालवाला प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि सडकबाटै दलाल र तस्कर भनेर कानुनी फन्दामा परे, जुन गत वर्षको सम्झनलायक चर्चाको विषय बन्यो । उनले नै प्रधानन्यायाधीशजस्तो पदलाई विवादमा मात्र ल्याएनन्, सर्वोच्चको मानहानि गर्ने समेत काम भयो भने केही राष्ट्रिय दैनिक र अनलाइनले प्रधानन्यायाधीश हटाउन मिसन पत्रकारिता नै गर्नुपर्यो । 

स्मरण रहोस्, कान्तिपुर दैनिकले प्रेस सर्वोच्चताको नाममा सर्वोच्चविरुद्ध अमेरिकी राजदूत गुहार्नेदेखि अन्तर्राष्ट्रिय शक्तिलाई निम्त्याउनेसम्मको काम गरे । गत वर्ष गोविन्द केसीको अन्य अवस्थाको अनशनभन्दा बढी प्रधानन्यायाधीश र सर्वोच्चविरुद्ध मिसन अनशनजस्तो देखियो । न्यायपरिषद्ले एउटा जन्ममिति सदर गर्दै संसदीय सुनुवाइबाट प्रधानन्यायाधीश बनेका पराजुलीमाथि कानुन अधिवक्तालाई मार्ने धम्की दिएको, फैसला गर्दा भ्रष्टाचार गरेको जस्ता कपोलकल्पित आरोप लगाएर पत्रिकामा समाचार छपाएर नेपालको न्यायिक इतिहासमै सर्वोच्च अदालतलाई विवादित बनाउने घटनाको मियो बनेका थिए डा. केसी ।

अझ आश्चर्य लाग्दो त डा. केसी आफैँ सरकारी जागिरे भएर अस्पताललाई आन्दोलित बनाउँदै नेपाली सामान्य नागरिकलाई उपचार पाउनबाट वञ्चित गराउने अस्पताल र डाक्टरहरुको नेतृत्वकर्ता पनि बने । जुन निकै दुःखद स्थिति थियो ।  अघिल्लोपटक तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई पदच्यूत गराउन भूमिका खेलेका डा. केसीलाई सबैले साथ दिए पनि यसपटक प्रमाणरहित लाञ्छना र मिडिया उचालेर बाह्य शक्तिकेन्द्रका खेलाडी बनेका ‘मानवअधिकारवादी’ सामाजिक अभियन्ता डा. केसीले सर्वोच्चको बदनाम मात्र गराएनन्, प्रधानन्यायाधीशलाई घुँडा टेकाउन भूमिका खेल्यो । यद्यपि डा. केसीले स्वास्थ्य क्षेत्रमा उठाएका अन्य मागहरु भने जनपक्षीय नै रहँदै आएको थियो । 

६) विद्यादेवी भण्डारी, पहिलो महिला राष्ट्रपति, नेपाल 

चर्चित स्व. कम्युनिष्ट नेता मदन भण्डारीकी पत्नी रहेकी विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन् भने अहिले उनको दोस्रो कार्यकाल सुरु भएको छ । सम्मानित उच्चपदस्थ भए पनि राष्ट्रको भन्दा पनि आफ्नै पूर्वदलका तर्फबाट दोस्रो कार्यकालका लागि उनले देखाएको राष्ट्रपतिको लोभ चर्चाको विषय बन्यो । 

किनकि एकपटक दल त्यागेर राष्ट्रको प्रमुखका लागि जिम्मेवारीको शपथ खाएकी उनी दोस्रो कार्यकालका लागि तटस्थ हैसियतमै राष्ट्रपति पदमा चुनाव लड्न डराएको चर्चा सुनियो । उनले दोस्रोपटक राष्ट्रपतिको चुनाव लड्न एमालेको सहारा लिइन्, जब कि उनलाई एमालेले तटस्थ हैसियतमै समर्थन गर्न सक्थ्यो । यसअघि पूर्वदलका अध्यक्ष केपी ओलीको वहकाउमा लागेर राष्ट्रपति भण्डारीले राष्ट्रियसभा निर्वाचन अध्यादेशमा हस्ताक्षर गर्न नमान्दा भण्डारीको खूबै आलोचना भयो भने देउवा सरकारले मनोनीत गरेका व्यक्तिलाई रोकेर एमाले सत्तामा आएपछि उसले सिफारिस गरेको व्यक्तिलाई मनोनीत गर्ने निर्णय गरेर राष्ट्रभन्दा दलप्रति आस्था देखाउने काम गरिन्, यसका लागि उनी गत वर्ष चर्चाको शिखरमा परिन् । 

७) सुशीला कार्की, पहिलो महिला प्रधानन्यायाधीश

गत वर्षको चर्चित व्यक्तित्वमा सुशीला कार्कीको नाम अटाएन भने नुनविनाको तरकारीजस्तै हुन्छ । खासगरी डीआईजी नवराज सिलवालप्रति अनुगृहित जस्तो देखिएकी कार्कीकै कारण नेपाली राजनीति चलायमान र विभाजित बन्यो । यसले राजनीतिक खेलाडीहरुलाई समेत पक्ष÷विपक्ष बन्नुपर्ने अवस्था आयो । लोकमान सिंह कार्कीविरुद्ध बोल्ड फैसला गर्ने भनेर प्रशंसा बटुलेकी कार्कीले डीआईजी सिलवाललाई ठाडै आईजीपी बनाउने फैसला गर्दा सरकारको काममा हस्तक्षेप गरेको आरोपसमेत उनीमाथि लाग्यो । सोही कारण उनीमाथि महाभियोग प्रस्ताव दर्ता भयो भने निलम्बनमा समेत परेर कार्की चर्चित भइन्, भलै सर्वोच्चले नै उनलाई महाभियोग लगाउन नमिल्ने फैसला गर्नुपर्यो । 

त्यतिमात्रै नभई सर्वोच्चले नै फैसला गरी पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा शाहको दाइजो उनैलाई दिन गरेको फैसलाविरुद्ध कार्कीले चर्चित हुन पुनः सरकारकै नाममा रहने फैसला गरिन् तर यसअघि फैसला गर्ने न्यायाधीशमाथि न छानबिनको काम भयो न त कुनै कारबाही नै अघि बढ्यो, बरु तिनै न्यायाधीश अझै सर्वोच्चमै फैसला गर्दै बसेका छन् । 

८) गोपाल पराजुली, विवादित प्रधानन्यायाधीश

नेपालको न्यायिक इतिहासमा नै सबैभन्दा बढी विवादित बनेका कारण चर्चामा आएका पात्र हुन् निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुली । रोचक कुरा त उनीविरुद्ध डा. गोविन्द केसीले भन्नु नभन्नु भने भने आफूविरुद्धको मुद्दाको फैसला आफैँ गरेको भनी पराजुलीको चर्चा भयो । त्यतिमात्र नभई पराजुली आफ्नै फरक फरक जन्ममितिका कारण चर्चामा रहे भने डा. केसीले उनीमाथि माफियाको डन भन्दा समेत उनले डा. केसीविरुद्ध कुनै कडा कारबाहीको फैसला गर्न सकेनन्, न त आफूमाथिको आरोपकै खण्डन गरे । यसले डा. केसी र उनलाई चलाउनेहरुलाई ठूलो बल पुग्यो, फलतः न्यायपरिषद्का एउटा सचिवको सामान्य पत्रकै कारण राजीनामा दिन बाध्य पारिए पराजुली । उनीमाथि एउटा पत्रिकाले अर्बौँ राजस्व गुम्ने फैसला गरेको भनी समाचार छापेको थियो, तर यसका लागि उनीमाथि कुनै कारबाही गर्न सरकारले नै सकेको छैन । 

९) सन्दीप लामिछाने, क्रिकेट खेलाडी

सानो उमेर तर ठूलो चर्चामा आएका खेलाडी हुन् सन्दीप । यु१९ विश्वकपमा आयरल्याण्डविरुद्ध ह्याट्रिक लिएर अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित बनेका उनलाई गत वर्ष (अहिले जारी) सर्वाधिक चर्चित क्रिकेट प्रतियोगिता आईपीएलमा चर्चित क्लब दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा अनुबन्ध गरेपछि उनी एसोसिएट राष्ट्रबाट आईपीएल खेल्ने एक्लो बृहस्पति बनेका थिए । यो बाहेक उनी आईपीएल खेल्ने पहिलो नेपाली समेत बनेर चर्चित भए भने आईपीएलमा पाएको अवसरसँगै उनलाई क्यारेबियन लिगमा चर्चित ब्याट्सम्यान क्रिस गेलको टिममा समेत छनोट भएर आफू अब्बल भएको साबित गरेका छन् । 

विश्वका चर्चित क्रिकेट लिगमा १७ वर्षको कलिलो उमेरमै छानिनु चानचुने होइन, यसकारण पनि क्रिकेटर लामिछाने यो वर्षका चर्चित व्यक्तित्वको सूचीमा पर्न सफल भएका हुन् । आईपीएलसम्म पुग्ने सन्दीपको सफलता भने अस्ट्रेलियन क्रिकेटर माइकल क्लार्कको सद्भाव र सहयोगसँग जोडिएको छ । उनकै कारण सन्दीपलाई एकपछि अर्को अवसर सिर्जना भइरहेको छ । सन्दीपलाई दिल्ली डेयर डेभिल्सका प्रमुख नै काठमाडौं आएर १ नं. को जर्सी प्रदान गरेका थिए । 

१०) धुर्मुस–सुन्तली, कलाकार तथा सामाजिक अभियन्ता 

सर्वप्रथम हास्यव्यंग्य क्षेत्रमा त्यसपछि सामाजिक क्षेत्रको उत्थान, उन्नयन र विकासमा योगदान दिन सक्रिय यो युगलदम्पतीले नेपालमा महत्वपूर्ण र उदाहरणीय काम गरेका कारण गत वर्ष यो जोडीको चर्चा भएको हो । उनीहरुले देश विदेशमा गएर प्रतिभाबाट चन्दा संकलन गरेर सामाजिक क्षेत्रमा गरेको योगदानका कारण चर्चामा आएका छन् । काभ्रे जिल्लाको पहरी गाउँको भूकम्पपीडित २० परिवारको लागि भूकम्पप्रतिरोधी २० घर निर्माण, सिन्धुपाल्चोकको गिरानचौरको भूकम्पपीडित तमाङ गाउँमा ६६ आवासीय घर र महोत्तरीको बर्दिबासमा मुसहर बस्तीमा मानवता र सद्भावका लागि अपागंमैत्री ५३ घरको एकिकृत नमूना मुसहर बस्ती निर्माण गरेर चर्चामा आइरहेका धुर्मुस सुन्तलीले रौतहटको सन्तपुरमा ०७४ असोज ४ गते शिलान्यास गरेको सन्तपुर एकीकृत नमूना बस्ती ०७४ माघ २३ गते हस्तान्तरण गरेका थिए । त्यो उनीहरुले करिब ५्६ करोड लागतमा सम्पन्न गरेका थिए । गत साउनमा गएको बाढीका कारण उक्त दलित बस्थि डुबानमा परेको थियो । २ सय ८४ परिवारको लागि ४७ वटा घर, सामुदायिक भवन मन्दिर क्लब घर, भ्यु टावर गरी ५० वटा संरचना निर्माण भएका छन् ।

यस्तै विभिन्न कारण चर्चामा रहेको धुर्मुस सुन्तली फाउण्डेसनले नेपालका जातजाति, भाषाभाषी, संस्कृति र जीवनशैलीको साझा थलो बन्नुका साथै नेपाललाई नजिकबाट अध्ययन र अवलोकन गर्नको लागि पुग्नैपर्ने गन्तव्यको रुपमा विकास लागि पर्यटकीय केन्द्र ‘नमूना नेपाल निर्माण’ बनाउने अभियानले चर्चामा रहे । उनीहरुले ‘अब विश्वले चिन्नेछ नेपाल’ भन्ने नाराका साथ नेपालभित्रको नेपाल ‘नमाुना नेपाल’ भन्ने नाराका साथ अगाडि बढेका उनीहरु पछिल्लो समय क्रिकेट मैदान बनाउने योजनासहित अगाडि बढेर चर्चामा आएका छन् । एक दिवसीय क्रिकेटको अस्थायी मान्यता पाएसँगै सबैको यसमा चासो बढिरहेको बेला इन्टरनेशनल क्रिकेट स्टेडियम निर्माणको कुरा बाहिर ल्याएर धुर्मुस सुन्तली फाउण्डेसन चर्चामा आएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै