• २०८१ बैशाख ७ शुक्रबार

च्याम्पियन्स लिगमा रोनाल्डोले मेसीको यस्तो रेकर्ड तोडे

kharibot

काठमाडौं ।  क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा लियोनेल मेसीको एउटा रेकर्ड तोडेका छन् । 

विहिबार राति युभेन्टसलाई खेलको अन्तिम मीनेटमा पेनाल्टीबाट गोल गर्दै रियललाई सेमिफाइनलमा पुर्याएका रोनाल्डोले मेसीको च्याम्पियन्स लिगमा कुनै एक टिमविरुद्ध धेरै गोल गरेको रेकर्ड तोडेका हुन् ।

रोनाल्डोले च्याम्पियन्स लिगमा युभेन्टसविरुद्ध १० गोल गरेका छन् । यसअघि मेसीले आर्सनलविरुद्ध ९ गोल गर्दै च्याम्पियन्स लिगमा एकै टिमविरुद्ध धेरै गोल गर्ने रेकर्डमा रोनाल्डोसँग बराबरीमा थिए ।

रोनाल्डोले क्वाटरफाइनलमा युभेन्टसविरुद्ध पहिलो लिगमा २ र दोस्रो लिगमा एक गोल गर्दै कुल ३ गोल गरेका थिए ।

रोनाल्डोले यस सिजनको च्याम्पियन्स लिगमा १० खेलमा १५ गोल गरेका छन् । च्याम्पियन्स लिगको एकै सिजनमा १५ गोल गर्ने रोनाल्डो एक मात्र खेलाडी हुन् । रोनाल्डोले च्याम्पियन्स लिगका तीन सिजनमा १५ गोल गरेका छन् । उनले २०१३-१४ सिजनमा १७ गोल गरेका थिए भने २०१५-१६ मा १६ गोल गरेका थिए । त्यस्तै यस सिजनमा १५ गोल गरिसकेका छन् ।

साथै रोनाल्डोले च्याम्पियन्स लिगमा लगातार ११ खेलमा गोल गर्ने रेकर्ड पनि बनाएका छन् । उनले गत बर्षको च्याम्पियन्स लिगको फाइनलमा गोल गरेका थिए भने यस सिजनका सबै खेलमा गोल गरेका छन् ।

त्यस्तै रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो १५० खेल पनि युभेन्टसविरुद्धको खेल खेलेर पुरा गरेका छन् । च्याम्पियन्स लिगमा रोनाल्डोभन्दा बढी रायन गिग्सले १५१, जाभीले १५७ र इकर कासिलासले १७० खेल खेलेका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै