• २०८१ बैशाख ७ शुक्रबार

भारोत्तोलन खेलाडी संगिताले तोडिन १२ बर्ष पुरानो किर्तिमान

kharibot

काठमाडौँ । भारोत्तोलन खेलाडी संगिता राईले ४८ केजी तौल समूहमा १२ बर्ष पुरानो किर्तिमानलाई भंग गर्दै आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएकी छिन् । 

उनले काठमाण्डौ जिल्लाद्वारा आयोजित प्रथम अन्तरक्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिताका दौरान उक्त किर्तिमान भंग गरेकी हुन् ।

नेपाल पुलिस क्लबकी संगिताले सिनियरतर्फ स्नाच र कुलमा निता थापाले २०६२ सालमा काठमाण्डौमा भएको ३५औं युवराज जन्मोत्सव कपमा राखेको ५३.५ र ११८.५ केजी तौललाई भंग गर्दै ५४ र १२३ केजीको नयाँ किर्तिमान राखेकी छन् । 

यस्तै संगिताले क्लिन एण्ड जर्कमा पनि आफ्नै नाममा रहेको ६६ केजी तौलमा सुधार गर्दै ६९ केजीका साथ नयाँ किर्तिमान राखिन् । उनले दोश्रो लिफ्टमानै किर्तिमानलाई सुधार गर्दै ६७ केजीको किर्तिमान राखेकी थिईन् । तेश्रो लिफ्टमा उनले पुन ६९ केजी भार बहन गर्नै नयाँ राष्ट्रिय किर्तिमान कायम गरिन् । यस स्पर्धामा नेपाली सेनाका मनिषा रानाभाटले कुलमा ११६ केजीका साथ रजत र रिता गुरुङ्गले ९३ केजीका साथ कास्य पाए ।

ग्रास रुटबाटै खेलाडी उत्पादन गर्ने र राष्ट्रिय टिममा समायोजन गर्ने उद्धेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको ४८ केजी तौलकै जुनियर तर्फको प्रतिस्पर्धामा ग्यालेक्सी फिटनेशकी करिना चौधरीले कुलमा ९३ केजी भारबहनका साथ स्वर्ण पाईन् । डिभाईन फिजिकल फिटनेशकी पल्लभी चौधरीले ७३ केजीका साथ रजत र ग्यालेक्सीकै राधा भुजेलले ३५ केजीका साथ कास्य पाईन् ।

प्रतियोगिताको पहिलो दिन महिलातर्फ ८ राष्ट्रिय किर्तिमान कायम भएका छन् ।

अशोक फिटनेश ईक्विपमेण्ट र हेल्थ ट्याक फिटनेश ईक्विपमेण्टको प्रायोजनमा भएको प्रतियोगितामा महिला तर्फकै सिनियर ५३ केजी तौलमा नेपाल प्रहरी क्लबकी देवी कुमारी चौधरीले स्नाचमा ६५ केजीको नयाँ किर्तिमान राखिन् । उनले संजु चौधरीले यसै बर्ष पोखरामा सम्पन्न २३ औं पुरुष तथा ८ औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा राखेको ६३ केजी तौलको किर्तिमान भंग गरेकी थिईन् । चौधरीले कुलमा १४५ केजी भार बहन गर्दै स्वर्ण पाईन् । दोश्रो स्थानमा रहेकी खर्साल युथ क्लबकी सरस्वती चौधरीले ८५ केजी तौलका साथ रजत पाईन् ।

यसै स्पर्धाको जुनियर तर्फ ओम फिटनेश तथा अर्डर सप्लायर्सकी संजु चौधरीले तीन किर्तिमान राखिन् । उनले पोखरामा भएको २३ औं पुरुष तथा ८ औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्नाचमा राखेको ६३ केजी, स्नाचको ८२ केजी र कुलको १४५ केजीमा सुधार गर्दै ६४, ८४ र १४८ को नयाँ किर्तिमान रचिन् ।

महिलाको ५८ केजी तौलमा स्पोर्टस् हाईवका शितल घिमिरेले स्वर्ण ६६ केजीका साथ स्वर्ण पाईन् । यस्तै जुनियर तर्फ खर्साल युथ क्लबकी काजल यादवले ९७ केजीका साथ स्वर्ण र बिरगंज युनाईटेडकी रविना बस्नेतले ९० केजीका साथ रजत पाईन् ।

ललितपुरस्थित स्पोर्टस् हाईवमा भएको प्रतियोगिताको पुरुष ५६ केजी सिनियर तर्फको प्रतिस्पर्धामा नेपाली सेनाका तुलाराम महतोले १८२ केजीका साथ स्वर्ण पाए । सेनाकै संतोष थपलियाले १६५ केजीका साथ रजत र बिरगंज फिजिकल फिटनेशका अशोक कुमार शाहले १२५ केजीका साथ कास्य पाए । यसै स्पर्धाको जुनियर तर्फ खर्साल युथ क्लबका राम कुमार यादवले १८१ तौलका साथ स्वर्ण पाए । खर्सालकै लालबाबु पासवानले १५३ केजीका साथ रजत र बिरगंज युनाईटेडका राजा शाह कानुले १३५ केजीका साथ कास्य पाए ।

पुरुषकै ६२ केजी तौलमा नेपाली सेनाका राजु चौधरीले कुल २१० केजी तौल भार बहन गर्दै स्वर्ण हात पारे । दोश्रो स्थानमा रहेका नेपाल प्रहरीका मुई लामाले २०१ केजीका साथ रजत र एपिएफ क्लबका सुभाष कुमार साहले १६५ केजीका साथ कास्य पाए । जुनियर तर्फ खस्र्याल युथ क्लबका रमेश झाले १६० केजीका साथ स्वर्ण, डिभाईन फिजिकल फिटनेशका गणेश रानाभाटले १५६ केजीका साथ रजत र बिरगंज युनाईटेडका सजरुद्धिन आलमले १५० केजीका साथ कास्य पाए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै