• २०८१ बैशाख ७ शुक्रबार

पार्टी एकतामा कुनै द्विविधा छैन – मन्त्री पोखरेल

kharibot

फाइल तस्बिर

पोखरा । नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतामा कुनै द्विविधा नभएको बताएका छन् । 

एमाले कास्की जिल्ला कमिटीको आयोजनामा आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले आगामी वैशाख ९ गते नै पार्टी एकता घोषणा हुने गरी तयारी भइरहेको बताए । 

एक दुई दिनमा नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिँदै उनले पार्टी एकता कुनै लहडका आधारमा नभई मुलुकको आवश्यकताका आधारमा हुन लागेको र यसलाई जनताले अनुमोदन गरिसकेको धारणा राखे । 

केन्द्रीय सरकारले केही दिनभित्रै नीति, कार्यक्रम तथा योजना प्रस्तुत गर्ने मन्त्री पोखरेलले जानकारी दिए । 

नेपालको संविधान गतिशील भएको चर्चा गर्दै उनले राष्ट्रिय हित एवं सामाजिक सद्भाव एवं आवश्यकताका आधारमा यसलाई संशोधन गर्न सकिने उल्लेख गरे । 

एमालेका सल्लाहकार परिषद्का उपाध्यक्ष एवं प्रमुख सचेतक खगराज अधिकारीले जनप्रतिनिधिले शासकका रुपमा नभई सेवकका रुपमा जनताको काम गर्नुपर्ने बताए ।

समृद्धि र विकासका लागि उत्पादनमुखी काम गर्नुपर्नेमा जोड दिँदै उनले त्यसैका माध्यमबाट रोजगारीको सिर्जना गरिनुपर्ने र समान कामको समान ज्याला हुने व्यवस्थाको सुनिश्चितता आवश्यकता औँल्याए । 

पार्टीका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालयले घोषणा गरेका १०० दिनका कार्यक्रममध्ये लगभग २७ प्रतिशतअघि बढिसकेको जानकारी दिए । 

सडक पूर्वाधारले नछोएका गाउँपालिकामा यथासम्भव विमानस्थल र त्यो पनि नभएमा हेलीप्याड स्थापना गरी जनताको सुविधाका साथै पर्यटकलाई उक्त गाउँमा पुर्याउन सकिने धारणा राखे । 

एमाले कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले जनप्रतिनिधि र पार्टीबीच समन्वय गरी निर्वाचनमा जनतासँग गरिएका प्रतिबद्धता पूरा गरिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा एमाले कास्कीका उपाध्यक्ष एवं प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, सचिव दामोदर बैरागीलगायतले पार्टी र निर्वाचित जनप्रतिनिधिका गतिविधिबारे प्रकाश पारेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै