• २०८१ बैशाख ८ शनिबार

प्रसिद्ध टेक कम्पनी सामसुङका प्रमुख लीलाई पाँच वर्षको जेल सजाय, यस्तो छ आरोप

kharibot

सिओल । दक्षिण कोरियाली अदालतले चर्चित मोबाइल कम्पनी सामसुङका निलम्बनमा परेका प्रमुख ली जाई योंगलाई घुसखोरी तथा अन्य भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

शुक्रबार लीलाई दोषी रहेको भन्दै अदालतले पाँच वर्षको जेल सजाय तोकेको हो । उनीविरुद्ध अधिवक्ताहरुले भने १२ वर्षको जेलसजाय मागदाबीसहित मुद्दा दायर गरे पनि अदालतले ५ वर्षका लागि अर्बपतिलाई जेल पठाउने निर्णय गरेको एजेन्सीहरुले जनाएका छन् ।

विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनीका लागि यो ठूलो क्षति हो । पूर्वराष्ट्रपतिको सहयोगीलाई पैसा दिएको आरोपमा महिनौँ अघिदेखि उनीविरुद्ध अनुसन्धान भइरहेको थियो । पूर्वराष्ट्रपति पार्क गियुन हाइको विशेष सहयोगीसँगको आर्थिक सम्बन्ध जोडिएको कारण पूर्वराष्ट्रपतिले समेत पदबाट हात धुनुपरेको थियो । पूर्वराष्ट्रपति पार्क गियुन हाइलाई महाअभियोग लागेको थियो  ।

लीले पूर्वराष्ट्रपतिको सहयोगी चोई सून सिलको गैरनाफामूलक संस्थालाई ३६ मिलियन डलर दान दिएको आरोप लागेको थियो । पूर्वराष्ट्रपतिको सहयोगी सिल यसअघि नै ३ वर्षको सजाय पाई जेलमा रहेका छन् ।

उनीमाथि सामसुङमाथि कडा नियन्त्रण गर्ने मर्जरको लागि ठूलो घुस रकम सरकारलाई दिएर सहयोग लिएको आरोप लागेको थियो । ४९ वर्षीय कार्यकारी ली जसलाई जे.वाई. ली पनि भनिन्छ, सन् २०१४ मा उनका बुबालाई हृदयाघात भएर बिरामी भएपछि उनी सामसुंगको कार्यवाहक जस्तो बनेका थिए ।

अदालतले उनलाई सत्य लुकाएको, गैरकानुनी रुपमा नाफा लुकाएको पाइएको समेत उल्लेख गरेको छ । उनीमाथि अधिवक्ताहरुले लाखौँ डलर पूर्वराष्ट्रपतिको सहयोगीलाई दिएको आरोप लगाएका थिए । तर लीले भने उक्त आरोप अस्वीकार गर्दै आएका थिए ।

लीका कानुन व्यवसायीले अदालतसामु अपिल गर्ने बुझिएको छ । यो सजाय सुनाएलगत्तै सामसुंग इलेक्ट्रोनिक्सको १.१ प्रतिशतले सेयर ओरालो लागेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै