• २०८१ बैशाख ८ शनिबार

खोटाङ : चार घरमा आगलागी हुँदा लाखौँको क्षति

kharibot

खोटाङ । आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेमा चार घर जलेर नष्ट भएको छ । 

स्थानीयवासी पदमराज राईको घरबाट सल्किएको आगोले आइतबार छिमेकी अकिलराज राई, अगमराज राई र गमराज राईको घर तथा गोठ जलेर नष्ट भएको हो । 

आगलागीमा पदमराजको रु २४ लाख ३० हजार, अकिलराजको रु २५ लाख ७९ हजार, अगमराजको रु २४ लाख ५१ हजार, गमराजको रु २२ लाख ९६ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

यस्तै, गोठ जल्दा गमराजको तीन बंगुर, ११ बाख्रा र आठ पाठा, अकिलराजको एउटा बाख्रा र नौ पाठा, पदमराजको दुई वटा बंगुर र चार वटा बाख्रा र अगमराजको दुईवटा बंगुर जलेर मरेको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । 

आगलागीबाट बिचल्लीमा परेका पीडितलाई आइतबार राति नै पाल, चामल, नूनतेल, तरकारी, चिउरा, चाउचाउलगायत प्रदान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । यसअघि हलेसी बजारमा भएको आगलागीमा १३ घर क्षति भएको थियो । 

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित जुरेथुम्का सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । शनिबार बिहानदेखि शुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो । 

डढेलो क्रमशः खनालबेँसी, ढकाल बेँसी र राईगाउँ हुँदै वनपालातर्फ फैलिएको वडाध्यक्ष वीरेन्द्र ढकालले बताए । जिल्लाकै दोस्रो ठूलो सामुदायिक वनको पूर्वी जुरेथुम्काबाट शुरु भएको भीषण डढेलो क्रमशः पश्चिम जुरेथुम्कातर्फ फैलिँदै गएको छ । 

डढेलो निभाउने क्रममा स्थानीयवासी विप्लव राई घाइते भएका छन् । डढेलोमा परेर अनुहार पिल्सिएका राईलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको छ । 

पचास हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा लागेको डढेलोको धुवाँ टाढाटाढाबाट समेत देखिएको छ । शनिबार दिनभर २०० जना स्थानीयवासी भेला भएर निभाउने प्रयास गर्दा पनि डढेलो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले बताएका छन् । 

जंगल सकिएपछि मात्र डढेलो आफैँ नियन्त्रणमा आउने अवस्था देखिएको छ । सुक्खा मौसम भएकाले आगो नियन्त्रणमा लिन कठिनाइ भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै