• २०८१ बैशाख ८ शनिबार

भारत भ्रमण उपलब्धिमूलकः प्रधानमन्त्री ओली

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण विभिन्न आयामबाट उपलब्धिमूलक भएको बताएका छन् । 

तीनदिने भारतको राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले रेलमार्ग, जलमार्ग, कृषिलगायत क्षेत्रमा महत्वपूर्ण द्विपक्षीय सम्झौता भएको अवगत गराए । 

उनले निकट छिमेकी एवं अन्य मित्रराष्ट्रसँग पारस्परिकता, समानता, आपसी विश्वास, सम्मान एवं लाभका आधारमा मर्यादित, सन्तुलित र व्यवस्थित सम्बन्ध अघि बढाउँदै नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्ने वर्तमान सरकारको नीति रहेको धारणा व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले भने, “यस पृष्ठभूमिमा तथा हालको बदलिएको परिवेशमा नेपालको हितलाई केन्द्रबिन्दुमा राखेर भारतीय नेतासँग मेरो खुलस्त र सौहार्दपूर्ण रूपमा कुराकानी भयो ।” 

“नेपालको समसामयिक आवश्यकताका आधारमा कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारी हुनुका साथै सो बारेमा तीनवटा अलगअलग संयुक्त घोषणासमेत गरिएको छ । यसले ती विषयमा भविष्यका लागि सहयोगको दिशानिर्देश गर्नेछ”–उनले भने । 

विषयगत रुपमा ऊर्जाको क्षेत्रमा दुई मुलुकबीच सम्पन्न ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन एवं पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउन आवश्यक विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदनका लागि प्राथमिकताका साथ कार्य अघि बढाउने बारेमा दुवै पक्षबीच सहमति भएको उनले बताए । 

भ्रमणमा दुई मुलुकबीच ‘कनेक्टिभिटी’ प्रवद्र्धनका निमित्त सीमापार रेल, एकीकृत चेकपोष्ट एवं हुलाकी मार्गसम्बन्धी परियोजनाको शीघ्र कार्यान्वयनका लागि दुवै तर्फबाट सहजीकरण गर्ने सम्बन्धमा सहमति भएको छ । उनले भने, “नेपालको भारतसँग विद्यमान बढ्दो व्यापार घाटा कम गर्ने विषय द्विपक्षीय छलफलका अलवा भारतीय व्यापारिक समुदाय, विद्वत वर्ग एवं सञ्चार माध्यमसँगको भेटघाट र अन्तक्रियामा समेत प्राथमिकताका साथ उठाएको छु ।” 

प्रधानमन्त्री ओलीले पारवहनलाई थप सहज तुल्याउन, बाढी तथा डुबान समस्याको दीर्घकालीन समाधानका लागि संयुक्त निरीक्षण टोली खटाउन एवं महाकाली पुललगायत अन्य पूर्वाधार निर्माणलाई तीव्रता दिन दुवै पक्षबीच गम्भीर छलफल भई प्राथमिकताका साथ अगाडि बढ्ने सहमति भएको जानकारी गराए । 

उनले भने, “भारतले नेपालका लागि थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने तथा नेपाली ग्यास बुलेटको सञ्चालनलाई सहजीकरण गर्ने बारेमा सकारात्मक छलफल भएको छ । यसबाट लामो समयदेखि विद्यमान ग्यास बुलेट सञ्चालनमा देखिएको समस्याको समाधान छिटै हुने विश्वास मैले लिएको छु ।” 

प्रधानमन्त्री ओलीले भने, “भ्रमणका बखत भारतका प्रधानमन्त्री तथा मैले संयुक्त रुपमा वीरगंज एकीकृत जाँच चौकीको उद्घाटन गरेका छौँ । यसबाट नेपाल र भारतबीच व्यापार एवं पारवहन सहजीकरणका साथै मानिसको आवागमनमा सुविधा हुनेछ ।” 

भ्रमणमा यस अतिरिक्त, सार्क, विमस्टेक एवं बीबीआइएन प्रक्रियालाई थप सुदृढ पार्दै क्षेत्रीय र उपक्षेत्रीय सहयोग प्रभावकारी तुल्याउने बारेमा समेत नेपालका तर्फबाट स्पष्ट धारणा राखिएको थियो । 

भ्रमणको अवधिमा भारतका महामहिम राष्ट्रपति एवं महामहिम उपराष्ट्रपतिका साथै भारत सरकारका वरिष्ठ मन्त्री एवं उच्च अधिकारीसँग समेत उनको भेटघाट भई आपसी हितका विषयमा छलफल भएको थियो । यसका अतिरिक्त भारतीय राष्ट्रिय काँग्रेस एवं विभिन्न राजनीतिक दलका शीर्ष नेतालगायतसँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको थियो । 

भ्रमणका दौरान उहाँ भारतको उत्तराखण्ड राज्यको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा औद्योगिक विश्वविद्यालयद्वारा आयोजित कार्यक्रममा सहभागी भएका थिए  । सो अवसरमा उनलाई मानार्थ ‘डाक्टर अफ साइन्स’ उपाधि प्रदान गरिएको थियो । 

प्रधानमन्त्री ओलीले नेपालको विकसित लोकतान्त्रिक प्रणाली र हालै सम्पन्न निर्वाचनबाट प्राप्त जनमतको प्रतिनिधित्व हुने गरी भएको भ्रमणको भारतले स्वागत गरेको जानकारी गराउँदै भ्रमण यथार्थमा उपलब्धिमूलक भएको स्पष्ट पारेका थिए । 

सञ्चारकर्मीको जिज्ञाशामा प्रधानमन्त्री ओलीले द्विपक्षीय पारस्परिक हित, सार्वभौमसत्ता र स्वाभिमानको सम्मानका आधारमा परराष्ट्र सम्बन्ध हुने बताउँदै सोही आधारमा आफूले उच्चस्तरीय भेटवार्तामा आफ्ना कुरा राखेको बताए । 

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीको तर्फबाट भ्रमण बारे जारी गरिएको विज्ञप्ति परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले वाचन गरेका थिए । पत्रकार सम्मेलनमा रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव,  एमाले उपाध्यक्ष वामदेव गौतमलगायत उपस्थित थिए । 

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतले स्वागत गरेका थिए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राजकीय भ्रमणका लागि यही चैत २३ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै