• २०८१ बैशाख ४ मंगलबार

प्रधानमन्त्री ओली नयाँ दिल्लीमा, गृहमन्त्री राजनाथ सिंहले गरे विमानस्थलमा स्वागत 

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् ।

नयाँ दिल्लीको इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन्  ।

नेपाल वायु सेवा निगमको निजी विमानबाट प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।

५४ सदस्यीय प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी छन् । 

यसअघि ओली भारत प्रस्थान गर्नुअघि सभामुख, राष्ट्रियसभाका अध्यक्ष, रक्षा मन्त्री ईश्वर पोखरेल, एमाले उपाध्यक्ष वामदेव गौतम, सुरक्षा निकायका प्रमुखहरुलगायतले विमानस्थलमा विदाइ गरेका थिए ।

भारत भ्रमणमा प्रधानमन्त्री ओलीको आजको कार्यक्रम :

भ्रमणका क्रममा भारतीय व्यवसायीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

साँझ उनी नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । रात्रिभोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताका साथै कूटनीतिज्ञ र पत्रकारलाई आमन्त्रित गरिएको छ ।

दोस्रो दिन शनिबारको कार्यक्रम :

भारतीय समकक्षी मोदी र ओलीबीच शनिबारमात्र औपचारिक भेटवार्ता हुनेछ । बिहान राष्ट्रपति भवनमा मोदीले ओलीलाई स्वागत गर्नेछन् भने त्यसपछि भारतीय सेनाले ओलीलाई ‘गार्ड अफ अनर’ दिएपछि प्रधानमन्त्री ओलीसँग भारतीय राष्ट्रपति र उपराष्ट्रपतिले भेट्ने कार्यक्रम छ । भेटपछि ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुग्नेछन् । उनले त्यहाँ दीप प्रज्वलन गर्ने कार्यक्रम छ।

हैदरावाद हाउसमा सुरुमा दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै वार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलसहित औपचारिक छलफल हुनेछ । दुवै नेताले दिल्लीबाटै वीरगन्जमा रहेको एकीकृत चेकपोस्टको उद्घाटन गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हैदरावाद हाउसमै दुई नेताको संयुक्त पत्रकार सम्मेलन हुनेछ । पत्रकार सम्मेलनमा दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले भेट्ने कार्यक्रम छ भने भारतीय नेताहरूले पनि शनिबारै भेट गर्नेछन् ।

यस्तै इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा पनि ओली सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीले दिवाभोज आयोजना गर्नेछन् भने राष्ट्रपति रामनाथ कोविन्दले रात्रिभोज दिनेछन् ।

अन्तिम दिन आइतबारको कार्यक्रम :

दिल्ली भ्रमणको अन्तिम दिन आइतबार प्रधानमन्त्री ओली उत्तराखण्ड जाने कार्यक्रम छ । उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्दवल्लभ पन्त कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा उनी सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीलाई उक्त विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिनेछ । प्रधानमन्त्री सोही दिन साँझ स्वदेश फर्कनेछन्।
भ्रमण दलमा प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक निर्माण तथा यातायातमन्त्री रघुवीर महासेठ,  प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, संघीय संसद्का सदस्यहरु, मुख्यसचिव, परराष्ट्र मन्त्रालयका सचिवलगायत उच्च अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणमा कलाकार पनि :

प्रधानमन्त्री ओलीको भ्रमण दलमा दुई कलाकारलाई पनि सहभागी गराइएको छ। नेपाली चलचित्रका ‘महानायक’ राजेश हमाल र चलचित्र निर्देशक एवं सञ्चारकर्मी दिनेश डिसी भ्रमण दलमा रहेका छन् । प्रधानमन्त्रीको विदेश भ्रमणमा कलाकारलाई सहभागी गराइएको यो सम्भवत पहिलो घटना हो।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै