संघीय संसद्की कान्छी सदस्य पार्वती विशुन्के भन्छिन् -बिहे गर्न बिर्सिएँ

खरीबोट

काठमाडौँ । २०४३ सालमा आमा जसुदा र बुबा कविराम विशुन्केको जेठो सन्तानको रुपमा जन्मिएकी हुन् पार्वती विशुन्के । दैलेखको नारायणगढ नगरपालिका निवासी विशुन्के नेकपा एमाले समानुपातिकबाट निर्वाचित सबैभन्दा कान्छी सांसद् हुन् । 

दैलेख सदरमुकाम कर्णाली प्रदेशको विकट जिल्लामा जन्मिएकी विशुन्केको बाल्यकाल ग्रामीण परिवेशमा उकाली—ओराली, घाँस—दाउरापात गर्दैमा बित्यो । कर्णाली प्रदेशमा पर्ने १० जिल्लाहरुमध्ये अलि विकसित भए पनि तराईका जिल्लाहरुसँग तुलना गर्दा विकट र अविकसित छ । 

संसदमा उनको यो पहिलो अनुभव हो । नेकपा एमालेबाट समानुपातिकबाट निर्वाचित विशुन्के आफू उमेरले सानो भए पनि व्यवहारवाला छिन् । दैलेखकी विशुन्केको हजुरबुवा प्रगतिशील विचारधाराका थिए । त्यसमाथि कर्णाली अञ्चलसँग सम्पर्कमा भएको तथा जुम्लाको व्यापारीसँग भेटघाट र आवतजावत गर्दा हुने र उनका बीच हुने गरेका भलाकुसारीले विशुन्केको लागि  राजनीति गर्न थप ऊर्जा थप्थ्यो र घरमा आउने पाहुनाले उनले गरेको संस्कार र सत्कारको कुरा गरेको र केही बनने कुरा गर्थे । यसलाई उनलाई दङ्ग पारिदिन्थ्यो । 

उनको राजनैतिक पृष्ठभूमि भने २०५३ सालदेखि जोडिन्छ । जब उनी कक्षा ५ मा अध्ययन गर्न थालिन्, सँगसँगै राजनीतिक यात्रा पनि सुरु गरिन् । उमेरको हिसाबले सानो भए पनि उनले कक्षा ५ पढ्दादेखि नै स्कुल इकाइ कमिटीमा आबद्ध भइन् । काम गर्ने इच्छा, क्षमता र खुबी भएता पनि उमेरले सधैँ पछाडि पर्ने उनले बताइन् । इकाइ कमिटीमा बसेर काम गर्न उमेर कम भएको हुनाले दाइदिदीहरुले उनको उमेर बढाइदिएको उनको भनाइ छ । आफुलाई उमेर पाको भएको र जन्ममिति मात्र नमिलेको भनेर प्रस्तुत गराएको सम्झना उनीसँग ताजै छ । त्यस्तै हौसलाले गर्दा नै उनले सफलता हात पार्दै गइन् । त्यसैले त उनले ०५३ सालबाट नै राजनीतिक यात्रा सुरु गरिन् । आठ कक्षामा पढ्दै गर्दा उनले स्कुल इकाइ कमिटीको स्थायी सदस्यको रुपमा कामगर्न थालिन् । स्कुल इकाइ कमिटीबाट नै उनको राजनैतिक यात्रा सुरु भयो ।

२०६२ सालमा नेकपा एमालेको संगठित सदस्य भइन् । नेकपा एमालेको संगठित सदस्य भएपश्चात् नै उनले २०६६ सालमा नै पहिलो महिला सदस्य बनिन्, जतिबेला उनले ३३७ मत प्राप्त गरेकी थिइन्, जुन सबैभन्दा कान्छो मान्छेले सबैभन्दा बढी मत प्राप्त गरेकी थिइन् । भोट माग्ने शैली कस्तो हुन्छ, त्यो नै थाहा नपाइ बढी मत ल्याएर जितेको उनले बताइन् । तर यो सबै आफ्नो काम गराइको लोकप्रियता भन्ने लाग्छ उनलाई । 

२०६६ सालदेखि नै उनले नेकपा एमाले जिल्ला कमिटीको कार्यसमितिभित्र तीन कार्यकाल काम गरेको र अखिल नेपाल महिलासँग दैलेखमा कोषाध्यक्ष समेत भएर काम गरिसकेकी छिन् । त्यस्तै, उत्पीडन जातीय मुक्ति समाजमा केन्द्रीय परिषद् सदस्य र अहिले प्रदेश सदस्य भएर काम गरिरहेकी छिन् । योसँगै महिला, बालबालिका तथा दलित आन्दोलनमा सरिक हुँदै द्वन्द्वपीडित बालबालिकालाई मनोसामाजिक मनो विमर्श दिन १५ वर्ष निःशुल्क काम गरिन् । उनले मनोसामाजिक मनोविमर्श गरेका विद्यार्थीहरु अहिले ब्याचलर्ससम्म पढ्ने भएका छन् ।

‘द्वन्द्वले आक्रान्त बनेका बालबालिकालाई मनोविमर्श सेवा प्रदान गरेपश्चात् स्कुल निरन्तर रुपमा जानसकेँ, स्कुल छोडेका बालबालिका समेत स्कुल पढ्न थाले’, उनले भनिन् । त्यसैले उनी भन्छिन्, ‘राजनीतिले यो सबै गर्न सिकायो र यसले राजनीति गर्न सिकायो ।’ त्यसैले त राजनीति र समाजसेवालाई एक अर्काको परिपूरकको रुपमा लिन्छिन् उनी । त्यसैले त उनले यहाँसम्मको सफलता प्राप्त गरिन् जसले उनलाई ३१ वर्षकै उमेरमा सांसद् बन्ने सौभाग्य मिल्यो । 

खराब आर्थिक पृष्ठभूमिबाट सुरु भयो असल जिन्दगी

हुने बिरुवाको चिल्लो पात भनेजस्तै पार्वती सानैदेखि चलाख थिइन् । आफूलाई मन लागेको कुरा उनी पूरा गरेरै छोड्थिन् । विकट जिल्ला, गरिबी र सात जनाको परिवार पाल्न मुस्किल नै थियो । तर उनले हार कहिल्यै मानिनन्, संघर्ष गर्दै आइन् र सफलता पनि हात पार्न सफल भइन् । त्यसैले त उनी भन्छिन्, ‘त्यो हाम्रो बौद्धिक, मानसिक गरिबी थिएन, आर्थिक गरिबी थियो ।’ त्यो गरिबीसँग जुध्दै यहाँसम्म आइपुग्दा उनी अत्यन्त खुसी छिन् । तर पनि उच्च तहमा महिला तथा युवाको नेतृत्व एमदमै कम भएको लाग्छ उनलाई । संसदमा आफ्नो प्रतिनिधित्व सबै युवाहरुको प्रतिनिधित्व भएको उनलाई विश्वास छ । 

पाँच कक्षा पढ्छु भन्दै ब्याचलर्स पास

सीए पढ्ने चाहना भएर के गर्नु ! जब उनले आफू पाँच कक्षा पढेपछि स्कुल छुटाउने कुरा सुनिन्, तब उनले आफू ८ कक्षासम्म पढ्ने र त्यसपछि स्कुल छुटाइदिने भए छुटाइदिन आग्रह गरिन् । उनको बुबाले आग्रह स्वीकारे । तर उनको सोच भने अर्कै थियो, जसरी पनि एसएलसी पास गरेरै छोड्ने । ‘८ कक्षा पढेपछि त जसरी भए पनि एसएलसी पास गर्छु जस्तो लाग्थ्यो’, उनले भनिन् । साँझ, बिहान घरको काम गर्ने र दिउँसो पढ्न जाने भन्दै उनले आठ कक्षासम्म पढ्न बुवाबाट अनुमति पाइन् । विकट ठाउँ, आर्थिक अभावले जेलिएको परिवार, त्यसमाथि दलित परिवार र छोरी मान्छेले पढ्नु भनेको वास्तवमै सहज थिएन । तर उनले त्यो असहजतालाई पर हटाएर अगाडि बढ्दै गइन् । आठ पढेपछि उनलाई पुनः बुवाले पढाइ रोक्न भने तर उनले अब दुई वर्षमात्र हो भनेर टार्दै आफ्नो अध्धयन अगाडि बढाउँदै लगिन् ।

एसएलसी दिन उनमा देखिएको उत्साह र उमङ्गलाई आखिर कसले छेक्न अनि रोक्न सक्थ्यो र ! पढाइको लगाव र रुचिकै कारणले नै उनले २०५८ सालको एसएलसीमा जिल्ला टप गर्न सफल भइन् । त्यसपछि त उनको पढाइको ढोका खुल्दै गयो । त्यसपछि उनले स्कलरसिपमा नै इन्टर पास गरिन् र ब्याचलर्समा पोल्टिकल साइन्स र इकोनमिक्स पढिन् । उनको पढाइको इच्छा भने बीबीएस काठमाडौँ गर्न पाए सीए पढ्न दिल्ली जान्छु भन्ने थियो रे ! कम्तीमा पनी रातो पेनले हस्ताक्षर गर्न सक्नुपर्छ भन्ने उनलाई लाग्थ्यो । तर आर्थिक अभावकै कारणले बाहिर पढ्न जान नपाएर जिल्लामा नै उनले ब्याचलर्स पास गरिन् । यत्तिको फुर्तिलो मान्छेले यत्तिमा मात्र सीमित हुनुहुँदैन भन्दै कानुनको अध्ययन गर्ने सोच छ उनको । दलित समुदायमा ४३  घरधूरी भएको उनको समुदायमा ३५० व्यक्ति भएको र त्योमध्ये १३३ जनाले एसएलसी पास गरेको तर त्यसमध्ये पनि समुदायको पहिलो एसएलसी पास गर्ने महिला भने विशुन्के आफैँ बनेकी थिइन् ।

त्यसमाथि जिल्ला टप बनेपछि त उनी जिल्लाकै उदाहरणीय बनिन् । त्यसपछि स्कुलले समेत खोजी गर्नथाले । छोरी एसएलसी टप भएको र समाचारमा नाम आएको भन्दै रेडियो किन्ने बुवाले अहिले यति धेरै सफलता पाएको हेर्न नपाएको सम्झिँदा उनलाई धेरै दुःख लाग्छ । आफूले चाहेअनुसार पढ्न नपाएपछि उनले त्यो धोको मेटाउन भाइहरुलाई बीबीएस पढाइरहेकी छिन् । 

बाल्यकाल र गट्टा

ग्रामीण परिवेशमा हुर्किएकी विशुन्के आफ्नो बाल्यकालमा आफू धेरै चञ्चले र बाठी थिइन् । उनलाई बाल्यकाल भन्ने बित्तिकै गट्टाको सम्झाना आउँछ । साथीसँग खेल्दा आफूले जित्नै पर्ने उनको स्वभाव थियो । तर उनको हजुरबुवालाई उनले गट्टा खेलेको मन पर्दैन थियो रे । उनले हजुरबुवाको आँखा छली–छली गट्टा खेल्थिन् । 

बिहे गर्न बिर्सिएँ !

कान्छी सांसदको लगनगाँठो अझै कस्सिएको छैन । उनले बिहे तथा घरबारसम्बन्धी कुनै सोच नै बनाएकी छैनन् । बुबाको मृत्युपश्चात् घरपरिवारको अभिभावकत्व वहन गर्दा गर्दै उनले विवाह गर्न बिर्सिन् रे । साना भाइहरुलाई हेर्दैमा आफ्नो बिहे टरेको उनको भनाइ छ । आफू, परिवार र छिमेकी समेतलाई पढ्न हौसाउने उनी आफ्नो ठाउँको पहिलो ब्यक्ति बनिन् । सम्भवतः बिहे नै नगर्ने उनी बताउँछिन् । 

सानो उमेरबाटै राजनीतिसँग सम्बन्ध गाँसेकी विशुन्के आफ्नो भविष्य नै राजनीति भएको बताउँछिन् । सबै नीतिको माउ नीति नै राजनीति भएकाले हरेक क्षेत्रबाट हेर्दा निर्णायक भूमिका राजनीतिले नै खेल्ने भएकाले अबको सबै समय सबै राजनीतिमा खर्चिने उनको चाहना छ ।
 

(खरीबोटका लागि पार्वती विशुन्केले कविता घिमिरेसँग गरेको कुराकानीमा आधारित)

सम्बन्धित समाचार

संघीय संसद्की कान्छी सदस्य पार्वती विशुन्के भन्छिन् -बिहे गर्न बिर्सिएँ

काठमाडौँ । २०४३ सालमा आमा जसुदा र बुबा कविराम विशुन्केको जेठो सन्तानको रुपमा जन्मिएकी हुन् पार्वती विशुन्के । दैलेखको नारायणगढ नगरपालिका निवासी विशुन्के नेकपा एमाले समानुपातिकबाट निर्वाचित सबैभन्दा कान्छी सांसद्