नेपाली क्रिकेटका मैदानबाहिरका खेलाडी : रमन शिवाकोटी

खरीबोट

काठमाडौं । हरेक सफलतामा पर्दापछाडिका नायकहरुको भूमिका उच्च र महत्वपूर्ण हुन्छ । नेपालमा क्रिकेट अहिले सफलताको पर्याय बनेको छ । राष्ट्रिय-अन्तर्राष्ट्रियस्तरमा क्रिकेट खेलेर नेपाल चिनाउने खेलाडीहरुलाई साँच्चै खेलाडी बनाउन अहं भूमिका खेल्न पर्दापछाडि रहेर अहोरात्र खटिनेहरुकै कारण नेपाली क्रिकेटले यस्तो उचाइ प्राप्त गरेको हो ।

यो उचाइसम्म पुर्याउन विभिन्न समय र कालखण्डमा कोही न कोही पर्दापछाडि रहेर काम गर्दै आएका छन् । आज हामी विगत डेढ दशकदेखि निरन्तर नेपाली क्रिकेटको विकासमा लागेका पर्दापछाडिका एक नायक रमन शिवाकोटीबारे लेखिरहेका छौँ । 

दोलखाको भदौरे गाउँपालिका वडा नम्बर — ९ मा जन्मिएका हुन् शिवाकोटी । पछिल्लो समय नेपाली क्रिकेटलाई सफलताको शिखरमा पुर्याउन सक्रिय उनको बाल्यकाल भने काठमाडौंको बल्खुमा बित्यो । बाल्यकाल मात्र होइन, उनी स्कुल, कलेज हुँदै क्रिकेटमा आएपछि पनि बल्खुमै बस्थे तर, अहिले काँडाघारीमा बस्दै आएका छन् ।

शिवाकोटीले एसएलसीसम्म सिद्वार्थ वनस्थली स्कुलमा पढे भने आइएस्सी पढे, स्नातक तहमा माइक्रोबायोलोजी पढे भने समाजशास्त्रबाट स्नातकोत्तर गरे ।

शिवाकोटीको क्रिकेट—कनेक्सन 

पढाइपछि शिवाकोटीको क्रिकेट—कनेक्सन उनमा क्रिकेटप्रतिको सानैदेखिको लगावका कारण सम्भव भयो । उनले कलेज पढ्दा कलेज र क्लबस्तरीय क्रिकेट खेलेका थिए ।

शिवाकोटीले स्नातकोत्तर अध्ययन गर्दै गर्दा क्रिकेट अम्पायरको तालिम लिए । सन् २००४ मा उनी कलेजस्तरीय खेलका अम्पायर भएर काम गर्ने अवसर पाए भने २००५ बाट नेपाली राष्ट्रिय अम्पायरका रुपमा डेब्यु गरे । अम्पायरको भूमिकापछि उनी क्रिकेटको विश्लेषक बने । शिवाकोटीले अब खेलमा खेलाडीको प्रस्तुति हेरेर मूल्याङ्कन गर्ने र त्यसको रेकर्ड राख्नुपर्ने भयो ।  उनले विपक्षी खेलाडी वा टोलीको कमी-कमजोरी केलाएर प्रशिक्षकसँगको मिटिङमा छलफल गरेर रणनीति तयार गर्नुपर्ने जिम्मा पाए ।

नेपालमा विश्लेषकको रुपमा भने पहिलोपटक शिवाकोटीले यस्तो जिम्मेवारी पाएका हुन् । क्यानेडियन नागरिक तथा नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुवुदु दासनायकेले विश्लेषक आवश्क पर्ने देखेर यस्तो व्यवस्था मिलाएको शिवाकोटीको भनाई छ । नेपालका पहिलो क्रिकेट विश्लेषक भनेर चिनिन्छन् शिवाकोटी । अन्तर्राष्ट्रियस्तरमा विश्लेषकको भूमिका महत्वपूर्ण मानिन्छ । शिवाकोटीको भूमिका पनि नेपाली टोलीमा त्यति नै महत्वपूर्ण छ, जति टोलीका खेलाडीको हुन्छ । 

आठ वर्षको अम्पायर करिअर र विश्लेषकको भूमिका

सन् २००५ देखि २०१३ सम्म शिवाकोटी राष्ट्रिय अम्पायरको भूमिकामा रहे । शिवाकोटीले सन् २००९ मा कतारमा सञ्चालन भएको अन्तर्राष्ट्रियस्तरको अम्पायरको तालिम लिएका थिए । उनि अन्तर्राष्ट्रियस्तरको अम्पायरको लेभल—टुको तालिम लिने पहिलो नेपाली हुन् ।

लेभल—टुको तालिमपश्चात् शिवाकोटीले २००९ मा एसीसी अन्डर १६, २०११ र २०१३ मा एसीसी टि-२० प्रतियोगितामा अम्पायरको भूमिका निभाएका थिए । निरन्तर २०१३ सम्म राष्ट्रिय अम्पायरको भूमिका निभाएका शिवाकोटी २०१३ बाट नेपाली टोलीका क्रिकेट विश्लेषक (एनालिष्ट) पनि बने । 

शिवाकोटीले भने ‘हाम्रो क्रिकेटको विकास भएको लामो समय भएको छैन, २००८ बाट मात्र हाम्रो स्तरोन्नति भएको हो । २००८ मा डिभिजन ५ मा आयौँ । २००९ बाट डिभिजन ४ मा र २०१३ मा डिभिजन ३ मा हुँदा विश्वकप छनौटमा सहभागी भयौं ।’ तर, त्यसमा राम्रो प्रदर्शन नहुँदा छनौट हुन सकिएन ।

नेपालमा यसअघि नेपाली टोलीसँग विश्लेषक थिएनन् । उनले भने, ‘पुबुदु  दासनायके पहिलोपटक नेपालको कोच भएर आएपछि उनले विश्वका अन्य देशहरुमा विश्लेषक राख्ने गरेको देखेकाले होला हाम्रो टोलीमा पनि विश्लेषक राखियो । र नेपालमा क्रिकेटका हरेक कुराहरु बुझेको भएर उहाँले मलाई नै त्यो जिम्मेवारी दिनुभयो ।’  

विश्वकप क्रिकेट छनौट चरणको अनुभव

नेपाली टोली गत महिना जिम्बाबेमा विश्वकप छनोट खेल्न गएको थियो । जहाँ नेपाली टोलीले विश्वकपमा सहभागी हुने अवसर गुमायो । तर, एक दिवसीय क्रिकेटको मान्यता लिएर घर फर्कियो । जिम्बाबेमा सुरुका तीन खेल लगातार हार व्यहोरेको नेपालका लागि चौँथो खेल जित्नु अनिवार्य जस्तो भइसकेको थियो । र त्यो खेल हङकङसँग जित्यो पनि । त्यसपछि नेपालले पीएनजीसँग खेल्यो र जसले जित्यो, त्यो टोली एक दिवसीय मान्यता पाउँथ्यो । सो अवसर नेपाललाई जुर्यो । र पीएनजीलाई हराएर मात्र नेपालका लागि हुँदैनथ्यो । तर, नेदरल्याण्डस र हङकङबीचको खेल चलिरहेको थियो भने सो खेलमा हङकङले हारे मात्र नेपाली टोली सिधै एक दिवसीय मान्यता पाउने थियो । ‘हामीले स्थानीय समयअनुसार १ बजेतिर पीएनजीलाई हराएर होटेल फर्किसकेका थियौँ ।

हामीले मात्र खेल जितेर नहुने भएकाले उता अर्को समूहमा नेदरल्याण्डले खेल जितेको भए हामी स्वतः ओडीआई स्टाटस पाउँथ्यौँ । नेदरल्याण्डले जब हङकङको ७० रनमा नै २-३ विकेट झारिसकेको थियो त्यसपछि हामी पनि आशावादी भयौं । खेलाडीहरु सबै आ—आफ्नो रुममा बसेर अपडेट हेरिरहेका थिए, शिवाकोटीले भने, ‘जब हङकङले हार्ने निश्चित भयो, त्यसपछि मैले टोलीका कोच, कप्तान लगायत सबै खेलाडिलाई मेरो कोठामा बोलाएँ र हामीले एक आपसमा खुसी साटासाट गर्यौँ ।’

उनले २०१३ मा भएको वर्ल्डकप क्वालिफायर छनौटमा ५० ओभरको खेलमा नेपालले लगातार दुई खेल गुमाइसकेको थियो तर अन्तिममा इटालीलाई हराएको अवस्थामा नेपालले युएसए र बर्मुडाको खेल निर्णायक भएको हुँदा बर्मुडाले यूएसएलाई हराएपछि नेपालले विश्वकप क्वालिफायर खेल्ने अवसर पाउँदा निकै खुसी भएको सुनाए । उनले ओडीआई मान्यता पाउँदा अहिले पनि उस्तै खुसी लागेको सुनाए । 

तर, यो खेल जितिरहँदा डिभिजन २ को क्यानडासँगको निर्णायक खेललाई पनि बिर्सिन नहुने शिवाकोटीको भनाइ छ । ‘क्यानडासँगको खेलमा अन्तिम विकेटका रुपमा रहेका करण केसी र सन्दीप लामिछानेले ५१ रनको साझेदारी पूरा गरे जसको कारण एक दिवसीय मान्यता पाउन सफल भयौँ, यसले एकदमै हर्षित छौँ,  उनले भने, ‘त्यसको श्रेय सबै खेलाडीलाई दिनुपर्छ, त्यो भनिरहँदा करणको त्यो परफरमेन्सलाई नजरअन्दाज भने गर्नुहुँदैन ।’

नेपाली क्रिकेटमा ६-७ महिना अगाडि राष्ट्रिय टोलीमा खेलाडी परिवर्तन गरियो । जसबाट अनिल शाह, आरिफ शेख, रोहित कुमार पौडेल, ललित भण्डारी, ललित राजवंशीलगायत खेलाडीले यु—१९ टोलीबाट राष्ट्रिय टोलीमा ल्याइयो । शिवाकोटीका अनुसार उनीहरुको क्षमता र नेपाली टोलीको भविष्य हेरेर उनीहरुलाई टोलीमा राखिएको थियो । र उनीहरुको प्रफमेन्सपनि सोचेअनुरुप वा उनीहरुले आफुलाई राष्ट्रिय टोलीका सिनीयर क्रिकेटरको भन्दा फरक रहेन ।

सन्दीपलाई ल्याउँदा दासानायकेसँगै थिए शिवाकोटी 

सन्दीप लामिछानेलाई चितवनको क्याम्पा चौरबाट राष्ट्रिय टोलीका लागि लिदा पुबुदु दासनायकेसँगै थिए शिवाकोटी । सन्दीपलाई तत्कालीन प्रशिक्षक नायकेले पहिलो नजरमै ‘सन्दीप नेपालको भविष्य हो’ भनेका थिए । ‘सन्दीपको क्षमताले नै अहिले उनी राष्ट्रिय टोलीका एक सशक्त लेग स्पिन बलर साबित भए र अहिले उनी दिल्ली डेयरडेभिल्सबाट आईपीएल खेल्न भारत पुगिसकेका छन् । सो खेलमा सन्दीपले राम्रो गर्नेमा हामी विश्वस्त छौ ।’

शिवाकोटीले भने ‘ दिल्लीले गएको एक वर्षदेखि सन्दीपलाई फलो गरिरहेको थियो । र पछिल्लो एक वर्षमा उनले गरेको मिहिनेत र प्रदर्शनले नै उनी आईपीएलमा छनोट भएका छन् । ‘आइपीएलको मुख्य ११ खेलाडीभित्र अटाउनसके उनले आफ्नो क्षमता अझ सशक्त पार्नेछन् ।’ आईपीएलका टोलीहरुले भविष्यका लागि पनि खेलाडी छनौट गर्ने गर्छन् । र त्यसैका लागि भए पनि सन्दीपको आईपीएल यात्राले उनीमा अझै निखार ल्याउने बताउँदै उनले भने, ‘आइपीएलपछि सन्दीप सीपीएलमा पनि आबद्व भएका छन् भने अब अन्य मुलुकका लिगहरुमा पनि सहभागिता बढ्नेछ । अफगानिस्तान, बंगलादेश, श्रीलंका लगायतका देशमा पनि सन्दीप छनोट हुनसक्छन् ।’

नेपाली क्रिकेटको ओपनिङलाई उनले चलेनन् भन्न नहुने धारणा राख्छन् । ‘हाम्रो ओपनिङ सुरुदेखिको समस्या हो, यसलाई हामीले स्वीकार्नुपर्छ । तर, ओपनिङ नै चलेन भने भन्न नहुने उनले बताए । खेलाडी फर्ममा नहुने कुरा एउटा रह्यो’, उनले अगाडि भने, ‘ओपनिङमा सुरुदेखि नचलेकाले हामी पनि चल्न सक्दैनौं कि भन्ने कुराको प्रेसरमा हुन्छन् सायद खेलाडीहरु । अथवा हामीले राम्रो गर्न नसके खेल नै दबाबमा पर्छ भन्ने सोच्छन्, जे होस् खेलाडीहरु दबाबमा हुन्छन् जस्तो मलाई लाग्छ ।’

मिडलअर्डर ब्याट्स म्यानको भने राम्रो प्रदर्शन रहेको शिवाकोटी बताउँछन् । उनी भन्छन्, ‘अबका दिनमा हाम्रो टोलीको सुधारको पक्ष भनेकै ओपनिङ फर्म हो । मिडिलअर्डरमा हामीले स्ट्रगल नै गर्नु पर्दैन् । ओपनिङको सुधार भए राम्रो हुन्छ ।’  

नेपाल क्रिकेट संघ (क्यान)को विवादबारे :

सन् २०१६ मा आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई प्रतिबन्ध लगाएपछि शिवाकोटी नेपाली क्रिकेट टिमको टिम म्यानेजर भए । शिवाकोटी अहिले टिमका म्यानेजर र एनालिष्ट पनि हुन् । ‘क्यानको विवादलाई टुङ्ग्याएर अगाडि बढ्ने हो भने नेपाली क्रिकेट उचाइमा पुग्न समय लाग्नेछैन र भविष्य पनि राम्रो छ ।’

क्यान विवाद छिटो समधान हुनुपर्छ :

क्यानलाई आईसीसीले प्रतिबन्ध लगाएपछि जस्तोसुकै सानो काम गर्न पनि आईसीसीसँग अनुमति लिनुपर्ने भएको शिवाकोटी बताउँछन् । उनका अनुसार यदि क्यान हुन्थ्यो भने क्यानका आफ्नै क्षेत्राधिकार हुन्छन् र उसले आफ्नो तरिकाले काम कारबाही अगाडि बढाउन पाउँछ । आफ्ना खेलाडिहरुलाई अन्य देशका क्रिकेट बोर्डसँग समन्वय गरेर खेलहरु  खेल्न सकिन्छ । अहिले ओडिआइ मान्यता पाएको नेपालले आइसीसीबाट आर्थिक स्रोत मात्र पनि ठूलो मात्रामा पाउनेछ । अहिलेभन्दा ४-५ गुणा बढी आर्थिक सहयोग गर्छ । र त्यसको सदुपयोग गर्नसके हाम्रो क्रिकेटको विकास हुने उनको भनाइ छ ।

उनले भने, ‘अफगानिस्तानलाई उदाहरणका रुपमा हेर्न सकिन्छ, उसले एक दिवसीय मान्यता पाएपछि निकै राम्रो मिहिनेत गर्यो र अहिले विश्वकपमा समेत छनौट भइसकेको छ भने अहिलेदेखि नेपालमा पनि क्रिकेटसँग सम्बन्धित निकाय क्यान, मन्त्रालयदेखि सबैक्षेत्रका व्यक्तिहरुले सकारात्मक रुपमा लिए । अगाडि बढ्ने हो भने अर्को पटकमा हामी विश्वकप छनौटमा पुग्न सक्ने सम्भावना पनि रहन्छ । र टेष्ट मान्याता पनि पाउन सक्छौँ ।’

अहिले विश्वकप क्रिकेटमा १० वटा टोलिहरु सहभागी हुन्छन् भने त्यसपछिको विश्व कपमा १२ अथवा १४ टोलीलाई विश्वकपमा सहभागी गराउने नियम बन्न सक्ने उनले बताए । त्यसैले अब नेपालको लक्ष्य निर्धारण गरेर क्रिकेटमा भौतिक पूर्वाधारदेखि हरेक क्षेत्रको विकास भए विश्वकपमा पुग्न पनि त्यति धेरै कठिनाइ नभएको उनी बताउँछन् । 

लर्ड्स मैदानमा खेल्न जाने :

क्रिकेटको जन्मभूमि हो बेलायतको लर्ड्स क्रिकेट मैदान । यहाँ नेपाली टोलीले यसअघि नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध कायम भएको २००औं वर्ष पुगेको अवसरमा नेपाली क्रिकेट टोलीले एमसीसी क्लबसँग खेलेको थियो । ‘लर्ड्स क्रिकेट मैदानमा खेल्ने क्रिकेटर भइसकेपछि हरेकको सपना नै हुन्छ लर्ड्समा खेल्ने । हामीले यसअघि पनि त्यहाँ गएर खेलीसकेका छौ र अहिले पनि २०—२० का लागि नेपाल र नेदरल्याण्डलाई बोलाएको छ । र हामी त्यहाँ पुगीसकेपछि त्यो एक दिन खेलेर घर फर्किने छैनौं, त्यहाँका माथिल्ला स्तरका क्लवसँग पनि खेल्ने वातावरण मिलाउदै छौँ, उनले अगाडि थपे, ‘हामीले लर्ड्समा खेल्दा नेपाली क्रिकेटका लागि प्लस प्वाइन्ट नै हुन्छ ।’ 

(खरिबोटका लागि सन्तोषराज पाण्डेसँग शिवाकोटीले गरेको कुराकानीमा आधारित)

सम्बन्धित समाचार

कमलाको पार्लर मोह  

काठमाडौँ । चाहानाको उत्कृष्टताले मान्छेलाई प्रेरित गरेको हुन्छ । मान्छे कुनै न कुनै रुपमा आफनै  इच्छाको वैतर्नीको लागि उन्मुख हुन्छ । नदीको भेललाई पनि झिनो देख्छ । इच्छाशक्तिलाई मान्छेको तत्परताले

तिनै सिजनमा एग्रेसिभ मार्केटिङ गरेर पर्यटक बढाउने हाम्रो रणनीति छ - दीपक राज जोशी, सिइओ, पर्यटन बोर्ड

नेपाल सरकारले आर्थिक वर्ष २०७५-७६को बजेटमा नै नेपालमा २०२० मा २० लाख पर्यटन भित्र्याउने भन्दै भिजिट नेपाल २०२० को घोषणा गरेको छ ।  नेपालमा पछिल्लो  तथ्याङ्क हेर्ने भने पनि हवाई मार्गबाट

ललितपुरलाई स्मार्ट सिटी बनाउदै छौं - उपमेयर गीता सत्याल  

काठमाडौं । २०३४ सालमा काभ्रेको खोपासीमा जन्मिएकी गीता सत्याल आमा कमला सत्याल र बाबु ऋषिकेश सत्यालका चार छोरीमध्येकी माइली छोरी हुन्  ।  काभ्रेमा जन्मिएकी गीताको बाल्यकाल गाउँले रहनसहनअनुसार काभ्रेमा नै बित्यो

आठ हजार आठ सय ४८ मिटर नाप्ने पूर्णिमाको पाइताला

काठमाडौं । यही जेठ ५ तदनुसार मे १९ मा दश जना महिलाको टोलीले सगरमाथाको शिखरमा पाइला राख्न सफल भए । त्यो टोलीमा आठ जना विदेशी महिला थिए भने दुई जना