• २०८१ बैशाख ८ शनिबार

सि जिनपिङ र किमबीच वार्तामा के विषयमा कुराकानी भयो , विश्वभर चासो 

kharibot

बेइजिङ । मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उनको भ्रमणको पुष्टि गरेको छ । 

भ्रमणमात्र नभएर किम र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले बुधबार जनाएको छ । 

बुधबार चिनियाँ सरकारी समाचार समिति, सिन्ह्वाले किम बेइजिङमा रहेको र उनको भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सिले उनलाई बेइजिङस्थित ग्रेट हल अफ चिनियाँ पिपुल्स काँग्रेसमा विशेष सम्मान र स्वागत गरेको बताएको छ । 

गएको आइतबारदेखि नै किम चीनको भ्रमणमा रहेको पनि खुलेको छ । तर त्यसलाई चीनले भने मङ्गलबार अपरान्ह्सम्म पनि स्वीकार गरेको थिएन ।

चिनियाँ राष्ट्रपति सि जिनपिङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच बेइजिङमा छलफल भएको समाचार आएको छ । यसलाई चीन सरकारले नै पुष्टि गरेको छ । 

सात वर्षपछि पहिलो पटक विदेश भ्रमणमा गएका उत्तर कोरियाली नेता किम र चिनियाँ राष्ट्रपति सिबीच भएको वार्ता नै यतिखेर विश्वका मिडियाको चासोको विषय भएको छ । 

हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता हुने भनी समाचार आएको थियो । उनीहरुबीच आमी मे महिनाको सुरुवातामा वार्ता हुने बताइएको छ । 

त्यसैगरी उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा पछिल्लो पटक सुधार आएको नै ठानिएको छ । यी दुई देशबीच पनि आगामी माहिना उच्चस्तरीय बैठकको आयोजनाको तयारीको समाचार आएको हो । 

संयुक्त राज्य अमेरिकासँग आफ्नो परमाणु र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे उत्तर कोरियाले सो वार्ता गर्न लागेको भनिएकोमा उक्त वार्ताको अघि यो भ्रमण भएकोले विश्वमा नै चासो बढेको हो । 

यसबीचमा अमेरिकी राष्ट्रपतिले पनि उत्तर कोरियासँग वार्ता गर्नुअघि चीन र जापानसँग पनि छलफल गर्ने बताउनुभएको थियो । आगामी वार्ताहरूमा बेइजिङको भूमिकाको खोजी भइ नै रहेको थियो । 

यसै सन्दर्भमा उत्तर कोरियाली नेता किमले चीनको भ्रमण गरेबाट अब भने चीनको भूमिकाको झनै बढी मात्रामा खोजी हुने अनुमान गरिएको छ । 

त्यस वार्तामा आपसी हितका विविध पक्षमा मात्र कुराकानी भएको सिन्ह्वाले जनाएको छ । सिन्ह्वाले सो भेटमा सुरुमा चिनियाँ राष्ट्रपति दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकोमा किमले बधाई दिए र राष्ट्रपति सिले धन्यवाद दिएका थिए । 

त्यस्तै राष्ट्रपति सिले पहिलो विदेश भ्रमणका रुपमा बेइजिङ आएकोमा नेता किमलाई धन्यवाद दिएको सिन्ह्वाले जनाएको छ । त्यसैगरी उक्त भेटकाक्रममा कोरियाली प्रायद्वीपमा जारी रहेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ । 

त्यस बारेमा के कुराकानी भयो र परमाणु उत्पादन र परीक्षणका बारेमा उत्तर कोरियाको केही प्रतिबद्धता आयो या आएन भन्ने बारेमा भने केही बताइएको छैन ।  त्यसैगरी अमेरिका र उत्तर कोरियाका साथै उत्तर र दक्षिण कोरियाको आसन्न वार्ताका बारेमा पनि के कस्तो कुराकानी भए भन्ने बारेमा पनि केही बताइएको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै