• २०८१ बैशाख ८ शनिबार

बैशाख १ गतेदेखि आर्थिक सर्वेक्षणः ७७ जिल्लामा कार्यालय स्थापना

kharibot

२०७५ बैशाख १ गतेदेखि हुने राष्ट्रिय आर्थिक सर्वेक्षणका लागि केन्द्रिय तथ्यांक विभागले ७७ वटै जिल्लामा आफ्ना कार्यालयहरु स्थापना गरेको छ । विभागले पहिलो पटक मुलुकमा भएको व्यवसाय कारोबारको इकाइको तथ्यांक संकलन गर्न लागेको हो ।

“दिगो आर्थिक विकासको आधारका लागि राष्ट्रिय आर्थिक गणना २०७५” नारा राखी यो सर्वेक्षण गरिने भएको छ । विभागका सूचना अधिकृत प्रमोदराज रेग्मीले ७७ जिल्लामा कार्यालयहरु खुलेको जानकारी दिए । उनले यही चैतभित्रमै सबै जिल्लामा आर्थिक सर्वेक्षणका लागि खटिने कर्मचारीहरुलाई आवश्यक तालिम दिइसक्ने बताए ।

उनले भने, ‘यो आर्थिक सर्वेक्षणमा हामीले सबै प्रकारका व्यवसायको सर्वेक्षण गरी मुलुकमा आर्थिक कारोबारका व्यवसायमा सहभागिताको विवरण संकलन गर्नेछौँ, यसलाई आगामी दिनमा सरकारलाई आफ्ना कार्यक्रमहरु अघि बढाउन मद्दत पुग्छ ।’ देशव्यापी सञ्चालन हुने यो सर्वेक्षण ०७४ चैत्र १ गतेदेखि ४ महिना अवधिका लागि जिल्ला आर्थिक गणना कार्यालयहरु स्थापना गर्न टोली खटाइ सकिएको उनले जानकारी दिए ।

यस सर्वेक्षणको मुख्य उद्देश्य केन्द्र, प्रदेश तथा स्थानीयतहका सरकारहरूलाई योजना तर्जुमा र नीति निर्माण गर्न आधारभूत आर्थिक तथ्यांकहरू उपलब्ध गराउने, प्रतिष्ठान व्यवसायहरूको व्यावसायिक क्रियाकलाप सम्वन्धी वर्तमान अवस्था र यसका आधारभूत तथ्यांकहरू उपलब्ध गराउनेलगायतका रहेका छन् । 

सर्वेक्षणले राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न तथ्यांकीय व्यावसायिक रजिष्टर निर्माणको आधार खडा गर्ने सम्बन्धित क्षेत्रका व्यवसायीहरू र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्यांक प्रयोगकर्ताहरुलाई क्रमशः व्यवसाय समृद्धिको लागि नीति तथा योजना तर्जुमा गर्न र अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने तथ्यांकहरु उपलव्ध गराउनु उद्देश्य राखेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै