• २०८१ बैशाख ८ शनिबार

मदन पुरस्कारका लागि मनोनयनमा परे नौ पुस्तकहरु

kharibot

काठमाडौँ , मदन पुरस्कार गुठीले २०७३ को मदन पुरस्कारका लागि गत वर्ष प्रकाशित चर्चित पुस्तकमध्ये नौ वटालाई छनोट गरेको छ । गुठीले कुल १९५ पुस्तकमध्येबाट जम्मा नौ वटा पुस्तक अन्तिम सूचीमा छनोट गरेको आइतबार जनाएको हो ।

अन्तिम सूचीमा सूचीबद्ध गरिएका पुस्तकहरुमा पुरुषोत्तमलोचन श्रेष्ठको गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, राज सरगमको छाउघर, शरद पौडेलको तपन, जय छांछाको दोहाको सीधा उडान, घनश्याम कँडेलको धृतराष्ट्र, हरि अधिकारीको प्रतिनायक, सीमा आभासको म स्त्री अर्थात् आइमाई, राजेन्द्र पराजुलीको शुक्रराज शास्त्रीको चस्मा र नवराज पराजुलीको सगरमाथाको गहिराइ रहेको गुठीका अध्यक्ष कुन्द दीक्षितले बताए । गत वर्षको मदन पुरस्कार रामलाल जोशीको ऐनाले पाएको थियो ।

स्व. ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो । पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरू भएको हो । गुठीको निर्णयअनुसार प्रारम्भमा पुरस्कारको रकम रू. ४०००। रहेकोमा स्वर्णवर्षको अवसरमा २०६१ सालदेखि यसको रकम २००,०००। पुर्याइएको थियो ।

२०१३ सालमा पहिलोपटक “हाम्रो लोकसंस्कृति”का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा”का लागि चित्तरञ्जएन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन ।

रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको रू एक लाखको पुरस्कार जगदम्बाश्री सोही सालबाट नै वितरण भएको हो र हाल यस पुरस्कारको रकम रू. दुई लाख छ । २०४५ सालमा नारायणगोपाल गुरूवाचार्यले सर्वप्रथम यो पुरस्कार प्राप्त गरेका थिए ।

मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो भने जगदम्बाश्री नेपाली भाषा, संस्कृति, साहित्य लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार हो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै