• २०८१ बैशाख ७ शुक्रबार

साम्राज्ञी र आकाशको ‘तिमीसँग’ को शिर्ष गीत सार्वजनिक, फिल्म चैत्र २३ गते रिलिज हुने

kharibot

काठमाडौं । नेपालको हिमाली भेगमा छायांकन गरिएको फिल्म ‘तिमीसँग’को शीर्षगीत सार्वजनिक भएको छ । आगामी चैत्र २३ गतेबाट रिलिज हुने फिल्मको शीर्ष गीतमा आकाश श्रेष्ठ र साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेका छन् । 

लेखु सहयात्रीले लेखेको गीतमा राहुल मुखर्जीको संगीत तथा राहुल र मधुरा भट्टाचार्यको स्वर छ । घान्द्रुक, पुनहिल, अन्नपूर्ण बेसक्यापमा छायांकन गरिएको गीतमा शिशिर खातीको कोरियोग्राफी छ।

राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा अभिनय गर्दा निकै गार्हो परेको अभिनेत्री साम्राज्ञीले बताइन् । ‘वरीपरी हिउँ परेको थियो । निकै चिसो मौसममा पनि राम्रो गीतमा अभिनय गर्न पाइयो’ । 

नायक आकाश श्रेष्ठ र नाजिर हुसेनले नयाँ टिमसँग फिल्ममा काम गर्दा रमाइलो भएको बताए । 

फिल्मका निर्माता तथा निर्देशक शिशिर राणाले फिल्मले अहिलेको युवापुस्ताको प्रेमलाई प्रतिनिधित्व गर्ने बताए । कार्यक्रममा फिल्ममा समावेश ५ गीतको अडियो पनि सार्वजनिक गरिएको थियो । 

कलाकार शिशिर राणा यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मको कथा पनि निर्देशक तथा निर्माता शिशिरकै हो । 

फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ ।  

विदेशबाट घुम्न आएकी एक युवतीसँग दुई पुरुष पात्रको रमाइलो जर्नीको कथा फिल्मले वाचन गरेको छ । फिल्मको यस अघि ट्रेलर सार्वजनिक गरिइसकेको छ । 

यस अघि साम्राज्ञी अभिनीत फिल्म 'ए मेरो हजुर २' सुपर हिट भएका कारण उनि अभिनित यो फिल्म पनि हिट हुनसक्ने देखिन्छ । 

ड्रिम र ए मेरो हजुर-२ पछि 'तिमीसँग' साम्राज्ञी अभिनीत तेस्रो फिल्म हो । उक्त फिल्म चैत २३ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै