• २०८१ बैशाख ८ शनिबार

निर्माणाधीन आयोजना प्रमुख प्राथमिकतामा

kharibot

काठमाडौँ । सरकारले निर्माणाधीन जलविद्युत् आयोजनालाई सम्पन्न गर्न विशेष कार्ययोजनाका साथ काम गर्ने भएको छ । 

ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले लामो समयदेखि निर्माणमा रहेका आयोजना पूरा गर्नेतर्फ सरकारले विशेष जोड दिने बताए ।

‘नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका कतिपय आयोजना समस्यामा छन् भन्ने मैले विगतदेखि नै सुन्दै आएको छु । विगतमा म अर्थमन्त्री हुँदासमेत अगाडि बढाएका आयोजनाको उस्तै हालतमा रहनु दुःखद् हो । ती आयोजना समयमा सकिनु पर्दछ,’ मन्त्री पुनले भने । 

मुलुकको आर्थिक समृद्धिको आधारका रुपमा रहेको जलस्रोत तथा ऊर्जा क्षेत्र नै रहेकाले यस क्षेत्रलाई सरकार र मन्त्रालयले विशेष प्राथमिकतामा राखेको उनले उल्लेख गरे । बर्षेनी पेट्रोलियम पदार्थको आयात बढिरहेको, खाना पकाउने एलपीजी ग्यासको आयातमा मात्रै ठूलो परिमाणको रकम खर्च भइरहेको सन्दर्भमा कम्तिमा पनि आयात प्रतिस्थापन गर्न ऊर्जा उत्पादनमा नै जोड दिनुपर्ने मन्त्री पुनको भनाइ थियो । 

उनले ऊर्जा, सिँचाइ जस्ता क्षेत्रलाई सरकारले महत्वपूर्ण कार्ययोजनामा राखेको र लगानीका क्षेत्रमा समेत विविधीकरण गर्नुपर्ने अवस्था आएको उनको प्रष्टोक्ति थियो । आगामी दश वर्षभित्र न्यूनत्तम रुपमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्नै आवश्यकता औँल्याउँदै उनले विगतका सरकारले ल्याएका सकारात्मक कारबाहीलाई पनि अगाडि बढाइने उल्लेख गरे । 

राष्ट्रिय रुपमा ऊर्जा सुरक्षाको विषयमा समेत सरकार प्रस्ट रहेको भन्दै बेरोजगारीको अन्त्य, आर्थिक समृद्धिको आधार तया पार्नसमेत सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनाका साथ काम गर्ने स्पष्ट पारे । 

पत्रकार सम्मेलनमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायलगायत उच्च सरकारी अधिकारीको समेत उपस्थिति थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै