• २०८१ बैशाख १४ शुक्रबार

जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था

kharibot

अछाम । जंगली जनाबरले खेतबारीमा लगाएको अन्नबाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । 

समयमै पानी नपर्नाले र सिँचाइको सुविधा नहुँदा बाँझै रहेका जग्गा पछिल्लो समय जेनतेन गरी खेतबारीमा लगाएको अन्न र तरकारी बाली जंगली जनावर बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कतिपय किसानहरुले खेती गर्न छोडेका छन् । 

जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था आउन थालेको साफेबगर नगरपालिका–१० घुघुरकोटका स्थानीय कुलराज भट्टले बताए । ‘एक हजारको बथानमा आउने बाँदरको समूहले गहुँबाली खाइसक्यो उनले दुःखेसो पोखे — ‘आफूले खान नपाएपछि किन बाँदर र बँदेलको लागि खेती लगाउनु ? दुःख गरेजति उत्पादन हुँदैन त्यसमा पनि जंगली जनाबरले खाएर हैरान पारेको छ ।’ सबै काम छोडेर बाँदर भगाउने काममा जुटेका छन् स्थानीयवासी । 

बान्नीगढ जयगढ गाउँपालिका–१ गाज्राका नरबहादुर खड्का पनि बँदेलदेखि हैरान भएका छन् । उनले भने – ‘बँदेलले गाउँलेले बारीमा लगाएको गहुँ र तरकारी एउटा पनि राखेन । एक त समयमै पानी नपर्नाले हामीले मार खेप्नु परेको छ भने अर्कोतिर दुःख गरेर लगाएको खेतीसमेत बँदेलले आएर खान थाल्यो ।’

साफेबगर नगरपालिका– ३ कि मंगलादेवी कुँवरले बँदेल भगाउन रातभरी जाग्राराम बस्दा पनि बारीमा लगाएको मकै जोगाउन सक्नुभएन । गाउँ नजिकैको सामुदायिक वन पाल्न थालेपछि जंगली जनावरको विगविगी बढ्न थालेको उनले बताए । 

नगर प्रमुख कुलबहादुर कुँवरले जँगली जनावरले पारेको समस्याका बारेमा आफू कहाँ धेरै गुनासो आउने गरेको बताए । यहाँका स्थानीय कृषक जँगली जनावरबाट निकै पीडित बनेका छन् । ‘म कहाँ धेरै गुनासो आएको छ कुवँरले भने सिँचाइको अभाव, जलवायु परिवर्तनका कारण उत्पादनमा कमी, परम्परागत कृषि प्रणाली र बसाइँसराइका कारण पनि खेतीयोग्य जमिन बाझै रहेका छन् त्यसमाथि बँदेल बाँदरको आतंकले थप समस्या सिर्जना गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै