भक्तपुर । शिक्षक सेवा आयोगले भदौ १० गतेका लागि तोकेको अस्थायी शिक्षकको परीक्षा असोज ८ गतेसम्मका लागि सरेको छ ।
तराईमा आएको बाढी तथा डुवानको कारण सबै शक्ति उद्धार र राहतमा केन्द्रित गर्नुपरेकाले परीक्षा सार्न शिक्षा मन्त्रालयले आयोगलाई पत्राचार गरेपछि परीक्षा स्थगित गरिएको हो ।
शिक्षा ऐनमा भएको व्यवस्था अनुसार निम्न माध्यमिक र माध्यमिक तहका तृतीय श्रेणीका अस्थायी शिक्षकलाई स्थायी बनाउन आयोगले भदौ ३ गतेका लागि परीक्षा तोकेको थियो । तर केही अस्थायी शिक्षक संगठनले विरोध गरेको र बाढी पहिरोको प्रकोप बढेको भन्दै आयोगले परीक्षा भदौ १० गतेलाई सारेको थियो ।
शिक्षा ऐन संशोधनपछि शिक्षक सेवा आयोगको परीक्षा लिन शिक्षा मन्त्रालय सकारात्मक भएपछि अस्थायी शिक्षक संघर्ष समितिले जारी राखेको आमरण अनशन सोमबारदेखि स्थगित गरेको थियो ।
आन्तरिक परीक्षामा कुल १९ हजार २६५ कोटा रहेकामा १५ हजार ६९० ले आवेदन दिएका छन् । हाल २६ हजार १५१ अस्थायी शिक्षक छन् ।