• २०८१ बैशाख ७ शुक्रबार

समृद्धिको लक्ष्य हासिल गर्न पूर्वसांसदको भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली

kharibot

काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको लक्ष्य हासिल गर्न पूर्वसांसदको भूमिका महत्वपूर्ण हुने बताएका छन्  । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज पूर्वसांसद मञ्चका पदाधिकारीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली, समृद्ध नेपालको’ चाहना पूरा गर्न पूर्वसांसदको अनुभव कामयावी हुने बताए । 

“पूर्वसांसद मञ्च भनेको संसद् र सरकारको सल्लाहकार नै हो”–प्रधानमन्त्री ओलीले भने, “तपाईंहरु सांसद भएका बेला वा सरकारमा भएका बेला गरेका कामको अनुभवले वर्तमान संसद् र सरकारलाई महत्वपूर्ण दिशानिर्देश गर्न सक्छ ।” 

नेपालको सामाजिक विविधतामा विभिन्न तत्वले खेल्न सक्ने भएकाले राष्ट्रिय एकताको भावना बलियो बनाउनुपर्ने प्रधानमन्त्री ओलीको कथन थियो । सिरिया र रुवाण्डाको द्वन्द्वको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले भने, “आपसमा भिडाएर द्वन्द्वको खेती गर्नेहरु सबैतिर सक्रिय हुन्छन् । उनीहरु द्वन्द्वका विभिन्न रुप देखाएर त्यसको उद्योग चलाउँछन् ।” 

नेपालमा पनि जातीय, धार्मिक, भाषिक द्वन्द्व लगाउन खोजिए पनि नेपालीले त्यसलाई अस्वीकार गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । देशमा अनेकखाले संघर्ष गरेर परिवर्तन आएकाले त्यसको अनुभूति जनताले पाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 

“लोकतन्त्र आयो नि भन्ने तर त्यसको अनुभूति तल्लोस्तरका जनताले महसुस नगर्ने”–प्रधानमन्त्री ओलीले भने, “जनताले महसुस गर्ने गरी लोकतन्त्रको अनुभूति गराउनु यो सरकारको प्रमुख दायित्व हो ।” 

प्रधानमन्त्री ओलीले अर्को एक प्रसंगमा ठेक्कापट्टा कमिसनका भरमा नभई न्यायोचित ढंगले हुनुपर्ने बताए । “सरकारको भ्रष्टाचार निर्मूल गर्ने नीति छ”–प्रधानमन्त्री ओलीले भने, “राजनीतिक, शक्तिका आडमा कसैले पनि कानुनविपरीत काम गरेको सरकारलाई सह्य हुँदैन ।” 

मञ्चका अध्यक्ष ओमकार श्रेष्ठको नेतृत्वको टोलीले पूर्वसांसदको हकहितका लागि प्रधानमन्त्री ओलीसँग विभिन्न माग राखेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै