• २०८१ बैशाख १२ बुधबार

पाँच वर्ष स्थिर सरकार दिने लक्ष्यका साथ आएका छौँ”–नवनियुक्त ऊर्जामन्त्री पुन

kharibot

काठमाडौँ । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शुक्रबार मन्त्रालयमा पद वहाली गर्दै आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रको उन्नयनका लागि सबै उपाय अबलम्बन गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । 

विगतका सरकार र मन्त्रीले अगाडि सारेको सकारात्मक कार्ययोजनालाई अक्षरशः कार्यान्वयन गर्ने र काम गर्ने वातावरण बनाउने उनको भनाइ थियो । “विगतमा धेरै राम्रा कार्ययोजना बनेका छन् । अस्थिर राजनीतिक प्रणालीका कारण ती कार्ययोजना कार्यन्वयन हुन सकेनन् । अब हामी पाँच वर्ष स्थिर सरकार दिने लक्ष्यका साथ आएका छौँ”–नवनियुक्त ऊर्जामन्त्री पुनले भने । 

ऊर्जा मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनामा रहेको ढिलासुस्ती र अनियमिततालाई नियन्त्रण गर्ने समेत उनको कथन थियो । माथिल्लो तामाकोशी आयोजनालाई समयमै सम्पन्न गरिने, सिँचाइ आयोजनाका रुपमा रहेका रानी जमरा, कुलरिया, सिक्टा जस्ता आयोजनाको निर्माण कार्यलाई गति दिने र समयमै सम्पन्न गर्ने मन्त्री पुनले स्पष्ट पारे । 

नवनियुक्त मन्त्री पुनले बिएलसम्म अध्ययन गरेका छन् । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पुन अप्ठ्यारोमा काम गर्न सक्ने क्षमता भएका नेताका रुपमा परिचित छन्। 

विगतमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेर पनि बजेट ल्याउन नपाएको भन्दै उनले यस पटक इतिहास राख्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री पुनले भेरी नदीमा निर्माण हुने भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको जग्गा प्राप्तिसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने निर्णयमा हस्ताक्षर गरे । 

सो अवसरमा ऊर्जा, सिँचाइ र जल तथा ऊर्जा आयोगका सचिवहरुले आ–आफ्नो कार्यक्षेत्रको विषयमा मन्त्री पुनलाई जानकारी गराएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै