• २०८१ बैशाख ७ शुक्रबार

उखुको तौलमा ठगेको भन्दै किसानद्वारा आन्दोलनको घोषणा

kharibot

नवलपरासी । उखु किसानले आन्दोलन गरेका छन् । 

चिनी उद्योगसँग उचित मूल्य र समयमै उखुको भुक्तानी माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन् । किसानले यस पटक आफूहरु उखुको तौलमा ठगिएको र उखुको समयमै भुक्तानी नभएको भन्दै आन्दोलन थालेका हुन् । 

उखु क्रसिङ याम अन्तिम अवस्थामा आइपुग्दासम्म चिनी उद्योगले रकम भुक्तानी नगरेका उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । पश्चिम नवलपरासीस्थित इन्दिरा सुगर मिल गंगापुरले किसानलाई उखुको तौलमा ठगी गरेको पुष्टि भएपनि सरोकारवाला पक्षले कारबाही प्रक्रिया अघि नबढाएको किसानको गुनासो छ । 

यसअगावै सो उद्योगको उखु तौल गर्ने काटामा शिल गरेको भए पनि उद्योगले तौलमा ठगी गरेबापतको क्षतिपूर्ति दिनुपर्ने र उखुको भुक्तानी रकम दिनुपर्ने माग राख्दै किसान आन्दोलनमा छन् । गत वर्ष नै कामय रहेको मूल्यसमेत मिल सञ्चालकले उपलब्ध नगराउँदा किसान मारमा परेका हुन् । 

भुक्तानीको माग गर्दै किसानले आन्दोलनलाई जारी राखेका छन् । किसानले इन्दिरा सुगर मिलमा तालाबन्दीसमेत गरेका छन् । उखु किसानलाई रकम भुक्तानी र तौलमा ठगी गरेबापत किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने अध्यक्ष यादवले बताए ।

उखु तौलमा ठगिएका किसानलाई दोब्बर क्षतिपूर्ति दिनुपर्ने र ठगी कार्यमा संलगन मिल सञ्चालक र बिचौलियालाई ठगी मुद्दाअन्तर्गत कारबाही हुनुपर्ने समितिको माग छ । 

उक्त मिलले यस वर्ष अहिलेसम्म करिब पाँच लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ । हालसम्म करिब रु सात करोड बराबरको मात्र भुक्तानी गरेको उखु कृषक समितिले जनाएको छ । 

इन्दिरा सुगर मिलले जिल्ला प्रशासन कार्यालय नवलपरासी र उखु उत्पादक कृषि समितिबीच नियमित भुक्तानी दिने पटकपटक सहमति गर्दैआएको भएपनि किसानलाई ठगी गर्दै आएको छ ।

उखु किसानको रकम भुक्तानी गर्न मिल सञ्चालकले रकम नदिँदा भुक्तानी गर्न नसकिएको इन्दिरा सुगर मिलका महाप्रबन्धक सुरेन्द्र शुुक्ला बताउँछन् । उक्त मिलले चालू याममा रु १३ करोडको चिनी बिक्री गरेको भएपनि हालसम्म रु छ करोड भुक्तानी गरेको छ । मिलको गोदाममा करिब रु १२ करोडको चिनी मौज्दात छ । 

जिल्लामा इन्दिरा सुगर मिल गंगापुर र वाग्मती खाडसारी उद्योग कुडिया मात्र सञ्चालनमा छन् । नवलपरासीमा करिब १३ हजार उखु कृषक रहको तथ्यांक छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै