• २०८१ बैशाख ८ शनिबार

बाजुराका स्थानीय तहमा बैंक छैनन्

kharibot

बाजुरा । जिल्लाका ६ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन सकेको छैन । बैंक नहुँदा उत्तरी भेगका गाउँपालिकाका बासिन्दाले सास्ती भोग्दै आएका छन् । 

बैंक स्थापना नहुँदा ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम मार्तडी धाउन बाध्य छन् । हिमाली, जगन्नाथ, स्वामीकार्तिक, गौमूल, छेडेदह गाउँपालिका र त्रिवेणी नगरपालिकामा बैंकको शाखा स्थापना हुन नसक्दा त्यहाँका जनप्रतिनिधि र स्थानीय बासिन्दा सदरमुकाम धाउन बाध्य भएका हुन् । 

सरकारले यसअघि नै स्थानीय तहमा विभिन्न बैंकका शाखा स्थापना गर्ने भने पनि बैंक नहुँदा सास्ती हुने गरेको कारोबार गर्न सदरमुकाम आउनुभएका हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए । 

यस्तै स्थानीय तहले उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने योजनाको खाता सञ्चालनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता कायमै रहेको बूढीगंगा नगरपालिका–३ का जय पाध्यायले बताए । 

बैंकमा खाता खोल्नका लागि बढी पैसा खर्च हुने गरेको त्रिवेणी नगरपालिका–४ की मन्धरा साउदले बताए । गत साउनमै स्थानीय तहमा बैंक स्थापना हुने भनिए पनि यहाँका स्थानीय तहमा बैंक स्थापना हुन सकेको छैन । 

स्थानीय तहमा बैंक नहुँदा गाउँपालिका र नगरपालिकाले गर्ने हरेक काममा समस्या भएको गौमूल गाउँपालिका इञ्जिनियर वीरेन्द्र रोकायाले बताए । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सास्ती भएको छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बताए । 

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल बैंकको कामका लागि दुई दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य भएको बताउँछन् । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ । 

खाता खोल्नका लागि उपभोक्ता समितिका पदाधिकारीलाई सदरमुकाम पठाउनुपर्ने बाध्यता रहेको स्वामीकार्तिक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुवेर शाहीले बताए । बूढीनन्दा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक र बूढीगंगा नगरपालिकामा सिद्धार्थ बैंकको शाखा स्थापना गरिएको बूढीनन्दा नगरपालिका प्रमुख दीपकविक्रम शाहले बताए । सदरमुकाममा रहेको बडीमालिका नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, एनआइसी, सेन्चुरीलगायत बैंकका शाखा सञ्चालनमा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै