• २०८१ बैशाख ११ मंगलबार

डाक्टरको नाममा (कविता)

kharibot

लेखक : निरज दाहाल

आमा ! म सेतो कोट लगाएर 
घरको आँगनमा उभिन चाहान्थेँ 
तर , आज घरको आँगनमा 
सेतो कपडामा बेरिएर लडेको छु 
सबै सेतो रङहरूले खुसी नदिँदो रहेछ 

बुवा ! हजुरले मलाई डाक्टर बनाउने सपना 
धेरै वर्षको मिहिनेतले पूरा त गरें 
त्यसैले , भगवान् यति धेरै खुसी भएछन् कि 
हजुरलाई भन्दा धेरै भगवानलाई भेट्न हतार भयो 
भगवानको घर जाने बाटो हाम्रै देशबाट रहेछ 

जमिन त ज्यूँदै टेकेको हुँ 
उत्रिएपछि हजुरहरूको हुन सकिन

म  बसेको सिटभन्दा अगाडि 
नेपाल हेर्न आएका केही जोडीहरू थिए 
उनीहरूलाई नेपाल यति धेरै मनपरेछ कि 
अब उनीहरू फर्केर कहिल्यै जाँदैनन् 

मलाई लिन विमानस्थल पुगेका 
हजुरहरूका आँखाले , मेरा बन्द आँखा मात्र देखे 
मैले त चाहेर पनि हेर्न पाइन् 
सायद , म हावा भएँ होला , महसुस मात्र भयो 

म यतिबेला हजुरहरूको खुट्टा सम्झन्छु 
मलाई लिन हिँडेर पुगेको त्यो खुट्टा 
म लडेको खबर सुनेपछि 
कसरी घर फर्कियो होला ? 

सबैलाई बचाउन सक्ने योग्य भएर 
म आफ्नै देश फर्किए 
अन्त्यमा , मैले आफैंलाई बचाउन सकिन ।।

हार्दिक श्रद्धाञ्जली एवं स्वास्थ्यलाभको कामना ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै