• २०८१ बैशाख ७ शुक्रबार

इतिहासको सही व्याख्या गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने

kharibot

काठमाडौँ । नेपालको गौरवपूर्ण इतिहासलाई सही व्याख्या गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा कार्यक्रमका सहभागी वक्ताहरुले जोड दिएका छन् । 

इतिहास शिरोमणि बाबुराम आचार्यको १३१औँ जन्मजयन्तीका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनीहरुले इतिहासका बारेमा सत्यतथ्य खोतल्ने वा अनुसन्धान गरेर एउटा निक्र्योलमा पुग्नुपर्ने बताए । 

इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठान, त्रिवि इतिहास केन्द्रीय विभाग, आचार्य बन्धु समाज नेपाल तथा नेपाल इतिहास संघद्वारा संयुक्तरुपमा आयोजित सो कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले चीनमा उच्च सम्मान दिएको भृकुटीका बारेमा हामीले अझै इतिवृत्तान्त दिन नसकिरहेको बताए । 

उनले नेपालको इतिहासलाई संरक्षण गर्न प्रतिष्ठान लागि परेको पनि उनले बताए । 

नेपाल इतिहास संघका अध्यक्ष डा सुरेन्द्र केसीले इतिहास शिरोमणि बाबुराम आचार्यले इतिहासका धेरै पाता केलाएको चर्चागर्दै नेपालको विभिन्न कालखण्डको इतिहासलाई जीवन्त राख्न उहाँको महत्वपूर्ण योगदान रहेको विचार व्यक्त गरे । 

पूर्वराजदूतद्वय नीरञ्जनमान सिंह बस्नेत र राजेश्वर आचार्यले नेपाललाई विश्वमा चिनाउने सगरमाथा, गौतम बुद्ध र वीर गोरखालीको योगदानलाई अझ फैलाउनुपर्नेमा जोड दिए । 

आचार्य बन्धु समाज नेपालका सुरेश आचार्य, प्राध्यापक डा राजेश गौतम, प्राज्ञ दिनेशराज पन्तले विभिन्न पुस्तकमा इतिहासकाबारे फरकफरक व्याख्या, तिथिमिति र तथ्यमा आधारित नहुँदा भ्रम फैलिरहेको उल्लेख गर्दै इतिहासको गहन अध्ययन गरी सत्यतथ्य पत्ता लगाएर मात्र इतिहासको पुनर्लेखन गर्नुपर्ने आवश्यकता औँल्याए । 

इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वकुलपति डा तुल्सीराम वैद्यले इतिहासको खोजविन गर्ने तथा सही कुरा प्रकाशमा ल्याउनसकेमा त्यस बेलाका घटनाबारे जानकारी लिनेलाई सहयोग पुग्ने बताए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै