• २०८१ बैशाख ८ शनिबार

कम उमेरका रोहितको पाको ब्याटिंग, हङकङविरुद्ध बने म्यान अफ द म्याच

kharibot

काठमाडौँ । नेपाली मिडिल अडर ब्याट्सम्यान रोहित पौडेलले हङकङविरुद्धको खेलमा म्यान अफ द म्याच बनेका छन् ।

६६ रनमा ५ विकेट गुमाएको नेपालले सोमपालसँग मिलेर छैठौ विकेटका लागि रोहितले ८९ रनको साझेदारी गर्दै ४८ रन नटआउट बनाएका थिए ।  

रोहितले आफ्नो ४८ रन नटआउटको पारीमा ८६ बल खेलेका थिए भने कुल ५ चौका हानेका थिए । उनलाई राम्रो साथ दिएका सोमपालले ४० बलमा ५ चौका हान्दै ३७ महत्वपूर्ण रन बनाएका थिए ।  

केबल १५ बर्षका रोहितले यस खेलसँगै लिस्ट ए क्रिकेटमा कुल १० खेल खेल्दै २९ रनको औसतले कुल २३४ रन बनाएका छन् । 

यस प्रतियोगितामा रोहितले जिम्बाबेविरुद्ध ३० रन, स्कटल्याण्डविरुद्ध १५ रन, अफगानिस्तानविरुद्ध १ रनमा आउट भएका थिए भने अन्तिम खेलमा हङकङविरुद्ध क्रिजमा टिकेर ४८ रन मात्र बनाएनन् नेपाललाई एकदिवसीय स्ट्याटसको सपना पनि देखाएका छन् ।   

गत महिना डिभिजन २ प्रतियोगिताबाट नेपालको राष्ट्रिय टिममा डेभ्यु गरेका रोहित पौडेल नेपालको तर्फबाट यस प्रतियोगितामा महत्वपूर्ण खेलाडी बनेका छन् । डिभिजन २ मा नेपाललाई उपविजेता बनाउदै विश्वकप छनौटसम्मको यात्रा तय गराउन रोहितको भूमिका महत्वपूर्ण रहेको थियो । डेभ्यु प्रतियोगिता मै रोहितले नेपालको तर्फबाट उत्कृष्ट ब्याटिंग गर्दै २८ को औसतमा कप्तान पारस खड्कापछि दोस्रो धेरै रन १४० रन बनाएका थिए । 

सन्दीप लामिछाने प्रतियोगिताको उत्कृष्ट खेलाडी र पारस खड्काको महत्वपूर्ण प्रदर्शनका बीच रोहितको भूमिकालाई नजर अन्दाज गर्न सकिन्न । चाहे नामिबियाविरुद्धको ३७ रनको भेषवाकरसँगको पार्टनरसिप होस् चाहे केन्याविरुद्ध उच्च ४७ रन बनाउदै आरिफ शेखसँग गरेको ८७ रनको पार्टनरसिप होस् रोहितले नेपालको जितमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

त्यस्तै क्यानाडाविरुद्धको गर या मरको खेलमा आरिफसँग गरेको छैठौ विकेटको लागि ४६ रनको पार्टनरसिप गरेर रोहितले राष्ट्रिय टिममा छानिनुको औचित्य पुष्टि गरेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्ल फर्ममा आउन संघर्ष गरिरहेका बेला रोहितले देखाएको खेलले विश्व क्रिकेटलाई नै प्रभावित पारेको छ ।

अब डिभिजन २ को प्रदर्शनलाई जारी राख्दै रोहितको काधमा विश्वकप छनौटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपालको मिडिल अडर ब्याटिंगलाई सम्हाल्ने जिम्मेवारी आएको छ ।  


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै