• २०८१ बैशाख १२ बुधबार

काठमाडौं उपत्यकाभित्रका चार नयाँ नगर : एक लाख ३० हजार रोपनीमा पाँच खर्ब ५० अर्ब लगानी ! 

kharibot

काठमाडौँ उपत्यका, फाइल फोटो

काठमाडौँ । काठमाडौं उपत्यका भित्रका चार दिशामा बन्ने नयाँ नगरको विकास एक वर्षपछि हुने देखिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरमा गरी चारवटै दिशामा विकास गरिने नयाँ नगरको गुरुयोजनाका लागि सरकारले तयारी थालिसकेको छ, भने गुरुयोजनाको प्रतिवेदन करिब १५ महिनामा तयार हुने भएकोले अब नयाँ नगरको विकासका लागि अझै १५ महिनाभन्दा बढि कुर्नुपर्ने भएको हो ।

काठमाडौं उपत्यकाभित्रका चार दिशामा चार नयाँ नगरहरुको निर्माण गर्ने निर्णय तत्कालिन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले गत बैशाख २४ गते निर्णय गरेका थिए । सोही निर्णयलाई कार्यान्वयन गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले गुरुयोजना बनाउनका लागि परामर्शदाता छनोट गरिसकेको छ । ती परामर्शदाताले १५ महिनामा प्रतिवेदन बुझाउने छन् ।

उपत्यकाभित्र विकास गरिने ती नगरको पुर्वाधार विकास गर्दा अब बन्ने नयाँ पूर्वाधार,  पुराना सम्पदा, पुराना बस्तीहरुलाई कसरी संरक्षण गर्नेलगायतका विषयमा खाका बनाउन गुरुयोजनाको तयारी गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले बताएको छ । प्राधिकरणले  ती नगरको विकासका लागि परामर्शदाता कम्पनी छनोट प्रक्रियालाई अघि बढाएको हो । 

प्राधिकरणका सहरी योजनाकार भागवतभक्त खोखालीले चार नगरको गुरुयोजना निर्माणका लागि कम्पनी छनोट भइसकेको जानकारी दिए ।

सरकारले घोषणा गरेअनुसार चारवटा नगरको क्षेत्रफल १ लाख ३० हजार रोपनी रहेको छ । एउटा नगरको क्षेत्रफल सबैभन्दा बढि १ लाख रोपनी रहेको छ । यो काठमाडौंको पूर्व–उत्तर हो । गुरुयोजना निर्माणको जिम्मा पाएका ती स्वदेशी तथा विदेशी परामर्शदाताहरूले सरकारलाई १२ देखि १५ महिनासम्ममा गुरुयोजनाको प्रतिवेदन पेश गर्ने प्राधिकरणले बताएको छ । सबैभन्दा ठूलो क्षेत्रफल रहेको नगर विकासको गुरुयोजनाको प्रतिवेदन १५ महीनामा पेश गर्नुपर्ने र अन्य तीन नगरको १०÷१० हजार रोपनी क्षेत्रफलको गुरुयोजनाको प्रतिवेदन १२ महिनामा परामर्शदाता कम्पनीले पेश गर्नेछन् ।

ती नगरको गुरुयोजनाका लागि चारवटा कम्पनी संलग्न छन् । ती नगरको गुरुयोजना बनाउन १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको प्राधिकरणले जानकारी दिएको छ । सहरी विकास मन्त्रालयले गत बैशाख २४ गते काठमाडौं उपत्यका भित्रका चार दिशामा चार नयाँ नगरहरू निर्माण गर्ने निर्णय गरेको थियो ।

एक लाख ३० हजार रोपनीमा पाँच खर्ब ५० अर्ब लगानी !

सरकारले घोषणा गरेका यी चार नयाँ नगरमा पाँच वर्षभित्रमा पाँच खर्ब ५० अर्ब रुपैयाँ लगानी हुने प्रारम्भीक अनुमान गरिएको छ । मन्त्रालयले यी क्षेत्रमा सार्वजनिक र निजी क्षेत्र गरी उक्त लगानी हुने प्रारम्भीक अनुमान गरिसकेको छ ।

सरकारले घोषणा गरेकामध्ये सबैभन्दा बढि क्षेत्रफल भएको काठमाडौंको उत्तर–पुर्व १ लाख रोपनी क्षेत्रफलमा रहेका नयाँ नगरको पुर्वाधार निर्माणका लागि भौतिक निर्माणको काम सुरु भएको पाँच वर्षभित्रमा करिब छ खर्ब रुपैयाँ लाग्ने प्रारम्भीक अनुमान गरिएको छ । मन्त्रालयले चार वटा नगरहरुमध्ये काठमाडौंको पूर्व–उत्तरमा करिव एक लाख रोपनी क्षेत्रफल ओगटेको नयाँ नगरको भौतिक पूर्वाधार विकास तथा व्यवस्था गर्न सार्वजनिक क्षेत्रबाट १ खर्ब रुपैयाँ र निजी क्षेत्रबाट चार खर्ब रुपैयाँ विकास सुरु भएको पाँच वर्ष भित्रमा लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ ।

मन्त्रालयले सहरको संरचना जग्गा एकीकरणको माध्यमवाट निजी जग्गाधनीहरु समेतको संलग्नतामा सम्पन्न गरिने घोषणा गरिसकेको छ । त्यसैगरी काठमाडौंको दक्षिण–पश्चिम, पूर्व–दक्षिण र उत्तर–दिशामा १०-१० हजार रोपनी क्षेत्रफल ओगटेको नयाँ नगरको भौतिक पूर्वाधार विकास तथा व्यवस्था गर्न सार्वजनिक क्षेत्रबाट १० अर्ब रुपैयाँ र निजी क्षेत्रबाट ४० अर्ब रुपैयाँ पाँच वर्षभित्रमा लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यसो त, यी नयाँ नगरहरुमा जग्गा एकीकरणको प्रक्रियाबाट व्यवस्थीत सहरीकरण गरिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै