विरोधीले फ्याँकेको ढुंगा जम्मा गरेर आफ्नो घर बनाउने नै महान् राजनीतिज्ञ हो : प्रदीप गिरी 

खरीबोट

सांसद प्रदिप गिरी

काठमाडौँ । दैनिक रुपमा हामीले संसदमा बोलेका कुराहरु सिंगो मुलुकले थाहा पाउन जरुरी छ । यहाँ के के छलफल गर्दै छौँ । सबै कुराको जानकारी सिंगो राष्ट्रले थाहा पाउन जरुरी छ ।

संसद् वा कुनै पनि विधायिका सरकार बनाउने थलो मात्र होइन । विभिन्न प्रसंगमा संसद् र विधायिका बाँडिएको छ । विभाजन छ । एकापट्टि एकथरिका एकापट्टि एकथरिका बस्नुहुन्छ । सबैका आफ्ना तर्क र मूल्य छन् ।

आजको यस पुस्तामा त आफ्नो मूल्य र मान्यताका लागि सबैले ज्यान हत्केलामा राखेका छन् । उहाँहरु किन विभाजित हुनुहुन्छ अनि हामी किन विभाजित छौँ ? त्यो कुरा सिंगो नेपाललाई सूचित गर्ने यो संसद्को दायित्व हो । सरकार बनाउने मात्र होइन । संविधान संशोधनको प्रश्नमा जुन कुराहरु हामी सुन्दै छौँ ।

त्यसको खास पृष्ठभूमि पूर्ववक्ता नेपाली कांग्रेसका नेता निधिजीले भनिसक्नुभयो । त्यहाँ कमरेड ओलीको हस्ताक्षर समेत रहेको उहाँले देखाइसक्नुभयो । यो सिंगो देशले हेर्न जरुरी थियो । यसै सिलसिलामा राष्ट्रको कुरा आएको छ । राष्ट्रवादको कुरा आएको छ । राष्ट्र विद्रोहको कुरा आएको छ । त्यो कुरा राजनीतिमा सधैँ हुने गरी सत्ता संघर्षको विषय रह्यो । त्यसमा म कहाँ उभिएको छु भन्ने बताइरहन आवश्यक परेन । बातैपिच्छे राष्ट्रवादको जुन कुरा हामी गर्दै छौँ । त्यहाँ सायद एकोहोरो कुरा गरेर हुँदैन । सबै पार्टीमा राष्ट्रको चिन्ता छ र हुनुपर्छ ।

राष्ट्रवाद एउटा गतिशील धारणा हो । राष्ट्रको बारेमा अनेकौँ विचार बदलिन्छ । नेपालमा राष्ट्रवादका लागि बीपी कोइरालाले जस्तो दुःख कसैले पाएन ।

राष्ट्रवाद एउटा गतिशील धारणा हो । राष्ट्रको बारेमा अनेकौँ विचार बदलिन्छ । नेपालमा राष्ट्रवादका लागि बीपी कोइरालाले जस्तो दुःख कसैले पाएन । बीपी कोइरालाले राष्ट्रिय कांग्रेसको स्थापना सम्मेलनमा के भौगोलिक, के सांस्कृतिक, के राजनीतिक, के आर्थिक दृष्टिकोणले नेपाल र भारत अभिन्न छ भनेर २००३ सालमा भन्नुभएको थियो । उही बीपी कोइराला ५० वर्षपछि आउँदा नआउँदा होइन हाम्रो राष्ट्रिय शक्तिहरु अत्यन्त महत्वपूर्ण रहेछ, यसको स्वायत्तता अत्यन्त महत्वपूर्ण रहेछ, यसलाई हामीले उत्तर, दक्षिण, पूर्वबाट चारैतिरबाट जोगाउनुपर्छ भनेर सांकेतिक ढंगबाट भन्न भ्याउनुभयो । यो हामीले बिर्सिनुहुँदैन । त्यसैले राष्ट्रको कुनै रुट परिभाषा हुँदैन ।

राष्ट्रलाई कुनै रुट, समूह वा केही विशेषले यही हो राष्ट्रवाद भन्न थाल्यो भने राष्ट्रको विघटन जनाउँछ । राष्ट्रका लागि भाषा पनि महत्वपूर्ण हुन्छ, संस्कृति पनि महत्वपूर्ण हुन्छ । भूगोल चाहिन्छ । तर भूगोल नभएका राष्ट्र पनि छन् । लामो समयसम्म यहुदीहरुको आफ्नो राष्ट्र नै थिएन । आज पनि यहुदीहरुको संघर्षमा भाग लिएका प्यालेष्टिनीहरुको आफ्नो भौगोलिक राष्ट्र छैन ।

भूगोलविना पनि राष्ट्रवाद हुनसक्छ । भाषाका विना पनि बाँच्न सक्छ । भाषाले मात्रै पनि बाँच्दैन । पाकिस्तानको विघटनको कहानी तपाईंहरुलाई थाहै छ । पहिले इस्लाम अनि अर्कोतिर भाषाका नाममा बंगालादेश बन्यो ।

भूगोलविना पनि राष्ट्रवाद हुनसक्छ । भाषाका विना पनि बाँच्न सक्छ । भाषाले मात्रै पनि बाँच्दैन । पाकिस्तानको विघटनको कहानी तपाईंहरुलाई थाहै छ । पहिले इस्लाम अनि अर्कोतिर भाषाका नाममा बंगालादेश बन्यो । अब पनि पाकिस्तानमा के हुनेवाला छ, बंगलादेशमा के हुनेवाला छ हामीलाई थाहा छैन ।

राष्ट्रका लागि चाहिने सबैभन्दा महत्वपूर्ण कुरा सिंगो संसद्ले नोट गरोस्, सँगसँगै बस्ने सँगसँगै बाँच्ने सँगसँगै डुब्ने र सँगसँगै पार हुने इच्छा हो । राष्ट्रका बारेमा सबैभन्दा पहिलो ऐतिहासिक मान्य ग्रन्थ लेख्ने व्यक्तिले आजभन्दा डेढसय वर्षअघि लेखेका थिए । सबै परिभाषा दिन्छु, भाषा, जाति, इतिहास, ऐतिहासिक स्मृति पनि चाहिन्छ, तर सँगसँगै बस्नेहरुको इच्छा र आकांक्षा छ कि छैन त्यो सबैभन्दा बढी चाहिन्छ भनेका थिए रेननले ।

म के भन्न चाहन्छु भने । संविधान संशोधन पास हुन्छ या हुँदैन थाहा छैन । म संशोधनको पक्षमा भोट दिन्छु । नेपाली कांग्रेसका तर्फबाट यस सरकारका सहयात्री दलका तर्फबाट यो संशोधन सिंगो राष्ट्रलाई सन्देश हो । नेपाली कांग्रेस यो सरकार तीन करोड नेपालीसँग सँगै बसेर बाँच्न चाहन्छ । यो संशोधनको अरु अर्थ छैन, यसको धारा धाराको अरु अर्थ छैन । एउटै अर्थ छ हामी तीन करोड नेपाली छुट्टिन चाहँदैनौँ, छुट्याउने शक्तिलाई यो एउटा करार जवाफ हो । छुट्याउँछु भन्ने मान्छे पनि छन् ।

जयकृष्ण गोइतजी हुनुहुन्छ । सीके राउतजी हुनुहुन्छ । यसलाई छुट्याउन दिन्नौँ, यिनले छुट्याउृन आँटे भनेर छुट्टिन नचाहने शक्ति वा समूहलाई पनि त्यही समूहमा गाभ्न चाह्यो भने त हामी पनि राष्ट्रवादको खेल खेलिराखेका छौँ । जसले छुट्टिन चाहन्छु भने भने हामीलाई मतलब छैन । तिनलाई पनि सामना गरौँला । तर छुट्टिन चाहँदैनौँ भन्ने समूहलाई राष्ट्रवादको नाउँमा औँलो देखाउने समूहलाई यो संशोधन जवाफ हो । संशोधनको मर्म मैले यसरी बुझेको छु ।

सत्ता संघर्ष शेरबहादुरजी, प्रचण्डजी, ओलीजी सबै गर्नुहुन्छ । त्यसमा मलाई आपत्ति छैन तर राष्ट्र, राष्ट्रवाद र राष्ट्रघातको नाउँमा डर देखाएर खतरा देखाएर आतंक देखाएर एउटा ठूलो समूहलाई झन् पर बनाएर राष्ट्रको हित हुँदैन । राष्ट्रविनाप्रति जान्छ ।

राष्ट्रवादका नाममा भारतले हात्ती पठाइदियो, भारतले गोगनसाँप पठाइदियो, भारतले भुइँचालो पठाइदियो, भन्ने प्रवृत्ति गरेर राणाकालीन र महेन्द्रकालीन राष्ट्रवादले पनि कल्याण गर्दैन ।

अहिले यहाँ बाँधको कुरा उठ्यो । भारतले आफ्ना पक्षमा बाँध लगाइदिएको हुनाले नेपाली भूभाग डुबानमा परे भन्छौँ । मलाई त्यसको प्राविधिक पक्षको ज्ञान छैन, त्यो हो होइन यसै भन्न सक्दिनँ । तर त्यो हुँदै होइन । भारतले त्यसै गरेकै छैन भनेर भन्ने जरुरत नेपाली कांग्रेसलाई छैन । त्यो हो भने प्रधानमन्त्रीले जिम्मेदारीपूर्वक आवश्यक तथ्य बुझेर अवश्य पनि भारतसँग कुरा उठाउनुपर्छ । उठाउनुहुन्छ भन्ने मलाई विश्वास छ ।

संसद्को मर्यादा हुनुपर्छ तर फेरि राष्ट्रवादका नाममा भारतले हात्ती पठाइदियो, भारतले गोगनसाँप पठाइदियो, भारतले भुइँचालो पठाइदियो, भन्ने प्रवृत्ति गरेर राणाकालीन र महेन्द्रकालीन राष्ट्रवादले पनि कल्याण गर्दैन । चीनले पनि कल्याण गर्दैैन । भारतले पनि कल्याण गर्दैन । यो जिम्मेदारीपूर्वक हामीले आज यस सभालाई बुझ्नु र बुझाउनुपरेको छ ।

हाम्रो यो मजबुरी छ । हामी भारतको छिमेकमा छौ । हामी चीनको छिमेकमा छौ । यदि हामीले चाहेको भए हामी अमेरिकाकै छिमेकमा बस्थ्यौँ होला । त्यो पनि कस्तो बस्थ्यो क्युबा, ब्राजिल वा अरु कुनै । भन्न सकिन्न । यसको पनि मलाई समस्या थाहा छ । त्यसैले प्रत्येक विपत्तिलाई अवसर बनाउनु कूटनीति हो । महान् राजनीतिज्ञ त्यो हो जसले विरोधीले फ्याँकेको ढुंगालाई जम्मा गरेर आफ्नो घर बनाउँछ । 

(भदौ ५ गतेको संसद् बैठकमा गिरीले बोलेका कुराहरुको सम्पादित अंश)

सम्बन्धित समाचार

होला त प्रदेश र संघीय संसदको निर्वाचन एकै पटक ?

दुई चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि अब तेस्रो चरणको निर्वाचन आगामी असोज २ गतेलाई तोकिएको छ । दलहरु प्रदेस नम्बर दुईमा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनको तयारीमा लागे

प्रदेश र प्रतिनिधि सभा निर्वाचन विधेयक राज्य व्यवस्था समितिमा

काठमाडौँ, व्यवस्थापिका– संसद्ले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि तयार भएको विधेयक राज्यव्यवस्था समितिमा दफावार छलफलका लागि पठाएको छ ।  संसद्को आजको बैठकले गृहमन्त्री जनार्दन शर्माले प्रस्तुत गरे ‘प्रतिनिधिसभा सदस्य निर्वाचन

माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकमा शर्मा

 काठमाडौँ, नेकपा (माओवादी केन्द्र) संसदीय दलको प्रमुख सचेतकमा पूर्वमन्त्री एवं सांसद रेखा शर्मालाई जिम्मेवारी दिइएको छ । बुधबार बसेको संसदीय बोर्डको बैठकले उहाँलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो ।  संसदीय दलका नेता

संसद बैठक : बाढीपहिरो पीडितको उचित व्यवस्थापन गर्न सांसदहरुको माग

काठमाडौँ, व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले मुलुकभर बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै उचित व्यवस्थापन गर्न माग गरेका छन् ।  सांसद चन्द्रकान्त भण्डारीले मुलुकमा अपार प्राकृतिक स्रोतसाधन भएपनि आर्थिक दुरावस्था र