• २०८१ बैशाख ४ मंगलबार

सिरिया युद्ध,  मानवतावाद र जयपृथ्वी

kharibot

काठमाडौँ । ६ फागुनदेखि पुनः एकपटक सिरियाले विश्वको ध्यान खिचेको छ । 

राजधानी दमास्कस छेवैको पूर्वी गुट सहरमा रुस समर्थित सिरियाली सैन्यबलले गरेको हमलामा १० दिन बिचमा छ सयभन्दा बढी मानिस मारीए । ४ लाख जनसंख्या भएको उक्त क्षेत्र विद्रोहीको आधारक्षेत्र भन्दै सुरुदेखि नै आन्तरिक नाकाबन्दीमा थियो । नाकाबन्दीले गर्दा भोकमरीका कारण गुट सहरका  बालबालिकाहरु कुपोषणको समस्या झेलिरहेका छन् । 

आफुलाई प्रजातन्त्रको हिमायती भन्ने अमेरिका पनि सिरियामा मानवीय नरसंहारमा उत्रियको छ । अमेरिकाले सिरियामा सरकार विरोधी विद्रोहीहरुलाई साथ दिइरहेको छ । साउदी अरब , रुस , इरानका आफ्नै भूमिका , स्वार्थहरू झन्झन् जेलिरहेका छन् । करिब ५ लाख सिरियाली नागरिकको मृत्यु भैसकेको भनिए पनि स्पष्ट आकडा नै राख्न छाडिएको छ ।

बेरोजगार र प्रजातन्त्रका नाममा सुरुभएको सिरियाली आन्दोलन अहिले गृहयुद्धमा परिणत भएको छ । सन् २०११ को मार्चमा प्रजातन्त्र पक्षधर आन्दोलनकारी समूहको शान्तिपूर्ण प्रदर्शनमा सिरियाली सरकारले गरेको दमनबाट युद्दको झिल्को उठेको थियो । सन् २०१८ सम्म आइपुग्दा एक तिहाई सिरियालिहरु आफ्नै देशभित्र विस्थापित छन् भने ४० लाखभन्दा बढी शरणार्थी बनेका छन् । सिरिया युद्दको आगोमा कलिला निर्दोष बालबालिकाहरु जलिरहदा पनि विश्व समुदाय भने फड्के किनाराको साछी बनिरहेको छ । दिनानुदिन  घाइते तथा मृत बालबालिकाका तस्वीर छापामा आइरहदा पनि संयुक्त राष्ट्र संघ लगाएतका मानवअधिकारवादी संघ संस्थाहरु भने मौन छन् ।  

विश्वबाट नै  मानवता हराउदै गएको गतिलो उदाहरण बनेको छ सिरिया युद्द । मानिसले मानिसलाई गर्ने मानवीय व्यवहार नै मानवता हो , जुन अहिले सिरियाले बिर्सिएको छ ।

लेखक : धनराज जोशी 

 

सिरिया युद्दले मानवतावादी दर्शनका प्रणेता बझाङ्गि राजा जयपृथ्वी बहादुर सिंहलाई फेरी एकपटक सम्झाएको छ । मानवतावादी राजा  जयपृथ्वीले सहअस्तित्व र शान्तिप्रतिको आफ्नो विचार संसारभर फैलाउन सर्वप्रथम भारतको बैंगलोरमा जय भवन निर्वाण गरी सन् १९२८ मा मानवतावादी क्लब स्थापना गरेका थिय । विश्व मानवसमुदाय विश्वयुद्ध र गृहयुद्धले गर्दा विभाजित भएको अवस्थामा जयपृथ्वीले मानवतावाद नामक दर्शनले एकतावद्ध गरेका थिए ।

जयपृथ्वीले संसारका सबै मानिसहरु एउटै परिवारका सदस्यका रुपमा र सबै देशहरुले सह-अस्तित्वको माध्यामद्वारा विश्व ब्रम्हाण्डको छहारीमुनि रहन सकेमा मात्र स्थायी विश्व शान्ति सम्भव छ भन्ने कुरा बुझाउन एवं युद्धरत मुलुकका पिडित पक्षलाई उद्दार र आक्रामक पक्षलाई मानवता सम्झाउन विश्व शान्ति सन्जाल खडा गरी विश्वव्यापी रुपमा शान्ति र मानवतावादी सङ्गठन खोलेका थिए । विश्वको जुन जुन देशमा गए त्यो त्यो देशमा मानवतावादी सङ्गठन खोलेर मानवतावादलाई फैलाएका थिए । जसले गर्दा विश्वलाई शान्तिको बाटोमा हिडाएको थियो ।

सन् १९३५ मा अविसिनियामाथि इटालीले हमला गर्यो । अविसिनियाका सम्राट हेलिसिलासी तत्कालिन राष्ट्र संघ समक्ष विश्वको नैतिक समर्थन माग्न जादा राष्ट्र संघले इटाली विरुद्ध केही गर्न चाहेन । यो कुरा बैंगलोरमा राजा जयपृथ्वी बहादुर सिंहले थाहा पाएर जापान गई त्यहाँबाट ग्यास मास्क किनेर दुई जना डाक्टर र चार जना नर्सलाईसँगै लिएर अविसिनिया जानुभयो ।उँहाले आफ्नो ज्यानको बाजी लगाएर धेरै अविसिनिया वासीको ज्यान बचाउन मद्दत गर्नुभएको थियो । जुन समयमा विश्व समुदायले युद्ध मात्र देखेको थियो, त्यो समयमा मानिसले मानिस भएर बाच्न पाउनुपर्छ भनेर सिकाउने एक मानवतावादी राजा थिए जयपृथ्वी बहादुर सिंह ।

आज पनि हतियारको होडबाजीबाट आक्रान्त विश्वमानव  समुदायलाई निस्शस्त्रीकरण , सहिष्णुतापूर्ण व्यवहार र युक्तिसंगत सहयोग आवश्यक छ । मानवजातिकै एकनासको विकास आवश्यक छ । प्रत्येक नागरिकको सोचाइमा शान्तिको अभ्यास हुनु आवश्यक छ । प्रत्येक नागरिकले शान्तिलाई आफ्नो जीवनपद्धति बनाउनु आवश्यक छ ।

आफ्नो जीवनका आदर्श एकता , सहयोग र सद्भावना बदल्नु आवश्यक छ । विभिन्न वर्गका बिच स्वच्छ समझदारी र सहानुभूति जुटाउनु आवश्यक छ । मानिसका भावना र बानीले सह-अस्तित्व स्विकार्नु आवश्यक छ । सह-अस्तित्वबाट मात्र एकता हुन्छ , एकतामा मात्र शान्ति हुन्छ र शान्तिमा मात्र सुख प्राप्त हुन्छ भन्ने कुरा हरेक मानिसले स्विकार्नु आवश्यक छ, जसका लागि मानवतावादको अध्ययन अति आवश्यक छ ।

मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको जन्मभूमि नेपालले सिरियामा शान्ति स्थापनाको लागि सहयोगी भूमिका खेल्न आवश्यक छ । युद्दबाट प्रताडित सिरियाली जनतालाई मानवतावाद मार्फत शान्तिको बाटोमा हिडाउन सिकाउनु पर्ने छ । नेपालले फेरी एकपटक जयपृथ्वी बहादुर सिंहको मनावतावाद र शान्तिको सन्देश विश्वमानव समुदायमा पुर्याउन जरुरी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै