• २०८१ बैशाख १३ बिहीबार

कृष्णबहादुर महरा वाम गठबन्धनबाट सभामुखका उम्मेदवार, आज मनोनयन दर्ता गर्ने

kharibot

काठमाडौँ । वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता एवं पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरा सभामुखका उम्मेदवार बनेका छन् ।

माओवादी केन्द्रले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

एमाले र माओवादीबीचको भागबन्डामा सभामुख माओवादीको भागमा परेको थियो।यद्यपि एमालेले राष्ट्रिय सभाको अध्यक्ष माओवादीलाई दिएर सभामुखमा सुवासचन्द्र नेम्वाङलाई ल्याउने प्रयास गरेपनि माओवादीले नमाने बताइएको छ ।

यसअघि माओवादीका नेता महराले सूचना तथा सञ्चार, परराष्ट्र, गृह र अर्थ मन्त्रीको जिम्मेवारी सम्हालिसकेको छन्। २०४८ सालमा भएको आम चुनावमा उनी तत्कालीन जनमोर्चाबाट सांसद बनेका थिए।

त्यस्तै नेपाली काँग्रेसले भने सभामुखमा उम्मेद्वारी दिने सम्भावना कम रहेको छ ।

यसअघि राष्ट्रपतिमा पनि विद्यादेवी भण्डारीको साटो अरु कसैलाई उम्मेदवार बनाए आफूले उम्मेदवार नउठाउने सन्देश काँग्रेसले वाम गठबन्धनलाई पठाएको थियो तर बामगठबन्धनले विद्यादेवी भण्डारीलाई नै राष्ट्रपति उम्मेदवार बनाए पछि काँग्रेसले पनि उम्मेद्वारी दिएको थियो । काँग्रेसले राष्ट्रपति भण्डारीले निष्पक्ष भएर काम नगरेको आरोप लगाउदै आएको छ ।

भोलि शनिबार हुने सभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुदै छ । संघीय संसद भवन, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सभामुखको उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ । निर्धारित समय भित्र दर्ता भएका उम्मेदवारहरुको अन्तिम नामावली १:३० बजे प्रकाशन गरिनेछ । 

सभामुखको चुनाव शनिबार १ बजे प्रारम्भ हुने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै