• २०८१ बैशाख ७ शुक्रबार

मानवअधिकार आयोगद्वारा टीकापुर हत्याकाण्डका दोषीको जीवन रक्षा गर्न आग्रह 

kharibot

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दुई वर्षअघिको टीकापुर हत्याकाण्डका मुख्य दोषीसहित २४ जनाको जीवन रक्षा गर्न अपिल गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै आयोगले घटनाको मुख्य दोषी रेशमलाल चौधरीसहित २४ जनाको जीवन रक्षा गर्न अपिल गरेको हो । 

गत आइतबारदेखि मुख्य आरोपी समेत रहेका चौधरीसहित २४ कैदीबन्दीहरुले कैलालीको धनगढी कारागारमा विभिन्न मागहरू राखी अनशन बसेका थिए । चौधरी हत्याकाण्डपछि लामो समय भूमिगत रहँदै आएकामा गत प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित भए पनि प्रहरीले खोजी गरेको कारण शपथमा सहभागी हुन पाएका छैनन् भने केही दिन अघि मात्रै उनले जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

उनलाई अदालतले पुर्पक्षमा राख्न आदेश दिँदै राजनीतिक बहानामा कर्तुत नछोपिने फैसला सुनाएपछि उनी जिल्ला कारागारमा रहँदै आएका छन् । अन्य दोषीहरु समेतलाई उचालेर चौधरीले कारागारभित्रै अनशन थालेका थिए । विगत चार दिनदेखि आमरण अनशनमा बसेको २४ जनाको स्थितिबारे बुझ्न आयोगका सदस्य प्रकाश शर्मा वस्तीसहितको टोलीले आज अनुगमन गरेको थियो । अनुगमनपछि आयोगले हत्याराहरुको जीवन रक्षाको अपिल गरेको हो । 

साथै आयोगले उनीहरुलाई आफ्ना मागहरू पूरा गर्ने सन्दर्भमा आमरण अनशनजस्तो संवेदनशील बाटो नरोज्न एवं आमरण अनशन स्थगन गरी विरोधको अन्य बाटो अवलम्बन गर्न समेत आग्रह गरेको छ । 

उनीहरुले प्रतिनिधि सभामा विजयी चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टिकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पुरा गर्नुपर्ने लगायतका माग राखेका छन् ।

उक्त हत्याकाण्डमा प्रहरीका वरिष्ठ अधिकारी, जवानसहित सानो बालकको समेत ज्यान गएको थियो । सोही हत्याकाण्डका कारण जेल परेका चौधरीले राजनीतिक रुपमा चुनाव जितेकै कारण अपराधबाट उन्मुक्ति खोजिरहेका छन् ।

सोही उन्मुक्तिको लागि उनी जेलका अन्यलाई समेत उचालेर अनशनलाई हतियार बनाइरहे पनि मानवअधिकार आयोगले भने जीवन रक्षा गर्नुपर्ने भन्दै विज्ञप्ति निकालेरै अपिल गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै