• २०८१ बैशाख ८ शनिबार

राष्ट्रपति ट्रम्पका आर्थिक सल्लाहकार ग्यारी कोनद्वारा राजीनामाको घोषणा

kharibot

वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका आर्थिक सल्लाहकारले पनि राजीनामा दिने घोषणा गरेका छन्  । 

राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले मङ्गलबार राजीनामा दिने घोषणा गरेको समाचारमा जनाइएको छ । 

पछिल्ला केही दिनमा ह्वाइट हाउसभित्र स्टील र अलुमिनियम आयातमा विद्यमान नीतिमा परिवर्तन गरी केही कडाई गर्नुपर्ने विषयमा मतभेदहरु उत्पन्न भएको बताइएको छ । 

यससम्बन्धी विवरणहरु पछिल्लो समयमा बाहिर आइरहेका बेला यता आर्थिक सल्लाहकारले नै राजीनामाको घोषणा गरेका छन् । यस राजीनामालाई अमेरिकी सञ्चारमाध्यमहरुले राष्ट्रपति ट्रम्पका सहयोगीहरुको राजीनामाको शृंखला भनेर प्रचार गरिरहेका बताइएको छ । 

ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोन श्रृंखलाबद्ध रूपमा ह्वाइट हाउसबाट राजीनामा दिई निस्कने राष्ट्रपति ट्रम्पको सहयोगी टोलीका पछिल्लो व्यक्ति हुन् । 

विशेषगरी उनीसँग स्टिल र अलुमिनियममा कर लगाउने विषयमा ट्रम्प प्रशासनसँग विवाद उत्पन्न भएको बताइएको थियो । सोही मतभेदका कारण उनले राजीनामाको घोषणा गरेको बताइएको छ  । 

त्यही कर विवादका कारण पछिल्लो समयमा राष्ट्रपति र कोनबीच राम्रो सम्बन्ध नरहेको बताउने गरिएको थियो । यसअघि सल्लाहकार कोन राष्ट्रपति ट्रम्पको प्रशासनले जारी राखेका अमेरिकामा कर कटौती सम्बन्धी विविध आयोजनाहरुका मुख्य योजनाकारका रुपमा काम गरेको बताइएको थियो । 

राष्ट्रपति ट्रम्पले कोनलाई विशेष धन्यवाद दिएका छन् । उनले आर्थिक क्षेत्रमा विशेष दखल राख्ने व्यक्तिभन्दै अहिलेसम्म सेवा दिएकोमा कोनलाई धन्यवाद ज्ञापन गरेको प्राप्त समाचारमा जनाइएको छ । 

उनले कामगर्ने अवसर दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । यसैबीच राष्ट्रपति ट्रम्पले आयातमा करहरु बढाउने नयाँ कार्यक्रमको घोषणा गर्नुभएको अर्काे एक समाचारमा जनाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै