• २०८१ बैशाख ११ मंगलबार

नयाँशक्तिका प्रवक्ता देवकोटा माओवादीमा फर्किए, डा.बाबुरामलाई पनि फर्किन प्रचण्डको आग्रह 

kharibot

काठमाडौं । नयाँशक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटा माओवादी केन्द्रमा फर्किएका छन् ।

पार्टी मुख्यालय पेरिसडांडामा आज आयोजित पार्टी प्रवेश समारोहमा पूर्व माओवादी नेता समेत रहेका देवकोटा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

देवकोटालाई पार्टीमा स्वागत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको बताए । स्थायित्व, समृद्धि र विकासको जनताको चाहना बुझेर एउटै शक्तिशाली कम्युनिष्ट केन्द्रको स्थापना गर्ने अभियान सुरु भएको उनले बताए । 

प्रचन्डले भने, ‘समाजवादमा जाने हो भने सवै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली सक्कली बनेर हुँदैन । भित्रै बहस गरेर को ठीक को बेठीक भन्ने थाहा हुन्छ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई समेत पार्टीमा फर्किन आव्हान गरे । प्रचन्डले भने, ‘रेलको डिब्बा छाडेर इन्जिन मात्रै हिँडेर हुँदैन, मालसामान छाडेर इन्जिन मात्रै कुदेर के हुन्छ ? जनता, कार्यकर्ता, आफ्नै रगत र पसिनाका उपलब्धि छाडेर हिँडे मनोगत बाहेक केही हुँदैन । अप्ठ्यारो र लाज नमानी पार्टीमा फर्किनुस्’

माओवादी आन्दोलनका नेता कार्यकर्ताले बाबुरामलाई माया गर्ने बताउदै अध्यक्ष प्रचण्डले पार्टीमा पुनर्मिलन हुन अनुरोध गरे । “इतिहासको निर्माता जनता हुन्, नेता त जनताको भावना प्रतिनिधित्व गर्ने सेवक हो भन्ने कित्तामा कि इतिहास निर्माता महापुरुष र अलौकिक विद्वान हुन् भन्ने कित्तामा भनेर बाबुरामजीलाई भन्ने गरेको थिए,’ अध्यक्ष प्रचण्डले भने, ‘उहाँ एक्लै इतिहास निर्माण गर्न कुद्नुभयो ।’

अध्यक्ष प्रचण्डले देशमा कम्यूनिस्ट र दक्षिणपन्थीबीच ठूलो ध्रुवीकरण भइरहेको बताउदै अध्यक्ष प्रचण्डले समृद्ध नेपाल निर्माणको लडाइमा केन्द्रीत हुन सबैमा आव्हान गरे । 

पार्टी एकताको पक्षमा बिभिन्न किसिमले तर्क बितर्क भइरहेको सन्दर्भ चर्चा गर्नुहुँदै अध्यक्ष प्रचण्डले जनताले एकताको पक्षमा आदेश दिएको बताए । ‘पार्टी एकताका बारेमा तर्क गर्न खोज्दा के भनौ, के भनौ भयो भने, जनताले एकता गर्न भनेका छन्, जनताको आदेश मान्नुपर्छ भन्नुहोला । यो अवसरवादी तर्क होइन, सही तर्क हो ।’

उक्त अवसरमा पार्टी प्रवेश गर्नुभएका नयाँशक्तिका प्रवक्ता तथा नेता खिमलाल देवकोटाले बाबुरामजीको मनसाय राम्रो भएपनि हिँड्ने तरिका ठिक नभएको टिप्पणी गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै