• २०८१ बैशाख १३ बिहीबार

फोरम र राजपालाई लिएर भोलि वा पर्सी मन्त्रिमण्डल विस्तार हुन्छ : मन्त्री लालबाबु पण्डित

kharibot

काठमाण्डौ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले फोरम र राजपालाई सहभागी गराएर भोलि वा पर्सीसम्म मन्त्रिमण्डल विस्तार हुने स्पष्टपारेका छन् । 

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले एक÷दुई दिनभित्रमै सरकार विस्तारको प्रयास भइरहेको बताउँदै ढिलोमा एक हप्ताभित्रमा पूर्णता दिने बताए ।

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भैरहेको जानकारी दिदै मन्त्री पण्डितले सकेसम्म दुवै दललाई सरकारमा सहभागी गराउने बताए । 

साक्षात्कारमा मन्त्री पण्डितले फोरम र राजपासँग धेरै कुरामा सहमति भैसकेको र स–साना कुरा मिल्नमात्रै बाँकी रहेको स्पष्ट पारे । 

मन्त्रालय व्यवस्थापनका कारण पनि सरकार विस्तार प्रभावित भएको उनले बताए । “१३ वटा मन्त्रालय घटाएर ३० बाट १७ वटा बनाइएको छ । विभिन्न विभाग र निकाय व्यवस्थापन हुँदैछ ।” उनले भने ।

मन्त्री पण्डितले अहिलेको अवस्थामा प्रतिपक्षको आवश्यकता नरहेको भन्दै कांग्रेसलाई पनि सरकारमा आउन आग्रह गरे ।

“कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम पठाउनुस्, हामी सरकारमा सहभागी गराउँछौँ । कोही पनि प्रतिपक्षमा बस्न नपरोस भन्ने हाम्रो चाहना छ ।”उनले भने । आफूहरुले कांग्रेसलाई पनि सरकारमा सहभागी गराउने गरि गृहकार्य गरेको उनको भनाई थियो । 

अब देशलाई विकास र सुशासनको दिशामा लैजानुपर्ने भएकाले कोहीपनि सरकार बाहिर बस्न आवश्यक नरहेको उनको तर्क थियो । 

मन्त्री पण्डितले देशभरिका प्रमुख शहरहरुको प्रदुषण हटाउनका लागि आफू लागि परेको बताए।

मन्त्री पण्डितले धेरै वर्ष लागेर बिग्रिएको काठमाण्डौंको वातावरण एकै रातमा ठीक पार्न नसकिने भन्दै देशभरिका प्रमुख शहरहरुमा एक वर्षभित्रमा माक्स लगाउन नपर्ने गरी काम सुरु गरेको विश्वास दिलाए । 

धुलो नियन्त्रणका लागि अन्य विकास निर्माणका काम गरिरहेका निकायसँग समन्वयगर्दै दिनमा चारपटक पानी हालेर धुलो मार्ने काम सुरु भइसकेको पनि उनले जानकारी दिए । 

धुवाँधुलो हुनुको ९० प्रतिशतकारण डिजेलबाट चल्ने गाडी भएकाले वैशाख १ गतेदेखि महानगरपालिका र उप–महानगरपालिकामा हरियो स्टिकर नलगाएका गाडीलाई प्रवेश निषेध गरिने उनले बताए ।

किनेर वा गलत तरिकाले हरियो स्टिकर लिएर प्रयोग गरेको पाइए त्यस्तो स्टिकर दिने कर्मचारी र गाडी मालिकलाई कारबाही गरिने उनले कडा चेतावनी दिए ।

‘कतिपय उद्योग, जसले धुवाँ फालेका छन, तिनलाई धुवाँधुलो नियन्त्रण गर्ने व्यवस्था गर्न निर्देशन दिइएको छ’–उनले भने ।

त्यसैगरी प्लाष्टिकका झोला उत्पादन र आयातमा रोक लगाइने पण्डितले बताए ।
माटोमा कुहिने खालका प्लाष्टिक मात्रै प्रयोग गर्न दिईने उनको भनाई छ ।

एक वर्षभित्र देशका प्रमुख शहरमा धुवाँधुलोकै कारण माक्स लगाउनुपर्ने अवस्थाको अन्त्य गर्नै उनको दाबी छ ।

काठमाण्डौमा धनी, बुद्धीमानी मानिस बसेपनि प्रदुषण भने बढाएको आरोप लगाउँदै पण्डितले भने,‘राम्रा, शिक्षित, धनी सबै काठमाण्डौमा बस्छन्, तर देखेर सिकेर पनि परिवर्तन हुन सकेन । स्वस्थ नबनेर जीवन घटाइरहेका छन्”–पण्डितले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै