• २०८१ बैशाख ७ शुक्रबार

प्रदेशसभा सदस्यद्वारा समस्याबारे ध्यानाकर्षण

kharibot

फाइल तस्बिर

धनगढी । प्रदेश नं ७ को आजको बैठकमा विशेष समय लिएर बोल्ने सदस्यहरूले प्रदेशका विभिन्न समस्याका बारेमा सदनको ध्यानाकर्षण गराएका थिए । 

बैठकको प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाले विशेष समयमा बोल्न अनुमति दिएपछि नेकपा एमालेका सदस्य लालबहादुर खड्काले कञ्चनपुरको शुक्लाफाँटा आसपासका क्षेत्रमा बढेको हात्ती आतंक रोक्नुपर्ने, निर्माणाधीन महाकाली सिँंचाइ आयोजना निर्माणका क्रममा विस्थापित भएर सुकुम्वासी बनेकाको गाँसबासको व्यवस्था गर्नुपर्ने माग गरे । 

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य देवकी मल्लले प्रदेशलाई आर्थिक क्रान्तिमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा वैज्ञानिक योजना बनाएर अघि बढ्नुपर्ने बताए । 

नेपाली कांग्रेसका सदस्य भरतबहादुर खड्काले राजधानी बनाउनुपर्ने मागसहित दीपायलमा आन्दोलन जारी रहेको उल्लेख गर्दै अल्पमत र बहुमतभन्दा पनि सन्तुलन, औचित्य र सामरिक महत्वलाई बुझेर प्रदेश राजधानी दिपायल नै उपयुक्त हुन्छ भन्ने माग गरे । 

राष्ट्रिय जनता पार्टीका सदस्य कृष्णबहादुर चौधरीले राजनीतिक र संवैधानिक हिसाबले कैलाली, कञ्चनपुरका थारु र राना थारुलाई विभेद गरेको भन्दै सवै जातजातिलाई समेटेर लैजान सकिएमा मात्र विकास र समृद्धि आउने बताए । 

सदस्य चौधरीले कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभामा निर्वाचित राजपाका सांसद रेशमलाल चौधरीलाई विजयी भएको प्रमाणपत्र उपलब्ध गराई सपथ ग्रहणको व्यवस्था मिलाउन माग गर्दै माग सम्बोधन नभए आगामी बैठक अवरुद्ध पार्ने बताए । 

एमालेका सांसद नेपालु चौधरीले निर्माणाधीन धनगढी–फुलवारी–सत्ती हुलाकी राजमार्गको स्तरोन्नती गर्नुपर्ने र सीमा क्षेत्रको समस्या समाधान गर्नुपर्ने बताए । 

माओवादी केन्द्रका मानबहादुर धामीले प्रदेशसभा व्यवस्थित रुपमा सञ्चालन गर्न यससम्बन्धी ऐन नियमको विधेयक छिटो ल्याउनुपर्ने बताए । 

कांग्रेसका डा रणबहादुर रावलले टीकापुरमा केही दिनअघि भएको एक युवकको हत्याको घटनाका दोषीमाथि कारबाही र पीडितका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । 

एमालेका दुर्गाकुमारी कामीले छाउपडी प्रथाका नाममा अहिलेसम्म अछाममा १२ जना महिलाले ज्यान गुमाइसकेको बताउँदै मानवअधिकारको संरक्षण र कुप्रथाविरुद्ध लाग्नुपर्ने बताए । 

बैठकले सभामुख संयोजक रहने प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिलाई पूर्णता दिएको छ । 

सभामुखले बैठकमा कार्य ब्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम सुनाउनुभएपछि ध्वनी मतले ती सदस्यहरूको नाम पारित गरेको थियो । प्रदेशसभा कार्यव्यवस्था समितिमा तारालामा तामाङ, कृष्णराज सुवेदी, अर्चना गहतराज, अक्कलबहादुर रावल, वीरभान चौधरी, भरतवहादुर खड्का, रणबहादुर रावल र मालामतिकुमारी राना सदस्य रहेका छन् । 

यसैगरी, वैठकमा सभामुखको अनुमतिमा एमालेका प्रदेशसभाका सदस्य तारालामा तामाङले प्रस्तुत गरेको प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गर्यो । 

विपक्षी नेपाली कांग्रेसका प्रदेशसभा सदस्य टेकबहादुर रैका आउजीले प्रस्तावको समर्थन गरेका छन् । समितिका सदस्यमा प्रदेशसभा सदस्यहरू लिलाधर भट्ट, कृष्णबहादुर चौधरी, टेकबहादुर रैकाआउजी, पूर्णा जोशी र महेशदत्त जोशी रहेका छन् । 

बैठकमा सभामुखले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यमन्त्रीमाथि विश्वासको मत पारित गरियोस् भन्ने बारेको प्राप्त पत्रको व्यहोरा पढेर सदनलाई जानकारी गराए । 

सभामुखले उक्त प्रस्तावमाथिको छलफलका लागि यही फागुन २२ गते दिनको २ बजे समय तोकिएको जानकारी गराउँदै आजको बैठक स्थगित गरिएको जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै