• २०८१ बैशाख ७ शुक्रबार

क्यान सक्रिय हुनसके नेपाली क्रिकेटको सफलता टाढा छैन : सुवास शाही

kharibot

सुवास शाही नेपाली क्रिकेटको व्यवस्थापकीय क्षेत्रकै चर्चित नाम हो । उनी उमेरले अनुभवी होइनन् तर व्यवहार र बौद्धिकताले उनी व्यवस्थापनमा कुनै विज्ञभन्दा कम छैनन् । उनी एक जोसिला युवा हुन् । धनगढीमा जन्मिएका शाही धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष समेत हुन् । उनले नेपालको सुस्ताएको क्रिकेटलाई माथि उकास्न ठूलो योगदान दिएका छन् । क्रिकेट क्षेत्रमा सन् २०१० बाट लागेका उनले पहिलोपटक २०१० मा एसपीए कप क्रिकेट गराए । सुदूरपश्चिमाञ्चल क्याम्पसले उनलाई साथ दिएको थियो । पहिलो खुट्किलोमै नरोकिई उनी निरन्तर क्रिकेटमा नयाँ नयाँ परीक्षणहरु गर्दै गए । हरेक पाइलाहरुमा सफलता हासिल गर्दै गए ।

विभिन्न चरणमा आईसीसीका मापदण्डहरु पहिल्याउँदै गए । शाहीकै अभियानस्वरुप धनगढीमा ड्रिम फाप्ला प्रोजेक्ट सञ्चालनमा छ । फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गरी नेपालमै उत्कृष्ट क्रिकेट मैदानको निर्माणमा लागेका छन् उनी । यो वर्ष उनकै व्यवस्थापकीय नेतृत्वमा आगामी चैत १७ देखि धनगढीमा हुने धनगढी प्रिमियर लिग हुँदै छ ।  खेल १४ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पुरस्कार राशि पनि पहिलेभन्दा दुई गुणा बढाइएको छ । विजेतालाई २५ लाख र उपविजेतालाई १० लाख पुरस्कार दिने घोषणा गरिएको छ ।

एकताका लागि क्रिकेटको रुपमा लिने शाही  ‘क्रिकेट फर युनिटी’ नारा दिएर नेपाली क्रिकेटको उन्नतिका खातिर लागिपरेका छन् । देशका विभिन्न ठूला सहरहरुबाट छवटा टिम डीपीएलमा सहभागी हुँदैछन् । डीपीएलको फ्रेन्चाइज तरिकाबाट अक्सन गरेर पहिलो संस्करणबाट नै नयाँपन दिइसकेको प्रतियोगितासँग जोडिएका उनै शाहीसँग खरीबोट डटकमका सन्तोष राज पाण्डेले गरेको कुराकानीको सम्पादित अंश – 

डीपीएलको तयारी कस्तो भइरहेको छ ?

तयारी एकदमै राम्रो भइरहेको छ । महत्वपूर्ण काम खेलाडी छनोट अक्सन गरेर केही दिनअगाडि सम्पन्न गरिसक्यौँ । मैदानको तयारी लगायतका कुराहरु अहिले भइरहेका छन् ।

डीपीएल २ को अक्सनपछिको प्रतिक्रिया कस्तो आएको छ ?

एकदमै राम्रो आइरहेको छ । किनभने हामीले धनगढी प्रिमियर लिगमा स्थानीयस्तरमा अक्सनको प्रयोग गरेका थियौं । गत वर्ष मात्र हामीले पहिलोपटक राष्ट्रियस्तरको अक्सन र पहिलोपटक सिटी बेष्ड फे्रन्चाइजका अवधारणामा स्पर्धा गर्ने जमर्को गर्यौं । त्यसैले नै पहिलो संस्करणको अक्सनबाट हामीले राम्रो प्रतिक्रिया पाइसकेका थियौं । त्यही कुरालाई निरन्तरता दिन यसपटक पनि अक्सन गर्यौैँ । यसपालि पनि र सँगसँगै खेलाडीको पारिश्रमिक पनि गत वर्षभन्दा दोब्बर बढायौं । मुख्य कुरा खेलाडीहरुलाई खुसी गराउन गरेको कुरा हो । खेलाडीहरु व्यावसायिक हुनुपर्छ भन्ने नै हाम्रो मूलभूत उद्देश्य हो । अहिले खेलाडीहरु खुसी छन्, खेलाडी खुसी हुनु नै हामी सबैको खुसीको कुरा हो ।

क्यानले क्रिकेट प्रतियोगिता नगरिरहेका बेला डीपीएल, ईपीएललगायतका टुर्नामेण्टहरुले नेपाली क्रिकेट बचाइरहेको छ । यो बारेमा तपाईंको प्रतिक्रिया के छ ?

क्रिकेटको एकदमै राम्रो सम्भावना छ । जुन किसिमको क्रिकेटको माहोल छ नेपालमा, त्यसअनुसार त हाम्रो देशमा यस्ता प्रतियोगिताहरु १० वर्ष अगाडि नै भइसक्नुपर्ने थियो । जुन किसिमको क्रिकेट कल्चर छ हाम्रो यहाँ, जुन किसिमको फ्यान फ्लोइङ छ, त्यसअनुसार सँगै खेल्न थालेको र हामीभन्दा पछि खेल्नथालेका राष्ट्रहरुले टेष्ट मान्यता पाइसक्दा हामी जहाँको त्यहाँ नै छौँ । यस्तो फ्यान फ्लोइङ अन्य ठाउँमा कहीँ हुँदैन । यस्तो माहोल छ कि बच्चा आफैँ सानैदेखि ब्याट समात्छ । उसलाई कसैले कर गर्नुपर्दैन । त्यस्तो अवस्थामा यसलाई अलिकति व्यवस्थापन गर्न सक्ने हो भने नेपाली क्रिकेटको भविष्य एकदमै सुन्दर छ । अझै पनि केही ढिलो भएको छैन । अझै सबैजना आ—आफ्नो ठाउँबाट  सिरियस हुने बेला आएको छ । राज्य पक्ष, सरकार, क्रिकेट संघहरु र प्राइभेट क्षेत्रबाट सबै जना लगानी गर्न तयार छन् । डीपीएलले नै सेट गरिसक्यो प्राइभेट सेक्टरहरु नेपाली क्रिकेटमा ठूलो लगानी गर्न तयार छन् । त्यसमा आधिकारिक संस्था हुने हो भने अझै ठूलो लगानी आउँछ । सबै मिलेर अगाडि बढ्ने हो भने अझै ढिलो भएको छैन । क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने मात्र होइन, नेपालको पर्यटन विकासमा समेत टेवा पुर्याउनेछ ।

डीपीएलको अवधारणा कसरी आयो ?

आजभन्दा आठ वर्षअगाडि हामीले एसपीए कप —२०१० भन्ने प्रतियोगिता सुरु गर्यो, कलेजस्तरीय टुर्नामेण्ट, त्यहाँदेखि नै हामीले प्रत्येक संस्करणमा केही न केही नयाँ गर्नुपर्छ भनेर अगाडि बढ्यौं र त्यो नयाँ गर्ने सोचले नै हामीले अक्सनको प्रयोग गर्यौँ । डीपीएलमा फ्रेन्चाइजको अवधारणाको प्रयोग गर्यौँ । पुरस्कार राशिमा पनि आकर्षक बनाउन ध्यानमा राख्यौँ । यी सबै कुरालाई बढाउँदै लिने क्रममा अथवा केही नयाँ गर्ने सोचले नै यतिसम्म गर्न भ्याएका हौं । खेललाई व्यावसायिक बनाउनुपर्छ भनेर नै हो । एसपीए कप गर्दा टिममा भएका केही खेलाडीले मात्रै पारिश्रमिक पाउथे । केहीले विना पारिश्रमिक खेल्ने अवस्था हुन्थ्यो । अक्सन गर्दा यसले सबैको पारिश्रमिकता सुनिश्चित गर्ने भयो । क्रिकेटलाई व्यावसायिक बनाउनलाई र नयाँ युगजस्तो सुरु गर्नलाई हामीले अक्सनको प्रयोग गर्यौँ र त्यो सफल प्रयोगमा आयो । जुन रफ्तारमा हामी यसलाई अगाडि बढाइरहेका छौं । त्यसले भोलिका दिनमा खेलाडीले करोडौं कमाउने दिन पनि टाढा छैन ।

डीपीएलको आर्थिक पाटोको व्यवस्थापन कसरी भइरहेको छ ?

यो क्रिकेटलाई हामी इभेन्टभन्दा पनि यसलाई हामी अभियानको रुपमा अगाडि बढाइरहेका छौं । किनभने धनगढीबाट आएर त यतिधेरै गर्न सकिन्छ भने अरुले किन सक्दैनन् भन्ने एउटा उदाहरण पनि हो । खासमा डीपीएल भनेको धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय रंगशाला बनाउनका लागि एउटा दबाबका रुपमा अगाडि बढाउन यो प्रतियोगिता गरिएको हो । अहिले डीपीएलको टिकेट काटेर भए पनि दर्शकहरु हेर्न पुगे । र सानो ठाउँ भएकाले टिकेट काटेर पनि हेर्न पाएनन् । भनेपछि डेफिनेट्ली धनगढीमा फाप्ला मैदान बनाउनुपर्छ भन्ने दबाब हो । र यसलाई हामीले जहिले पनि लगानीका रुपमा लियो । यसलाई घाटा नाफाको कुरा छैन, व्यापार भए न घाटा नाफाको हिसाब राख्ने हो । खेलकुद क्षेत्र भनेकै योगदान गर्ने क्षेत्र हो । राष्ट्रका लागि केही गर्ने क्षेत्र हो क्रिकेट, यसको रिटर्न डेफिनेटली पाएका छौँ ।

धनगढी आज क्रिकेटको सहर भनेर चिनिन्छ । धनगढी र क्रिकेट एउटा पर्यायवाची शब्द बनिसकेको छ । सुदूरपश्चिममा यो टुर्नामेण्ट हुँदा लाखौं करोडौंको व्यापार हुन्छ, होटल व्यवसायदेखि लिएर त्यहाँका पर्यटकीय गन्तव्यहरु व्यस्त  रहन्छन् । यसले हरेक क्षेत्रलाई राम्रो प्रभाव पारेको छ । त्यो रिटर्न हामीले हेर्ने हो । एउटा व्यक्तिले पाउने फाइदा हामीले हेर्ने होइन । समग्रमा समाजले कस्तो फाइदा पाउँछ भन्ने हो र त्यसमा हामीले साँच्चिकै फाइदा पाएका छौँ । र हामी खुसी छौँ । आर्थिक व्यवस्थापन गर्ने कुरामा हामीले थुप्रै स्पोन्सर पाएका छौं । तर, पनि हाम्रो क्रिकेट जहाँ पुग्नुपर्ने त्यहाँभन्दा हामी निकै पछाडि छौं । त्यसले गर्दा पनि हामीले यसलाई ग्रो गर्दै जानुपर्छ । एउटा ठाउँमा राख्यो भने त पक्कै पनि फाइदा नै होला, पैसा पनि आउला तर, त्यसले लङ ग्रोथ हुँदैन । कुनै पनि काम गर्दा खेरी कम्प्रोमाइज गर्नहुँदैन । त्यसका लागि लगानी हुन्छ । धन्यवाद दिन्छु टिमका ओनरहरुलाई जसले एउटा ठूलो दायित्व धानेको छ । टुर्नामेण्टको ठूलो दायित्व धानेको छ । खेलाडीहरुलाई किन्ने पैसाहरुदेखि उनीहरुको व्यवस्थापनमा खर्च गर्छन्, लाखौं करोडौं खर्च गर्छन् टिममा मिलेर । त्यो पनि एउटा महत्वपूर्ण लगानी हो हाम्रो लागि ।

टुर्नामेण्टबाट फाइदा भयो भने ?

यदि यसबाट पैसा बच्छ भने त्यो पनि हामीले क्रिकेटमै लगानी गर्ने हो । हामीले क्रिकेट एकेडेमीका खेलाडीहरुको विदेश भ्रमणमा खर्च गरौंला वा खेलको स्तरोन्नतिका लागि खर्च गर्छौँ । फाप्ला अन्तर्राष्ट्रिय रंगशालाका लागि खर्च गर्छौँ । अहिले पनि क्रिकेटको पैसा फाप्ला क्रिकेट मैदानका लागि टिकटको २० प्रतिशत छुट्याएका छौं । किनकि क्रिकेटले केही पैसा कमिन्छ भने त्यो पनि क्रिकेटमै लगाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।

नेपाल विश्वकप छनौट खेल्न जिम्बाब्बेमा छ, विश्वकपका लागि छनोट हुने सम्भावना कतिको देख्नुहुन्छ ?

एकदम राम्रो सम्भावना छ । हाम्रो खेलाडीहरुको मेन्टालिटी पनि बलियो छ । र जुन क्वालिफाएरमा पुगे, डिभिजन टु जितेर आए, त्यो जुन मुभमेन्ट पाए, त्यसले गर्दा पनि नेपाल कम्तीमा पनि ओडीआई स्टाटस लिएरै आउँछ भन्नेमा विश्वस्त छु ।

तर यता क्यानको विवाद टुंगिएकै छैन, यसले कस्तो असर गर्छ ? 

क्यानको जुन यो विवाद छ । त्यो जतिसक्दो चाँडो अन्त्य हुनुपर्छ । गभर्निङ बडी नै स्ट्रोङ हुनुपर्छ । भोलिका दिनहरुमा यस्ता यस्ता लिगहरु अझ गभर्निङ बडीले गर्ने हो भने पनि त्यो अझै दीर्घकालीन र अथेन्टिक हुन्छ । हामीले क्यान नभएको खण्डमा क्रिकेटलाई बचाइराख्न गरेका हौं । यही इनिसिएसन क्यानले लिन्छ भने हामी सबैभन्दा खुसी हुन्छौँ । किनभने हामीले त एउटा एक्जाम्पल क्रिएट गर्न खोजेको हो । क्यान नभइरहेका बेला सबै जना चुप लागेर त हुँदैन, त्यो बेलामा क्रिकेटलाई गतिमान् बनाउन यो स्पर्धा गरेका हौं । भोलिका दिनमा गभर्निङ बडीले गर्छ भने वा भोलिका दिनमा हामीले क्रिकेट प्रतियोगिता गर्नु नपरोस्, त्यो हाम्रो सफलता हो । क्रिकेट गभर्निङ बडीले इनिसिएसन लेओस् । त्यसपछि हामी पनि अन्य कुरामा ध्यान दिन पाउँछौं । क्रिकेटको संस्थागत विकास हुनुपर्छ भन्नेमा हामी पनि सिरिएस छौं । क्यानको यो विवादको अन्त्य हुनुपर्छ । क्रिकेट एकेडेमीले यति ठूलो कार्यक्रम गर्न सक्छ भने क्यानले नै चाह्यो भने के गर्न सक्दैन भन्नुहोस् त ?

नेपालका युवा स्पिनर सन्दीप लामिछाने आईपीएलमा छानिएका छन्, उनको यात्राले नेपाली क्रिकेटमा कस्तो फाइदा पुर्याउला ?

 सन्दीप लामिछाने ट्यालेन्ट खेलाडी हुन् । जतिखेर सन्दीप लामिछानेलाई क्याम्पा चौरबाट पुवुदु सरले ‘पिक’ गरेका थिए । त्यो टुरमा म पनि सँगै थिए । उहाँ (पुबुदु दासनायके) एकदमै ट्यालेन्ट कोच हुनुहुन्थ्यो । एकै नजरमा प्रतिभालाई चिन्नुहुन्थ्यो । र उहाँले त्यतिबेला नै भन्नुभएको थियो । सन्दीप लामिछाने नेपालको भविष्य हो भनेर उहाँले भन्नुहुन्थ्यो । नभन्दै सन्दीप आईपीएल खेल्ने तयारीमा छन् । उनको छनोटले अब आउने खेलाडीहरुका लागि क्रिकेटमा लाग्ने खेलाडीको के विश्वास हुन्छ भने नेपाली पनि आइपीएल खेल्न सक्छ है भनेर थुपै्र नयाँ आउने खेलाडीका लागि पनि बाटो खोलिदिएका छन् । सन्दीपको आइपीएल यात्राले नेपालको क्रिकेट र नेपालको पहिचानलाई नै नयाँ उचाइमा पुर्याउने विश्वास छ ।

सन्दीपले आइपीएलमा खेल्ने मौका पाउलान् ?

क्रिकेटमा एकदमै ट्यालेन्ट खेलाडी हुन् । डिभिजन टुमा पनि म्यान अफ द सिरिज भएका छन् । उनको खेलमा पनि दिल्ली डेयर डेभिल्सले कन्टिन्युली उसको खेललाई फ्लोअप गरिरहेको थियो । डेफिनेटली उनले चान्स पाउँछन् । पाएको चान्सललाई सदुपयोग गर्छन् भन्ने कुरामा पनि म विश्वस्त छु ।

डीपीएलले सामाजिक आर्थिक क्षेत्रमा कस्तो प्रभाव पार्छ ?

पक्कै पनि डीपीएल ग्राउण्डमा खेलिने खेल मात्र होइन् । यो ग्राउण्ड बाहिरको जुन इम्प्याक्ट छ नि ! जस्तो होटल व्यवसायमा पार्ने इम्प्याक्ट, पर्यटनमा पार्ने इम्प्याक्ट, आर्थिक क्रयाकलापमा पार्ने इम्प्याक्ट, त्यहाँको रोजगारीमा पार्ने इम्प्याक्ट कुनै पनि क्षेत्र बाँकी रहँदैन, जहाँ त्यो प्रतियोगिताले प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव नपारेको । त्यसले गर्दा हाम्रो फोकस अथवा यो अभियान हो र अभियानको फोकस क्रिकेटलाई मात्र अघि बढाउने र अरु क्षेत्रलाई वास्ता नगर्ने भन्ने हुँदैन । हाम्रो सुदूरपश्चिमको, धनगढीको आर्थिक क्रियाकलापलाई पनि चलायमान बनाउने । त्यहाँका पर्यटकीय गन्तव्यहरुको पहिचान बढाउने सँगसँगै डीपीएलले एउटा कनेक्टिभिटी युनाइट गरेको छ, जस्तो भनौं न रुपन्देहीको टिम, विराटनगरको टिम, काठमाडौंको टिम, बाहिरको सहरको टिमहरु सुदूरपश्चिममा आएर खेलिरहेका छन् भने एकअर्काबीच कनेक्टिभिटी गरेको छ । एकअर्काका पहिचान, एउटा सहरको मान्छेको अर्को सहरको मान्छेहरुको पहिचान त्यहाँ एकताको काम पनि गरेको छ । सँगसँगै स्पोन्सरको रुपमा कोही वीरगञ्जमा अवस्थित कम्पनीहरु त कोही पोखरामा रहेका कम्पनीहरु जस्तै पोखराबाट प्याराभिट जान्छ ।

काठमाडौंका ठूला कम्पनीहरु पनि कनेक्ट हुँदाखेरी सबैलाई युनाइट गरेको छ । एक ठाउँमा केन्द्रित गराएको छ डीपीएलले । ठूलठूला कम्पनीहरुको लगानी पनि सुदूरपश्चिममा भित्र्याएको छ । यसले समाजमा ठूलो इम्प्याक्ट पारेको छ । यो एउटा उदाहरण मात्र हो । यो धनगढी क्रिकेट एकेडेमीले गरेको इनिसिएसिङ हो । यही कुरालाई अझै ठूलो हामी गर्न सक्छौँ । अहिले हामीले अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानको कुरा गरिरहेका छौं । त्यसलाई हामीले न्युट्रल भेन्यू बनाउनुपर्छ भनेर भनेका छौं । पाकिस्तान र इन्डियाको न्युट्रल भेन्यु बनाउन सक्छौं । किनभने आज पाकिस्तान र इन्डिया दुवैमा गएर खेल्दाखेरी त्यहाँ क्राउड हँुदैन । तर, नेपालमा त क्राउड छ नि, हाम्रो स्टन्ट भनेको त्यो हो । हामीसँग क्राउड छ । पाँच सय हजार रुपैयाँको टिकेट काटेर पनि हेर्न सक्छ । भनेपछि भोलि त्यो गेम नेपालमा हुने हो भने पनि र नेपालमा अन्तर्राष्ट्रिय खेलहरु फाप्लामा भोलि गराउने ट्राइ गर्छौं । त्यो भएपछि हामीलाई अर्बौँको इम्प्याक्ट छ । करोडौं रुपैयाँ त हैन, गेट मनिबाट मात्र हुन्छ भनेपछि अप्रत्यक्ष हजारौं रोजगारी यसले सृजना गर्छ । र पर्यटकीय क्षेत्रमा भ्रमण गर्नेहरुको संख्या पनि बढ्दै जान्छ र सुदूरपश्चिममा यस्ता इभेन्टहरु हुन जरुरी छ । र नेपाललाई नै क्रिकेटले व्यावसायिक नयाँ उचाइमा पुर्याउन सक्छ ।

अन्त्यमा, स्थानीय क्रिकेट खेलाडीको प्रवद्र्धनका लागि के गरिरहनुभएको छ ?

हाम्रो क्रिकेट एकेडेमीको उद्देश्य नै हामीले डीपीएल त गर्छौं गर्छौं डीपीएल त प्लेटफर्म हो । सँगसँगै रेगुलर ट्रेनिङ गराउँछौँ । क्रिकेट एकेडेमीले आजभन्दा चार वर्ष अगाडिदेखि नै नियमित बिहान बेलुका प्रशिक्षण गराउँछौँ । भर्खर मात्रै हाम्रो उत्पादन यु—१६ टिमलाई सुवास ऐर र नारायण जोशीको रुपमा दिन सफल भयौं । उनीहरु अहिले डीपीएलमा पनि खेल्न छनोट भएका छन् । त्यसले गर्दा एकेडेमीले थुप्रै खेलाडी जन्माएको छ । विगतमा पनि र एकेडेमीले गरेको डीपीएलजस्तो प्रतियोगिता र एसपीए कप जसलाई सुदूरपश्चिमाञ्चल क्याम्पसले आयोजना गरे । त्यो प्रतियोगिताबाट थुप्रै खेलाडीहरुले प्लेटफर्म पाए । र आफूलाई लाइमलाइटमा ल्याउन सफल भएर नेपाली टिममा छनोट भएका हुन् । त्यसले गर्दा हामी सबैभन्दा खुसी तब हुन्छौँ, जब हाम्रो एकेडेमीबाट आएका खेलाडीले राष्ट्रिय टिमको जर्सी लगाउँछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै