• २०८१ बैशाख ७ शुक्रबार

प्रदेश नं ७ को धनगढीमा अपराध अनुसन्धानका लागि कुकुर शाखा

kharibot

तस्बिर : रासस

धनगढी । कानून विपरीतका अवाञ्छित एवं आपराधिक काम कसैले गरिरहनुभएको छ भने सावधान रहनुहोला । 

किनकि अपराधको अनुसन्धान गरी अपराधी पत्ता लगाउन प्रदेश नं ७ को राजधानी धनगढीमा पहिलो पटक आजबाट तालीम प्राप्त कुकुर शाखा ‘डग केनेल’ सञ्चालनमा ल्याइएको छ । सो शाखामा व्यवस्था गरिएका चारवटा तालीम प्राप्त कुकुर अबदेखि अपराध अनुसन्धानमा प्रयोग गर्न लागिएको छ । 

संघीय प्रहरी एकाइ कार्यालय धनगढीको परिसरमा सञ्चालनमा आएको नवनिर्मित कुकुर शाखा भवनको आज प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले उद्घाटन गर्नुभयो । छ वटा कुकुरको बासस्थानसहित नौवटा कोठा रहेको उक्त एक तले कुकुर शाखा भवन रु ५९ लाख २१ हजारको लागतमा निर्माण भएको हो । 

विष्फोटक पदार्थ कसले र कहाँ राखिएको छ भन्ने पत्ता लगाउन कुकुर शाखामा जर्मन सेफर्ड जातको पोथी कुकुरको व्यवस्था गरिएको छ । यसको बोलाउने नाम ‘झुपा’ राखिएको छ । बोलाउने नाम ‘फुच्चे’ रहेको ल्याकाडोर जातको भाले कुकुर लागूऔषधको अनुसन्धान गर्नमा प्रयोग हुन लागेको छ । 

यस्तै, बोलाउने नाम ‘तुफान’ रहेको जर्मन सेफर्ड जातको अर्को पोथी कुकुर ‘ट्र्याकर’ (बाटो देखाउने) काममा प्रयोग हुन लागेको छ भने ‘राजा’ बोलाउने नाम दिइएको ल्याब्राडोर जातको भाले कुकुर पनि विष्फोटक पदार्थको अनुसन्धान गर्न प्रयोग हुन लागेको छ । 

कुकुर शाखामा यी तालीम प्राप्त कुकुरको व्यवस्था भएबाट प्रदेश नं ७ मा बेलाबखत हुने आपराधिक घटनाको अनुसन्धान गरी अपराध नियन्त्रणमा टेवा पुग्ने प्रहरी अधिकारीहरु बताउँछन् । 

“सल्यानमा दुई वर्षअघि आमाछोरीसहित महिलालाई बलात्कारपछि हत्या गरिएको घटनामा नेपालगञ्जबाट मगाइएको तालीमप्राप्त ‘भुन्टी’ कुकुरले घटनाको दुई दिनपछि अपराधी पत्ता लगाएको थियो,” प्रदेश नं ७ का प्रहरी अतिरिक्त महानिरीक्षक नेपालले भन्नुभयो, “लागूऔषधको कारोबारी, चोरी डकैती गर्ने, हत्यारा पत्ता लगाउने, भिआइपीहरुको सुरक्षा प्रबन्धलगायतका कामका लागि तालीमप्राप्त कुकुर निकै सहयोगी देखिएका छन् ।” 

प्रदेश नं ७ मा अन्य घटनाका तुलनामा लागुऔषध कारोबारीका घटना बढ्दै गएको पाइएको छ । भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै लागुऔषधको कारोबार गर्नेहरु बढ्दै गए पनि यसको कारोबार पूर्णरुपमा रोकथाम हुन सकिरहेको छैन ।

कुकुर शाखाका प्रमुख प्रहरी सहायक निरीक्षक मदन गुरुङ कुकुरले आफूसँग रहेको सुँघ्न सक्ने र सुन्न सक्ने क्षमताका आधारमा अपराधी पत्ता लगाउने गरेको बताउनुहुन्छ । घरपरिवारको सुरक्षाका लागि निकै आज्ञाकारी मानिने कुकुरको हिन्दू परम्पराअनुसार तिहार पर्वका बेला माला र टीका लगाएर ‘कुकुर तिहार’ समेत मनाइन्छ । 

विगत १६ वर्षदेखि तालीम प्राप्त कुकुरको प्रयोग गरी अपराध अनुसन्धानमा संलग्न रहँदै आउनुभएका गुरुङले भन्नुभयो, “मानिसको भन्दा कुकुरमा सुँघ्न सक्ने क्षमता ५० गुणा, सुन्न सक्ने क्षमता २० गुणा र देख्न सक्ने क्षमता छ गुण बढी हुने हुँदा तालीमप्राप्त कुकुरको प्रयोगमार्फत अपराधी पत्ता लगाउन सहज हुने गरेको छ ।” 

यी कुकुरलाई अपराधी पत्ता लगाउने काममा प्रयोग गर्नुअघि शुरुमा ४५ दिने आज्ञाकारी तालीम दिएर दक्ष बनाइन्छ । त्यसपछि विषयगत तालीम दिनुपर्ने हुन्छ । एउटा कुकुरलाई आफ्नो क्षेत्रमा दक्ष बनाउन दुई वर्षभन्दा बढी समय लाग्ने गरेको अनुभव गुरुङले सुनाउनुभयो । 

‘ट्र्याकर‘ (बाटो देखाएर अपराधीसम्म पुग्ने काम)मा प्रयोग गरिने कुकुरलाई तीन महिने तालीम दिनुपर्ने हुन्छ । ‘ब्लड हण्ड’ जातको कुकुरमा अन्य जातका कुकुरको तुलनामा बढी सुँघ्ने र सुन्ने क्षमता हुन्छ । नेपालमा यो जातको कुकुर पहिलो पटक अमेरिकाबाट भित्र्याएर हाल तालीम दिने काम भइरहेको बताइको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै