• २०८१ बैशाख ८ शनिबार

के हो सिरिया संकट ? के चाहन्छन् रुस र अमेरिका ? 

kharibot

काठमाडौं । सिरियामा आन्तरिक कलह सुरु भएयता लाखौँ मानिसले ज्यान गुमाइसकेका छन् । गत दुई हप्ताको अवधिमा मात्रै सयभन्दा बढी अबोध बालबालिका रुसी समर्थन रहेको सिरियाली सरकारको निशानामा परे । 

उक्त हवाई आक्रमणमा सत्ता विद्रोही इलाका गुटा भन्ने स्थानमा मात्रै बालबालिकासहित पाँच सयभन्दा बढी सिरियाली नागरिक मारिएका एजेन्सीहरुले उल्लेख गरेका छन् ।आक्रमणका फुटेजहरु अहिले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा भाइरल बनेका छन्, जसले विश्वकै ध्यान आकृष्ट मात्रै गरेको छैन, रुस र सिरियाको चर्कै आलोचना समेत भएको छ । 

आक्रमण लगत्तै राष्ट्रसंघीय सुरक्षा परिषद्मा सिरिया संकटबारे छलफल भयो र अमेरिका लगायत पश्चिमा देशहरुले तत्काल युद्धविरामको माग गरे पनि रुसले अटेर गर्यो तर गत शनिबार अन्ततः परिषद्ले ३० दिने युद्धविराम प्रस्ताव पारित गर्न सफल भयो । त्यसका बाबजुद सिरियाली सेनाले विद्रोहीनियन्त्रित इलाकामा आक्रमण गर्न छोडेको छैन । चर्को आलोचना अन्तर्राष्ट्रिय समुदायबाट खेपेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा दैनिक पाँच घण्टा आक्रमण नगर्न र प्रभावित इलाकाबाट मानिसहरुलाई बाहिर आउन दिन निर्देशन दिएका छन् । 

कसरी चर्कियो सिरियामा आन्तरिक कलह ? 

सिरियामा विगत ६ वर्षे अन्तरालमा थुप्रै समूहहरु विभिन्न स्थान कब्जा गर्न उदाएका छन् । सिरियाको मुख्य कलह वर्तमान राष्ट्रपति बसार अल असाद र उनलाई समर्थन गर्ने सरकारी सेना, विद्रोही समूहहरु जो बसर अल असादलाई सत्ताच्यूत गर्न चाहन्छन्, र आफूलाई इस्लामिक स्टेट भनेर चिनाउने समूह जसलाई छोटकरीमा आईएस भनिन्छ, यी तीन शक्तिहरुबीचको शक्ति हत्याउने खेल नै सिरियाली संकटको प्रारम्भ थियो । यसमा पनि आईएसले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेको थियो । खासगरी सन् २०११ मा डेरा भन्ने सिरियाली सहरबाट सिरियामा संकट सुरु भएको हो ।

एजेन्सीहरुका अनुसार १५ जना स्कुले बालबालिकालाई ‘टर्चर्ड’ दिएको विरोधमा स्थानीयबासीले सिरियाली सरकारको विरोध सुरु गरेका थिए । उक्त विरोध शान्तिपूर्ण रुपमा थुनामा लिइएका बालबालिका छुटाउन गरिएको थियो । उक्त विरोधमा बालबालिकाको रिहाइ, प्रजातान्त्रिक व्यवस्था र स्वतन्त्रताको माग उठ्न थाल्यो । सोही क्रममा सन् २०११ मार्च १८ मा सरकारी सेनाले शान्तिपूर्ण विरोध गर्नेमाथि गोली चलाउँदा चार जनाको मृत्यु भयो । अर्को दिन मृतकको दाहसंस्कारकै क्रममा पुनः भेला भएकामाथि गोली चलाइयो र अर्का एकको मृत्यु भयो । र, एकपछि अर्को गोलीकाण्ड सुरु भएपछि देशैभर विद्रोहको ज्वारभाटा फैलियो ।

सुरुवाती अवस्थामा प्रदर्शनकारीले प्रजातन्त्र र स्वतन्त्रताको मात्रै कुरा उठाएकामा अब बसर अल असादको सत्ता बहिर्गमन आन्दोलनकारीको मुख्य माग बन्यो, जुन आजसम्म पूरा भएको छैन । त्यतिबेला असादको पक्षमा देशमा थुप्रै समर्थक थिए, सोही कारण आफ्ना विरोधीमाथि असाद निर्मम हुन पुगे । त्यसपछि असादको राजीनामा माग्नेमा सिरियाबाट देशनिष्काशनमा परेकादेखि उनलाई मन नपराउने समूह, राजनीतिक दलसम्म देखा परे ।

सिरियामा असादलाई सत्ताच्यूत गराउन माग गर्नेमा १ हजारभन्दा बढी समूह रहेको विश्वास गरिएको छ । उक्त समूहसँग एक लाखको संख्यामा सशस्त्र लडाकुहरु समेत रहेको मानिएको छ । 

आईएसको आगमन र पतन

जसै असादविरुद्ध देशव्यापी विरोध सुरु भयो, सिरिया र इराकमा उदाउँदै गरेको तथाकथित इस्लामिक स्टेटले असाद विरोधी मागलाई आफ्नो पनि माग बनायो र असाद सरकारविरुद्ध सशस्त्र युद्ध थाल्यो । आईएस धार्मिक चरमपन्थी अतिवादीहरुको समूह थियो, आफ्ना विरोधी जोकोहीलाई हत्या गर्ने नीतिका कारण छोटै समयमा यसको प्रभाव बढ्न पुगेको थियो । आईएसले आफूविरोधी समूहहरु क्रिश्चियन तथा यिजिदिसलगायतविरुद्ध समेत नरसंहार गर्नथाल्यो ।

सन् २०१४ मा इराकको ठूलो भूभाग कब्जा गरेपछि इस्लामिक साम्राज्य बनाउनेभन्दै आईएस सिरिया पसेको थियो । सोही वर्ष सिरियाको राक्वा भन्ने सहर आईएसले कब्जा गरेको थियो भने त्यसपछि क्रमशः आफ्नो कब्जालाई विस्तारित गर्ने क्रममा एलेप्पो तथा टर्कीसँगको सिरियाली सीमा क्षेत्र पनि आईएसकै कब्जामा पुगेको थियो । तर अर्को रोचक कुरा सिरियाली संघर्षमा आईएसको उदयपछि सिरियाली सत्ता र विद्रोही पक्षले आआफ्नो कारबाही एकआपसमा हातेमालो नगरी आईएसविरुद्ध अगाडि बढाएका थिए ।

आईएसलाई रोक्न सन् २०१४ मा इराकमा अमेरिकाले हवाई आक्रमण गर्यो भने सिरियामा आईएसविरुद्धको सैन्य कारबाहीमा बेलायत पनि सहभागी भयो । ५० लाखभन्दा बढी सिरियाली विस्थापित हुन बाध्य भए । धेरै सिरियालीहरु छिमेकी देश जोर्डन, इराक, लेबनान र टर्कीमा पुगे । सिरिया संकटकै कारण विश्वमा शरणार्थी समस्या बढेर गयो । 

तर सिरियाली कुर्दिस र अरब लडाकुहरुलाई अमेरिकाले बलियो साथ दिएपछि भने आईएसले राक्वा सहर गुमाउन बाध्य भयो । राक्वा आईएसको मुख्यालय जस्तै थियो, जहाँ आईएसले ३ वर्ष शासन गर्यो । यता सिरियाली सेनाले पनि आईएसविरुद्ध आक्रमण गरिरहेको थियो, फलतः पूर्वी सिरियाली सहर डेर अल जुर आफ्नो नियन्त्रणमा लिन सफल भयो । योसँगै आईएसको पतन सुरु भयो ।

को हुन् असाद ? 

बसर अल असाद हाफिज अल असादका छोरा हुन् । हाफिजले सन् १९७० मा रक्तपातविहीन सैन्य विद्रोहमार्फत शक्ति हत्याएका थिए । सीएनएनका अनुसार हाफिजले २९ वर्ष लामो समय शक्ति आफ्नो हातमा लिने क्रममा सिरियाली जनजीवन र राजनीतिमा गहिरो प्रभाव पर्यो । जेठा छोराको कार दुर्घटनामा मृत्युपछि हाफिजले अहिलेका राष्ट्रपति बसार अल असादलाई आफ्नो उत्तराधिकारी चयन गरेका थिए । सन् २००० मा हाफिजको मृत्युपछि सिरियाली सत्ताशक्तिमा बसारको आगमन भयो । निरंकुश सत्ता भए पनि सिरियाली सरकारले पश्चिमा देशसँग कूटनीतिक र राजनीतिक सम्बन्ध राख्दै आएको थियो । तर ६ वर्षअघि सुरु भएको आन्तरिक कलहपछि ती सम्बन्धहरु धरापमा परेका छन् । विद्रोहीको माग नै आफ्नो राजीनामा हुनु र आईएसले सिरियाली भूभाग कब्जा गर्दै जाँदा असाद दबाबमा परे । विद्रोही दबाउन उनले शंकास्पद केमिकल आक्रमण समेत गर्दै आएको आरोप लागेको थियो ।

सन् २०१३ अगष्टमा केमिकल आक्रमण गरेपछि असादविरुद्ध विश्व आक्रोशित भयो । तर न उनले, न त उनका विरोधीले नै त्यसको जिम्मा लिए । सोलगत्तै अमेरिका र फ्रान्सले सिरियाली सेनाविरुद्ध सीमित आक्रमण गर्ने भएपछि रुस मिसिन आइपुग्यो र सेप्टेम्बरमा सिरियाली सरकारसँग भएका केमिकल हतियार नष्ट गर्ने सहमति बन्यो र अक्टोबारबाट नष्ट गर्ने काम पनि सुरु भयो । तर पुनः सन् २०१७ अप्रिलमा सिरियाली सेनाले शंकास्पद केमिकल आक्रमण गर्यो । विभत्स रुपमा अबोध बालबालिकाहरु सिरियाली सेनाको केमिकल आक्रमणमा परेपछि अमेरिकाले सिरियाली सेनाको हवाई अड्डामा मिसाइल आक्रमण गर्यो, जसलाई बेलायतले समेत समर्थन गरेको थियो । 

असाद किन सत्ता छोड्न मान्दैनन् ? 

बसर अल असादविरुद्ध लगभग विश्व लाग्दा समेत सिरियाली राष्ट्रपति पद त्याग्न असादले मानिरहेका छैनन् । किनकि उनलाई काँध थापेर रुस बसेको छ । असाद रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी हुन् । असादलाई जोगाउने निहुँमा मध्यपूर्वमा रुसले आफ्ना सैन्य गतिविधिमात्रै बढाएको छैन, पश्चिमा देशहरु अमेरिका र यसलाई साथ दिइरहेकाहरुको समेत टाउको दुखाएको छ । अमेरिका र ऊ पक्षका राष्ट्रहरु असादले सत्ता छोडे सिरियाली संकट समाधानको कोसेढुंगा हुने देखिरहेका छन्, तर रुसले राष्ट्रसंघमा समेत असादविरुद्धका कुनै पनि निर्णयमा भिटो लगाउँदै आएको छ । आईएसको पतनमा असादलाई साथ दिँदै रुसले सिरियाली भूमिमा असंख्य बमबारी गरेर फर्किने घोषणा गरेको थियो तर पुनः अहिलेसम्मकै उन्नत लडाकु जेट रुसले सिरियामा पठाएको छ । सिरियाले रुसबाट प्रत्यक्ष सैन्य सहयोग प्राप्त गर्दै आएको छ । 

बाह्य हस्तक्षेप :

सिरियाली संकटमा अमेरिका, रुस, इजरायल, इरान, टर्की, बेलायत, फ्रान्स, जर्मनी मुख्य रुपमा संलग्न देखिए पनि चीन, साउदी अरेयिबा, जोर्डन, कतार, दुवई लगायतका देशहरु पनि अप्रत्यक्ष रुपमा संलग्न रहेका छन् । मुख्य गरी रुस र अमेरिका सिरियाली संकटमा राजनीतिक तथा सैनिक उपस्थितिमै संलग्न छन् । अमेरिका असादको बहिर्गमनको पक्षमा भए पनि रुस त्यसविपरीत असादको पक्षमा उभिँदा सिरियाली संकटले समाधानको दिशा पाउनसकेको छैन । विद्रोही तह लगाउने निहुँमा असादले गर्ने केमिकल आक्रमणलाई निहुँ बनाएर अमेरिका सिरियामा अस्तित्व देखाइरहेको छ भने रुस विद्रोहीले आफ्नो सहयोगी सत्ताविरुद्र धावा बोलेको भन्दै हरतरहको सहयोग असादलाई गरिरहेको छ । सोही कारण रुस भर्सेज अमेरिका, इजराइल भर्सेज इरान, टर्की भर्सेज सिरिया सरकार भर्सेज सिरियाली कुर्दिस समेत बीच आआफ्नै स्वार्थको लडाइँ छ ।

सिरियामा इरानी प्रभाव घटाउन अमेरिकी उपस्थिति रहेको छ भने इजरायलले पनि यसमा अमेरिकालाई साथ दिइरहेको छ । खासगरी इजरायल, इजिप्ट, साउदी अरेबिया र यमनको सरकारपक्ष अमेरिकाको पक्षमा रहँदा रुस, इरान, सिरियाली सत्तापक्ष, यमनी विपक्षलगायतकाहरुको स्वार्थ अमेरिकी प्रभाव घटाउने र विद्रोहीलाई दबाउनेतिर रहेको छ भने मुख्य भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रसंघ कमजोर भूमिकामा देखिन्छ । 

चार लाख बढी सिरियालीको मृत्यु 

आन्तरिक कलह भयावह बन्दै जाँदा सिरियामा चार लाखभन्दा बढी नागरिकले मृत्युवरण गरिसकेका छन् भने झण्डै आधाआधी जनसंख्याले घरबार छोडेर विस्थापित हुनुपरेको छ । छोटो समयमा यति धेरै जनसंख्याको हताहती हुनु त छँदै छ, सोही कारण लाखौँ सिरियाली बालबालिकाको भविष्यमाथि नै प्रश्न उठेको छ । कैयौँ घाइतेहरु उपचारको पर्खाइमा छन् भने संयुक्त राष्ट्रसंघले समेत सिरियाली भूमिमा खुलेर सहयोग गर्न सकेको छैन । अर्बौँको भौतिक संरचनाहरु विष्फोट र हवाई कारबाहीका नाममा गरिने बमबारीले तहसनहस भएका छन् । 

समाधान के त ? 

समाधानको प्रारम्भ विन्दु नै असादको सत्ता त्याग हो । यही कुरालाई पश्चिमा राष्ट्रमात्र नभई संयुक्त राष्ट्रसंघले समेत जोड दिएको छ । यसका लागि रुसले असादलाई साथ दिन छोड्नुपर्छ भने अन्य बाह्य मुलुकहरु पछि फर्किनुपर्छ खास गरी अमेरिका । आईएसविरुद्ध कुर्दिस लडाकुलाई सहयोग गरेको अमेरिका सिरियाको अफ्रिनमा सैन्य बेससहित बसेको छ । तर टर्कीमा कुर्दिसहरु विद्रोही मानिन्छन्, सीमा जोडिएको सिरियामा रहेका कुर्दिसलाई अमेरिकाले सघाउनु टर्कीको लागि टाउको दुःखाइ बनेको छ किनकि टर्कीका कुर्दिससँगको सिरियाली कुर्दिसको सम्बन्धलाई टर्कीले आफ्नो प्रमुख शत्रु ठानेको कारण उसले सिरियाली भूमिमै पसेर कुर्दिसविरुद्ध लडिरहेको छ ।

यस्तो अवस्थामा राष्ट्रसंघको ठोस पहल र भूमिका अनिवार्यजस्तै छ भने सिरियाली भूमिबाट रुस र अमेरिका पनि ब्याक हुनुपर्छ । नभए रुसले असादको पक्ष लिइरहने, सोही बहानामा असादले विपक्षीलाई मारिरहने र त्यसलाई रोक्न अमेरिकाले विद्रोहीलाई साथ दिइरहने हुँदा यो समाधानभन्दा झन् जटिल हुने देखिन्छ । मध्यपूर्वमा आफ्नो प्रभाव बढाउने नाउँमा सिरियाली संकटमा सहभागी भएका अमेरिका र रुस तथा अन्य अप्रत्यक्ष सहभागी बाह्य मुलुकहरुलाई रोक्न राष्ट्रसंघको भूमिका टड्कारो देखिन्छ । 

बीबीसी, सीएनएनलगायत अन्तर्राष्ट्रिय मिडियाहरुको सहयोगमा ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै