• २०८१ बैशाख ६ बिहीबार

अटोरिक्साले परिवारमा ल्याएको खुशी 

kharibot

फाइल तस्बिर

भीमदत्तनगर । कमजोर आर्थिक अवस्थाका कारण १२ वर्षकै उमेरमा पढाइ छाडेर भारतको राजधानी नयाँ दिल्लीमा दुई दशकसम्म मजदुरी गरेका जयलाल लुहार हिजोआज महेन्द्रनगरमै अटोरिक्सा चलाएर आम्दानी गर्न थालेका छन् । 

कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ वनकट्टीका ३५ वर्षीय लुहारले अटोरिक्सा चलाएर आम्दानी गरेसँगै उनको परिवारमा खुशी छाएको छ । 
दैनिक अटोरिक्सा चलाएर उनले दैनिक रु एक हजार दुई सयदेखि रु एक हजार चार सयसम्म आम्दानी गर्दैआएका छन् । 

‘बीस वर्ष भारतमा काठ मिस्त्रीको काम गरेर घरखर्च चलाए,’ उनले भने – ‘परिवार अलपत्र पारेर विदेशिनुभन्दा यतै रिक्सा चलाउँदा ठिक लाग्यो ।’ आफूसित वनकट्टीमा भएको एक कठ्ठा जग्गाको पूर्जा सहकारीमा धितो राखेर उनले रु पाँच लाख ५० हजारमा अटोरिक्सा खरिद गरेका हुन् । 

‘भारतको जागिर छाडेर यहाँ आएको तीन महिना भयो,’ लुहारले भने –‘घरमै बसेर आयआर्जन गर्दा छोराछोरीदेखि श्रीमतीसम्म खुशी छन् ।’ परिवारका सदस्यलाई पनि आफू घरमा रहँदा भरोसा हुने उनी बताउँछन् । उनले भने – ‘शुरुका दुई वर्ष भारतमा निःशुल्क काम गरेँ ।’

रोजगारीका लागि तेस्रो मुलुक जाने सोचमा रहनुभएका लुहार महेन्द्रनगर बजारमा केही समययता सञ्चालनमा आएका अटोरिक्साले आफ्नो ध्यान तानेको बताउँछन् । दैनिक उनी सात किलोमिटर पार गरेर अटोरिक्सा चलाउन महेन्द्रनगर बजार पुग्छन् । उनकी श्रीमती मोहनाले श्रीमानले स्वदेशमै मजदुरी गर्दा खुशी लागेको बताइन । 

‘घरआँगनमै आम्दानी गर्न सकिएपछि छोराछोरी निकै खुशी छन्,’ उनले भने– ‘बीस वर्षपछि परिवारसित सुखदुःख साँटेर बस्न पाइएको छ, अटोरिक्साले परिवारमा खुशी ल्याएको छ ।’ 

त्यसैगरी, स्नातक तहको अध्ययन छाडेर ई–रिक्सा चलाउँदै आएका बेदकोट नगरपालिकाका सञ्जय राना रिक्साको आम्दानीबाट सन्तुष्ट छन् । ‘खर्च कटाएर दैनिक रु सात÷आठ सय जोगिन्छ,’ उनले भने – ‘कमाएको पैसाबाट रिक्साको ऋण तिर्दैछु ।’ राना विगत एक वर्षदेखि ई–रिक्सा चलाउँदै आएको छन् । 

पछिल्लो समय महेन्द्रनगरमा ई–रिक्सा रोजगारीको मुख्य आकर्षण बनेको छ । ‘पढेर पनि यहाँ रोजगारी पाउन कठिन छ,” रानाले भन्नुभयो–“ऋण काडेर भए पनि सानोतिनो व्यवसाय गर्नुको विकल्प छैन ।’ उनले पछिल्लो समय आफूजस्तै बेरोजगार युवा रिक्सा चलाएर आम्दानी गरिरहेको बताए । 

पुरुष मात्र होइा महिलाले समेत अटो÷ई रिक्सा चलाएर आम्दानी गर्दैआएका छन् । बरोजगार युवायुवतीका लागि ई–रिक्सा रोजगारीको भरपर्दो माध्यम बनेको छ । डेढ वर्षदेखि महेन्द्रनगरमा अटोरिक्सा चलाउँदै आएका भीमदत्त नगरपालिका–७ हल्दुखालका वीरेन्द्र भट्टले दैनिक आम्दानीबाट परिवारको खर्च चलाउँदै आएको बताए । 

अटोरिक्सा चलाउनुअघि ठेलाको व्यापार गर्दै आएका भट्टले हाल रिक्साबाट दैनिक रु आठ सयदेखि रु एक हजार ५०० सम्म आम्दानी गरिरहेका छन् । उनले भने – ‘अटोरिक्साको कमाइले नै घरपरिवारको खर्च धानिएको छ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै