• २०८१ बैशाख १२ बुधबार

बाग्लुङको ठूलाताल बन्यो फुटबल मैदान

kharibot

बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित ठूलाताल अहिले सुकेर फुटबल मैदानमा परिणत भएको छ । 

मैदानलाई हालै स्तरोन्नति गरी फुटबल खेलका लागि न्यूनतम मापदण्डमा पुर्याइएको छ । यो वर्ष बागलुङ नगरपालिकाले छुट्याएको रु १० लाखको बजेटबाट मैदान चौडा गर्ने, सतह मिलाउनेलगायतका काम सम्पन्न गरिएको छ । फुटबल मैदानलाई जोड्ने मोटरबाटो पनि विस्तार गरिएको वडाध्यक्ष प्रेमबहादुर थापाले बताए । 

मैदानलाई फुटबलको अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउन अझै पूर्वाधार निर्माणको काम बाँकी रहेको उनको भनाइ छ । पर्यटकीय गाउँमा रहेको फुटबल मैदानले खेल पर्यटनलाई पनि बढावा दिने विश्वास लिइएको छ ।

‘पहिले यहाँ ठूलो ताल थियो, अहिले यो खेल मैदानमा परिणत भयो,’ वडाध्यक्ष थापाले भने । ताल सुकेपछि शुरुमा स्थानीय आमा समूहले रु ४० हजार खर्चेर मैदान सम्याउने काम गरेको थियो । 

मैदानको स्तर सुधार भएसँगै बागलुङमा हालै भएको ‘मेयरकप फुटबल’ प्रतियोगिताको एउटा खेल सोही मैदानमा खेलाइएको थियो । त्यति ठूलो प्रतियोगिताको खेल पहिलो पटक त्यहाँ सञ्चालन गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष धनबहादुर परियारले बताए । उनले बागलुङ नगरपालिका–१ को बाङ्गेचौर खेल मैदानको विकल्पका रुपमा ठूलाताल खैल मैदान विकास भएको उल्लेख गरे । 

‘खेलकूदको विकासका लागि नगरपालिकाले राम्रो कदम उठाएको छ,’ उनले भने, ‘प्रतियोगितासँगै खेल पूर्वाधारको क्षेत्रमा पनि आशालाग्दो काम भइरहेको छ ।’

नगरपालिकाले पहिलो पटक ग्रामीण भेगमा रहेको खेल मैदानलाई ठूलो बजेट विनियोजन गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । समयमै मैदानको स्तरवृद्धि भएका कारण मेयरकप फुटबलको खेल ठूलाताल खेल मैदानमा राख्न सम्भव भएको उनको भनाइ छ । 

‘प्रतियोगिता सञ्चालनले राम्रो सन्देश गएको छ, पर्यटकीय गाउँमा भएको भएर पनि उक्त खेल मैदानको महत्व छ,’ प्रमुख पौडेलले भने, ‘थप योजना बनाएर मैदानलाई पूर्वाधारयुक्त बनाउँछौं ।’

मैदानलाई सदरमुकामसँग जोड्ने बाटोको पनि स्तरवृद्धि भएपछि अहिले सवारी आवतजावत पनि सहज बनेको छ । व्यावसायिक खेलको प्रवद्र्धन र खेलाडी उत्पादनका लागि खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै