• २०८१ बैशाख १३ बिहीबार

तपाईं हामी पनि उत्तिकै दोषी छौँ !

kharibot

‘अधिकार र कर्तव्य एकै सिक्काका दुई पाटा हुन्’ यो वाक्यांश सानैमा विद्यालय जीवनमै पढेको कुरा हो । कैयौँचोटि यसै विषयमा भाषण पनि गरियो होला । कैयौँचोटि लेखियो होला । शब्दको कुरा गर्दा बोलाइमा होस् वा लेखाइमा सम्भवतः यी दुई शब्दहरू कहिल्यै छुट्टिएर रहँदैनन् । 

एकपछि अर्को स्वतः आउने गर्दछ । हाम्रो इतिहास केलाएर हेर्ने हो भने हामीले अधिकार प्राप्तिका थुप्रै लडाइँहरु लड्यौँ । थुप्रै आन्दोलनहरु गर्यौँ । आजको दिनसम्म जति चोटि पनि संघर्ष गर्यौँ, अधिकारप्राप्तिको निम्ति मात्रै धेरै गर्यौँ । या भनौँ आफ्नो अधिकारको खोजी गर्नको निम्ति हामी सचेत भइसक्यौँ, अभ्यस्त भइसक्यौँ । अहिलेसम्म हामीले थुप्रै अधिकारहरू प्राप्त पनि गर्यौँ । तर योसँगै रहेको कर्तव्यको पाटो धेरै पछाडि छुटेको भने कहिल्यै विचार गरेनौँ । कर्तव्यविहीन अधिकारको शयर गरिरहँदा दायित्व र आफ्नो भूमिका निर्वाहको चेत उहिल्यै ढलेको पत्तो पाउनसकेनौं । परिणामस्वरुप न आज हामीले गर्नुपर्ने उपलब्धि हासिल गर्नसक्यौँ, न त प्राप्त अधिकारहरुलाई अनुभूति नै गर्नसक्यौँ । अर्कोतर्फ देश, समाज र नेतृत्वप्रति गुनासो मात्रै गर्ने र आफू कर्तव्यबाट पन्छिने संस्कृतिका शिकार हुनपुग्यौँ र हामीमा नकारात्मकताले स्थान जमायो । 

‘हाम्रो देशमा केही हुनेवाला छैन’, ‘सबै उस्तै हुन् कसैले केही गर्दैन’, ‘फलानो खत्तम छ’, ‘उसले यसो गर्नुपथ्र्यो’, ‘सरकारले केही गरेन’ आदि आदि । यी आरोपित वाक्यहरु हामी नेपालीहरूको जनजिब्रोमा प्रायः झुण्डिरहने शब्दहरू हुन् । अर्थात् भनौँ यी हाम्रो देशका ‘राष्ट्रिय’ शब्दहरू नै भइसकेका छन् । 

‘हाम्रो देशमा केही हुनेवाला छैन’, ‘सबै उस्तै हुन् कसैले केही गर्दैन’, ‘फलानो खत्तम छ’, ‘उसले यसो गर्नुपथ्र्यो’, ‘सरकारले केही गरेन’ आदि आदि । यी आरोपित वाक्यहरु हामी नेपालीहरूको जनजिब्रोमा प्रायः झुण्डिरहने शब्दहरू हुन् । अर्थात् भनौँ यी हाम्रो देशका ‘राष्ट्रिय’ शब्दहरू नै भइसकेका छन् । 

पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्मका आम नेपालीहरूले प्रयोग गरिरहने शब्दहरू यस्तै प्रकृतिका हुन्छन् । हाम्रो हरेक दिन गुनासाहरूबाट गुज्रिने गर्दछ । हामीले प्रत्येक दिन देशका प्रधानमन्त्रीदेखि हामीले चिनेजानेकासम्मको मूल्याङ्कन गरेर भ्याउँछौँ । तर आफ्नो र आफूले गर्ने कामको मूल्याङ्कन भने कहिल्यै गरेका हुँदैनौ । कसले के गर्नुपथ्र्यो र के गर्नुहुन्नथ्यो हामीलाई सबै थाहा छ बाहेक आफूले । स्वदेशका मात्रै होइनन्, फलानो देशका राष्ट्रपतिदेखि ढिस्कानो देशका कलाकार र खेलाडीसम्म सबैको काम, कर्तव्य र अधिकारको व्याख्या र कामको मूल्याङ्कन हामी एकै श्वासमा गर्नसक्छौँ बाहेक आफ्नो । यसबाहेकको हाम्रो समय अरू देशहरूमा भएको सुशासन, विकास र समृद्धिको व्याख्या गरेर बित्दछ तर हामीले कहिले सोच्दैनौँ । ती देशहरूमा जति राज्यजनताप्रति उत्तरदायी छ । त्योभन्दा बढी जनता राज्यप्रति उत्तरदायी हुन्छन् । जनताहरूले आफूलाई राज्यभन्दा पृथक् मान्दैनन् र राज्यप्रतिको आफ्नो दायित्व बुझेका हुन्छन् । त्यहाँ मान्छेविना सपिङ मल÷पसलहरुको कल्पना गर्न थालिएको छ । पुलिसविना सुरक्षाको कल्पना गर्न थालिएको छ । हाम्रो देशमा सिंहदरबारभित्र राखिएका गाडीका टायरहरु हराएका समाचारहरु आउँछन् । हामी मन्दिरभित्र पस्दा बाहिर राखिएका पुराना जुत्ताचप्पलहरू कसैले लग्ने पो हो कि भनेर चिन्ता गर्नुपर्ने स्थिति छ । पार्किङमा राखिएको मोटरसाइकलको हेल्मेटको सुरक्षाको चिन्ता छ । 

एकातिर देशमा नातावाद र कृपावाद बढ्दै गएकोमा हामी साह्रै चिन्तित देखिन्छौँ । अर्कोतर्फ हामीलाई आफ्नो क्षमताभन्दा पनि चिनजान र भनसुनमा विश्वास लाग्छ । मसँग के सीप छ भन्दा पनि मैले कुन–कुन नेता र कुन हाकिम चिनेको छु भन्नेमा गर्व गर्दछौँ । कर छल्नु आफ्नो नैसर्गिक अधिकार सम्झिन्छाँै । सकेसम्म कुनै न कुनै बहानामा कर तिर्नु नपरे हुन्थ्यो भन्ने सोच राख्दछौँ । तर सरकारले जनतालाई दिनुपर्ने सुविधाको कुरामा कुनै देशसँग तुलना गर्छौँ । राति झ्यालबाट सडकमा फोहोर फाल्छौँ तर बिहान नाक थुन्दै नगरपालिकालाई गाली गर्छौँ । बिहान बिर्सिन्छौँ कि त्यो सडकमा गन्हाएको प्याज र आलुको बोक्रा आफ्नै भान्छाको हो र त्यो मैले सफा गरे पनि हुन्छ । सार्वजनिक यातायातमा अशक्त आरक्षण सीट दुईवटा लेखेको ठाउँमा कुनै तेस्रो अशक्त व्यक्ति आयो भने बस्न ठाउँ दिनुको साटो आरक्षण सीट दुईवटा मात्रै हो भन्ने तर्क प्रस्तुत गर्ने बौद्धिकताभन्दा माथि अझै उठ्नसकेका छैनौँ ।  

हामीलाई पाँच मिनेट लाइनमा बस्न गाह्रो हुन्छ तर सुशासन र पद्धतिका गफ छाँट्न पछि हट्दैनौँ । हामी हाम्रो देशमा भ्रष्टाचार मौलायो भन्छौँ । देबल मुनिबाट कारोबार बढ्यो भन्छौँ तर हामी बिर्सिन्छौँ कि टेबलमुनिबाट घुस लिने हात अर्काको होला तर घुस दिने हात आफ्नै हो । 

हामीलाई पाँच मिनेट लाइनमा बस्न गाह्रो हुन्छ तर सुशासन र पद्धतिका गफ छाँट्न पछि हट्दैनौँ । हामी हाम्रो देशमा भ्रष्टाचार मौलायो भन्छौँ । देबल मुनिबाट कारोबार बढ्यो भन्छौँ तर हामी बिर्सिन्छौँ कि टेबलमुनिबाट घुस लिने हात अर्काको होला तर घुस दिने हात आफ्नै हो । 

 

हामीहरूले गाली गर्ने र आलोचना गर्नेहरूको टप लिस्टमा हाम्रा नेता र सरकार पर्ने गर्दछ । हाम्रो देशमा नेतृत्व र सरकारलाई गाली गर्नुलाई वाक् स्वतन्त्रताको प्रयोगको रूपमा लिइएता पनि आफैँले चुनेको जनप्रतिनिधिलाई गाली गर्नु भनेको आकाशतिर थुकेर आफ्नै मुखमा झर्नुजस्तै हो । लोकतन्त्रमा गलत नेतृत्व र गलत नेतृत्वले गरेको गलत कामको लागि हामी पनि कहीँ न कहीँ भागिदार हुनुपर्छ । एकचोटि कुनै गलत मान्छे नेतृत्व तहमा पुग्यो वा देश र जनहितविपरीत काम गरिहाल्यो भने पति त्यस्तो मान्छे अर्कोचोटि नेतृत्वमा पुग्न नहुने हो । तर हाम्रो गाली र आलोचना निर्वाचनको एक दिन अगाडिसम्म मात्रै हुन्छ । मतपत्रमा हाम्रो हात फेरि उही र उस्तै व्यक्तिलाई मत दिन अगाडि बढ्ने गर्दछ । फौजदारी अभियोग लागेका र कुख्यात व्यक्तिहरु अत्यधिक मतले निर्वाचन जित्नु यसका ज्वलन्त उदाहरणहरू हुन् । विगतका विभिन्न निर्वाचनहरूमा हामीमध्ये धेरैका मतहरू सानोतिनो प्रलोभनमा बिकेको कसैबाट लुकेको छैन । कैयौंचोटि त त्यसको असर भोगि पनि सकेका छौं ।

अब, प्राण धान्ने र कामचलाउभन्दा माथिको एक्काईसौँ शताब्दी सुहाउँदो विकास र सुसंस्कृत समाजको परिकल्पना गर्ने हो भने सबैभन्दा पहिले तपाईं हामीहरु परिवर्तन हुन जरूरी छ । हाम्रो विचार र सोच बदल्न जरूरी छ । हामीभित्र जगडिएर रहेको व्यक्तिगत स्वार्थको कालो पर्दा हट्न आवश्यक छ । अधिकार सँगसँगै कर्तव्यबोध हुन पर्दछ । आफूले पाउने हिसाबकिताबभन्दा पनि आफूले देश र समाजलाई दिनुपर्ने हिसाबको ठेली दुरुस्त हुन आवश्यक छ । 
एउटा गीतमा भनिएजस्तै भन्ने बेला आएको छ –

देशले के दियो नभनौँ साथी हो, देशलाई के दिएँ यो भनौ साथी हो । 
देशको माटोले ऋण लाएको छ, ऋण छैन मलाई नभनौँ साथी हो ।।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै