चैत्र १ गतेदेखि २० वर्ष पुराना सवारी साधन प्रतिबन्ध, सडकमा भेटिए ‘सीज’ गरी लिलाम गर्ने विभागको तयारी

खरीबोट
ad

काठमाडौँ । यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायात आगामी चैत १ गतेपछि पनि गुडेमा ‘सीज’ गरी लिलाम गर्ने तयारी गरेको छ । 

फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसीस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरिएको महानिर्देशक रुपनारायण भट्टराईले बताए । दुवै नम्बर बुझाउनेले कबाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् । 

“चैत १ गतेदेखि २० वर्ष पुराना सवारी सडकमा गुडे ‘सीज’ गरी सरकारले लिलाम गर्छ, यसैले फागुन मसान्तसम्म पुराना सवारी व्यवस्थापनको सबै काम सक्न व्यवसायीलाई अनुरोध गरिएको छ”, उनले भने । 

देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनामा समेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको छ । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो । 

उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन नहुँदा प्रदूषण बढेको यातायात क्षेत्रको विकृतिका विरुद्धमा अभियान सञ्चालन गरिरहेका रामबहादुर थापाले सुनाए । 

विभागका महानिर्देशक भट्टराई विसं २०७३ फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी हटाउन गरेको निर्णय पूर्णरुपमा कार्यान्वयन हुन नसकेको स्वीकार्छन् । 

नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएको हो । गत वर्ष उपत्यकाबाट नहटेका २० वर्ष पुराना सवारी पनि फागुन मसान्तसम्म हटाइनुपर्ने विभागले जनाएको छ । 

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० छन् । ब्याट्रीबाट चल्ने सवारी साधन भने ३० वर्षसम्म चल्नसक्ने निर्णय मन्त्रिपरिषद्ले गरी गत असोजमै नेपाल राजपत्रमा सूचना प्रकाशित भइसकेको महानिर्देशक भट्टराईले बताए । 

हाल देशभर २० वर्ष पुराना सवारी साधन पाँच हजार ५०० गुडिरहेको विभागले जनाएको छ । 

सम्बन्धित समाचार

यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्नुपर्ने

काठमाडौँ, / प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ ।  विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी

सार्वजनिक यातायातभित्र यात्रुले देख्नेगरी नम्बर राख्नुपर्ने

काठमाडौँ । उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनले यात्रुले देख्नेगरी सवारी साधनको भित्री भागमा पनि नम्बर अनिवार्य राख्नुपर्ने भएको छ ।  सार्वजनिक यातायातमा यात्रुले धेरै सरसामान छोड्ने र हराउने क्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी

सार्वजनिक यातायात छाडा भएको भन्दै ज्येष्ठ नागरिकले घेरे यातायात विभाग  

काठमाडौं । सार्वजनिक यातायात व्यवस्थित गर्नुपर्ने माग गर्दै अग्रज नेपाल समाजका ज्येष्ठ नागरिकहरु यातायात व्यवस्था विभाग पुगेका छन् ।  सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई सम्मान नभएको र आरक्षण सिट प्रयोग गर्ने अवस्था

गाईघाट –दिक्तेल सडकमा यातायात सेवा बन्द

गाईघाट ।  उदयपुरको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट– दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा जडित बेलिब्रिज खोलिने भएपछि गाईघाट –दिक्तेल सडकमा छ महिनाका लागि यातायात सेवा बन्द हुने भएको