• २०८१ बैशाख ७ शुक्रबार

लालबाबुको पहिलो एक्सन : इआइए मापदण्ड पूरा नगरेका सोल्टी र द्वारिका होटललाई एक-एक लाख जरीवाना

kharibot

काठमाडौं । सरकारले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) मापदण्ड पूरा नगरी सेवा दिएको भन्दै पाँचतारे होटल, चार वटा ठूला अस्पतालसहित ११ वटा कम्पनीलाई कारवाही गर्दै जरिवाना तिराउने निर्णय गरेको छ । 

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले पाँचतारे होटल सोल्टी र  द्वारिकाजलाई एक–एक लाख जरिवाना गराउने निर्णय गरेका छन् ।

काठमाडौँको रवि भवनमा रहेको होटल सोल्टी र गौशाला बत्तिसपुतलीमा रहेको द्वारिकाजले होटल विस्तार गर्दा इआइए मापदण्ड पूरा नगरेको जनसंख्या तथा वातावरण मन्त्रालयको दावी छ । यस्तै, ठमेलमा रहेको काठमाडौं गेष्ट हाउस, रविभवनमै रहेको सिटी होटललाई पनि एक–एक लाख रुपैयाँ जरिवाना र एक महिनाभित्र इआइए गर्न समय दिइएको छ ।

इआइए नगर्नेमा काठमाडौंका चारवटा ठूला अस्पताल र बालाजुमा रहेको दूध वितरण आयोजना पनि छन् । नेशनल हस्पिटल कलंकी, अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल महाराजगञ्ज, काठमाडौं मोडल हस्पिटल भृकुटीमण्डप र काठमाडौँ अस्पताल त्रिपुरेश्वर रहेका छन् । उनीहरुलाई तत्काल इआइए गराइ कारवाही गर्न जनसंख्या तथा वातावरण मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको छ । 

यस्तै, मापदण्ड विपरित सञ्चालनमा रहेको तनहुँको अरनिको आबुखैरेनी सिमेन्ट इन्डस्ट्रिज र मोरङको कमला रोलिङ मिल प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय मन्त्रालयले गरेको छ ।

यस्तै काठमाडौंको बालाजुमा रहेको दूग्ध वितरण आयोजनाले पनि मापदण्ड पूरा नगरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय मन्त्रालयले गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै