• २०८१ बैशाख ८ शनिबार

सिमराको विशेष आर्थिक क्षेत्र निर्माण तीव्र गतिमा, पाँच ब्लकमा विभाजन गरी काम हुँदै 

kharibot

बारा । सरकारले निर्यात जन्य उद्योग प्रवद्र्धन गर्न बिरगंज पथलैया औद्योगिक करिडोरलाई लक्षित गरी सिमरा–डुमरवाना बिचमा स्थापना गर्न लागेको करोडौं लागतको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ । 

निर्माण कार्य सुरु गरिएको करिब साँढे चार वर्ष पछि व्यवस्थापिका संसद्ले हालै मात्र ७३ भदौ महिनामा सेज ऐन पारित गरे लगत्तै यहाँको निर्माण कार्यले गति लिएको हो ।

यसैबिच, दुई वर्ष भित्रै स्पेशल गार्मेन्ट प्रोसेसिङ जोन पनि निर्माण गरिने भएको छ । बाराको सेज निर्माण विकास समितिका ईन्जिनियर दिनेश न्यौपानेका अनुसार कुल आठ सय ३३ बिघा जमिनलाई पाँच वटा ब्लकमा विभाजन गरी काम भईरहेको छ । 

सरकारको बारामा स्पेसल गार्मेन्ट प्रोसेसिङ जोन निर्माण गर्ने नीति अनुरुप हाल ब्लक ए को कुल ३ सय ४२ बिघा क्षेत्रफल मध्ये एक सय ६० बिघा जमिनमा काम भईरहेको उनले बताए । 

सेजमा अहिले ‘ए’ ब्लक भित्र पूर्वाधार निर्माण गर्ने काम भईरहेको छ । आठ सय ३३ बिगाह जमिनलाई पाँच वटा ब्लकमा बिभाजन गरी तीन सय ४३ बिगाह जमिन रहेको ‘ए’ ब्लकमा ३९ फिटे मुख्य र २८-२९ फिटको शाखा बाटोहरु निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ । निमार्ण भैरहेको बाटोमा साईकल र पैदल यात्रीको लागि फुटपाथ सँगै साईकल लेनको समेत छुट्टै व्यवस्था गरिएको छ । 

करिव दुई अर्बको लागतमा निर्माण हुने प्रशासनिक र सेवा भवनको कामले समेत तिब्रता पाएको छ । सेवा भवनमा बिमा, बैंक, भन्सार जस्ता सेवालाई एकिकृत गर्ने उद्देश्यले निर्माण गरिन लागेको हो । 

क्लिकर अवरोधका कारण सिमेन्टको र छडको मूल्य बृद्धि भए पछि कम्पनीले एक महिना ढिला गरी काम शुरु गरेको थियो । तर , आयोजनाले तागेता गरे पछि अहिले रात दिन कर्मचारीहरु भवन निर्माणमा लागेको आयोजनाका सव ईन्जिनियर अजय चौधरीले बताए । 

पहिलो चरणको काम हेटौडाको अमर कान्छा रामदेव कन्ट्रक्सन जेबीले एघार करोड ८३ लाख रुपैयाँमा ठेक्का पाएको छ । कन्ट्रक्सनले चार महिना देखि द्रूत गतिमा काम गरिरहेको छ । कम्पाउन्ड निर्माणको कामसँगै लेन्ड डेभलपमेन्ट र गुरु योजना अनुरुप पानीको निकास र प्रशोधनका लागि ट्रयाक खोल्ने काम भईरहेको छ । पहिलो चरणको काम पछि ब्लक ए को बाँकी जमिनको कम्पाउन्ड निर्माणको काम समेत सोही कन्ट्रक्सनले गर्ने आयोजनाले जनाएको छ ।

अबको करिब दुई वर्ष भित्र ब्लक ए को काम सम्पन्न गरी ईच्छुक उद्योगीलाई उद्योग स्थापनाका लागि अपिल गर्न सक्षम हुँने इन्जिनियर न्यौपानेले बताए । ब्लक ए मा विशेष गरी तयारी पोसाक निर्माण गर्ने उद्योग रहँने छन् । 

ब्लक ए को कामसँगै ब्लक बी र सी को पनि काम अगाडि बढिरहेको समेत सेज विकास समितिले जनाएको छ । ब्लक बी कुल एक सय २८ बिघा र ब्लक सी ४९ दशमलव पाँच बिघामा निर्माण हुँने छ । 

‘ए’ ब्लकको कार्य सँगसँगै ब्लक ‘बि’ र ‘सि’ को डि.पि.आर तैयार भै पर्खाल लगाउँने काम सुरु भएको छ । ब्लक बी र सी को निर्माण कार्यका लागि काठमाण्डौंको गणपति कन्ट्रक्सनलाई ठेक्का पाएको आयोजनाले जनाएको छ ।

केही समय अघि मात्रै विश्व बैंक अन्तर्गत रहेको ईन्टरनेशनल फाईनान्स कर्पोरेसनका प्रतिनिधि लगायत विभिन्न उद्योगीले यस सेजको सम्भाव्यता अध्ययन गरी खुसी व्यक्त गरेका थिए । 

ब्लक ए का लागि पनि तयारी पोसाकका लागि सरकारले जोन घोषणा गरे पछि धेरै उद्योगी आकर्षित भएका छन् । भारतको कोकाकोला कम्पनी र बंगलादेशको एक कम्पनी सम्पर्कमा आएको आयोजनाले जनाएको छ । विशेष गरी अमेरिकाका केही तयारी पोषाक निर्माण गर्ने कम्पनी यस सेजमा आकर्षित छन् ।

पहिलो चरण अन्तर्गत आठ सय ३३ बिगाहा क्षेत्रफलमा साना मझौला तथा ठूला गरी एक हजार दुई सय उद्योग स्थापना गर्ने लक्ष्य रहेको छ । यस वर्ष विशेष आर्थिक क्षेत्र सेजका लागि ८४ करोड रुपैयाँ बजेट छुट्ट्याईएको छ । 

वैदेशिक वस्तुको आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादन प्रति आत्मनिर्भर बनाउँनुको साथै बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्ने उद्देश्यले सरकारले उक्त योजना अगाडी बढाएको हो ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै