काठमाडौँ । बार्सिलोनाका मिडफिल्डर सर्जी रोबोर्टोले २०२२ सम्म बार्सिलोनामै रहने गरि आफ्नो सम्झौता नवीकरण गरेका छन् ।
बार्सिलोना छोडेर म्यान्चेस्टर सिटी जाने हल्लाका बीच रोबोर्टोले बार्सिलोनासँग सम्झौता नवीकरण गरेका हुन् ।
२६ बर्षिय स्पेनिस स्टार रोबोर्टोको बार्सिलोनामा अब १८ महिना मात्र सम्झौता अवधि बाँकी थियो । यस सिजनमा बार्सिलोनाका लागि ३४ खेल खेलिसकेका रोबोर्टो म्यानचेस्टर सिटीका म्यानेजर पप गार्डीओलासँग नियमित सम्पर्कमा रहेको स्पेनिस मिडियाहरुले उलीख गरिरहेका थिए । रोबोर्टो बार्सिलोनाको युवा टिमबाट आएका खेलाडी हुन् । उनले गरेको नयाँ सम्झौतामा ४४० मिलियन पाउण्डको रिलिज क्लज राखिएको छ ।
२००६ मा १४ बर्षको उमेरमा बार्सिलोनामा आएका रोबोर्टोले २००९ सम्म बार्सिलोनाको जुनियर टिममा खेलेका थिए । त्यसपछि उनले बार्सिलोनाको बि टिममा १०६ खेल खेलेका छन् । २०१० देखि बार्सिलोनाको सिनियर टिममा खेलेका रोबोर्टोले बार्सिलोनाका लागि ११५ खेल खेलेका छन् ।
स्पेनको राष्ट्रिय टिममा ३ खेल खेलेका रोबोर्टोले आगामी विश्वकपमा खेल्न पाउने आशा व्यक्त गरेका छन् ।
सम्झौता नविकरण गर्दै रोबोर्टोले आफु १२ बर्षदेखि बार्सिलोनामा रहेको भन्दै आफ्नो उद्धेश्य जति सक्यो बार्सिलोनामै रहने रहेको बताएका छन् ।
यसअघि मिडफिल्डरको रुपमा खेल्दै आएका रोबोर्टो डानी आल्भेजले बार्सिलोना छोडेपछि राइट ब्याकको रुपमा खेलिरहेका छन् ।