• २०८१ बैशाख ६ बिहीबार

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

kharibot

काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने बताइकी छन् । 

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले संविधानले व्यवस्था गरेअनुसार मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व गराउनुपर्ने बताएकी हुन् । ‘संविधानले संघ र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला रहने अनिवार्य व्यवस्था गरेको छ, त्यसअनुसार महिला प्रतिनिधित्व हुनुपर्छ,’ उनले भनीन् । 

मन्त्री थापाले स्थानीय तह बलियो भएमात्र संविधान कार्यान्वयन गर्न सजिलो हुने भएकाले विकास निर्माणमा स्थानीय क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरीन् । 

नेकपा एमाले का नेता महेश बस्नेतले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताए । ‘नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच छलफल भइरहेको छ, अब चाँडै नै निष्कर्षमा पुगेर मन्त्रिपरिषद् विस्तार हुन्छ,’ उनले भने । 

नेता बस्नेतले मुलुकको समृद्धि र प्रविधियुक्त नेपाल वर्तमान सरकारको प्रमुख एजेण्डा हुने बताए । सबै हिसाबले प्रदेश नं ३ को राजधानी भक्तपुर मिल्ने भएकाले भक्तपुर राजधानी बनाउनुपर्ने उनको भनाइ थियो । 

नेपाली काँग्रेसका नेता रामकृष्ण यादवले जनताको जनादेशअनुसार काँग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । ‘राम्रो काम गरे हामी सरकारलाई सहयोग गर्छौं, नराम्रो काम गरे खबरदारी गर्छौं,’ उनले भने । नेपाली काँग्रेसको संसदीय दलको नेतामा युवालाई अवसर दिनुपर्ने उनको भनाइ थियो । 

माओवादी केन्द्रका नेता अमललाल मोदीले मुलुकको विकासका लागि वाम एकता भएको बताए । उनले चाँडै नै मन्त्रिपरिषद् विस्तार हुने र समावेशी र समानुपातिक प्रक्रिया अपनाए आफू मन्त्री बन्ने स्पष्ट पारे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै