• २०८१ बैशाख ६ बिहीबार

मातृभाषा र सिकाइ

kharibot

काठमाडौँ ।  विकिपिडियाका अनुसार मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषासम्बन्धी र रीतिरिवाजको पहिचान हो । 

विश्वव्यापी रुपमा मातृभाषाको महत्वलाई बुझाउँदै यसको संरक्षणको लागि २१ फेब्रुअरी २००२ देखि लोप हुनलागेका करिब तीन हजार भाषाहरु संरक्षणको लागि मातृभाषा दिवस मनाउन थालिएको हो । 

युनेस्कोले ‘यो भाषाहरुको ब्रह्माण्डमा हरेक एक शब्द ताराबराबर हुन्’ भन्ने नाराको साथ मातृभाषा दिवस मनाउन सुरु गरेको थियो  । शिक्षाको  महत्व बढेसँगै मातृभाषामा बच्चाहरुलाई शिक्षा दिँदा सजिलै सिक्नसक्ने बताएको थियो । 

सन् १९९९ नोभेम्बरमा भएको संयुक्त राष्टसंघको साधारणसभाले विश्व मातृभाषा दिवस मनाउने घोषणा गरेको थियो । सन् २००० देखि संयुक्त राष्ट्रसंघले २१ फेब्रुअरीदेखि आफ्नो सदस्य राष्ट्रहरुलाई बहुभाषिक राष्ट्रहरुलाई भाषाको महत्व बुझाउँदै आजकै दिनदेखि मातृभाषा दिवस मनाउन आग्रह गरेको थियो । सन् १९५२ मा बंगाली भाषाको प्रयोगका लागि गरिएको प्रदर्शनीका क्रममा सहिद भएकाहरुको सम्झनामा आजको दिनलाई मातृभाषा दिवसको रुपमा मनाउने गरिएको हो ।  

कुनै पनि बालबालिकालाई उनीहरुले सुरुदेखि बोल्दै आएका मातृभाषाको माध्यमबाट सिकाइको वातावरण सिर्जना गरियो भने राम्रोसँग बुभन सक्छन् भन्ने अवधारणाको साथ अहिले विश्वव्यापी रुपमा नै मातृभाषामा शिक्षाको प्रयोग हुनथालेको छ । छुट्टै मातृभाषा भएका बच्चाहरुलाई अर्कै भाषामा शिक्षा दिँदा उनीहरुलाई अर्को भाषा सिक्न समय लाग्ने हुँदा सिकाइ उपलब्धिपूर्ण नहुन पनि सक्छ । उनीहरुले पढाएका कुरा बुझेका हुँदैनन् । उनीहरुलाई अर्को भाषासम्बन्धी राम्रो ज्ञान नै भएको हुँदैन । 

नेपालको संविधानको भाग १ अन्तर्गत धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा हो’ भनिएको छ । भाग ३ को मौलिक हकको धारा ३१ शिक्षासम्बन्धी हकको उपधारा ५ मा नेपालमा बस्ने प्रत्येक समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसको लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ भनिएको छ । 
नेपालमा अधिकांश बालबालिकाहरुले विद्यालय छोड्नुको प्रमुख कारणको रुपमा आउने गरेको भाषिक विविधता अर्थात् घरको र स्कुलको फरक वातावरण जसलाई सजिलोसँग गहण गर्न नसक्नु पनि एक कारण हो । हरेक वर्ष करिब १३ लाख विद्यार्थी भर्ना हुने भए पनि एसईई दिने बेलासम्म करिब पाँच लाख विद्यार्थी हुने गरेको देखिन्छ । नेपालको संविधानमा मातृभाषामा शिक्षा लिन पाउने भनिए पनि निःशुल्क शिक्षाको रुपमा यसलाई समावेश नगरिएको कारण कार्यान्वयनमा भने समस्या देखिएको छ । नेपाल संघीयतामा गएसँगै स्थानीय तहले स्थानीय भाषालाई मातृभाषा शिक्षाको रुपमा अगाडि बढाएर लैजाने हो भने बालबालिकाको सिकाइको प्रक्रिया सजिलो हुने देखिन्छ । 

संसारभरका विभिन्न मुलुकमा गरिएका अध्ययन तथा अनुसन्धानले पनि मातृभाषामा शिक्षा आर्जन गरेका बच्चाहरुले सजिलैसँग अर्को भाषामा सिक्नसक्ने देखाएको छ । भाषा नै सिकाएको महत्वपूर्ण माध्यम रहेको र यसलाई उपलब्धिपूर्ण बनाउन ‘सुरुको ६ देखि ८ वर्षसम्म मातृभाषाको माध्यमबाट बहुभाषी शिक्षा प्रणालीमा शिक्षा प्रदान गर्नुको साथै नेपाली र अंग्रेजी भाषालाई क्रमशः दोस्रो भाषा र वैदेशिक भाषाको रुपमा योग्य शिक्षकद्वारा अध्यापन गराउनु उपयुक्त हुनेछ ।” भनेर शिक्षाविद् तोभे स्कुतनाब काङगासले एक अन्तर्वार्तामा बताएकी छन् । 

नेपालमा २०६८ को जनगणनाअनुसार १२३ भाषाभाषी बोल्ने मानिसहरु बसोबास गर्दछन् । जबकि अघिल्लो जनगणनामा ९२ मातृभाषा थिए । नेपाल विविध जातिभाषाको साझाको फूलबारी हो । 

नेपालमा अहिले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गर्ने जनसंख्या ४४.६ प्रतिशत रहेका छन् । बाँकी ५५.४ प्रतिशत जनसंख्याको आफ्नो छुट्टाछुट्टै मातृभाषा रहेको छ ।

नेपालमा बोलिने मातृभाषाहरुमा सबैभन्दा बढी बोलिने मातृभाषा  मैथिली हो । जुन कुल जनसंख्याको  ११.७ प्रतिशत मानिसहरुले बोल्ने गर्दछन् । त्यस्तै नेपालमा भोजपुरी भाषा ६.० प्रतिशत, थारु भाषा ५.८ प्रतिशत, तमाङ भाषा ५.१ प्रतिशत, नेवार भाषा ३.२ प्रतिशत जनसंख्याले मातृभाषाको रुपमा बोल्ने गर्दछन् । बञ्जिका, मगर र डोटेली भाषालाई मातृभाषाको रुपमा प्रयोग गर्ने जनसंख्या ३÷३  प्रतिशत रहेका छन् । उर्दू भाषालाई मातृभाषाको रुपमा बोलने नेपालीको प्रतिशत २.६ रहेको छ भने यो धेरै बालिने भाषाहरुको दशौँ स्थानमा पर्दछ । यसरी आधाभन्दा बढी मातृभाषा छुट्टा छुट्टै भएका जातजाति बसोबास गर्ने नेपालको सन्दर्भमा मातृभाषामा शिक्षाको आवश्यता बालबालिकाको सिकाइ उपलब्धिको लागि अनिवार्यजस्तै देखिन्छ ।

भाषा बोली मानवीय जीवनमा सबैभन्दा महत्वपुर्ण कुरा हो । विचार भावना अभिव्यक्तिको भरपर्दो माध्यम नै भाषा हो । मानव जातिले भाषाको माध्यमबाट आफ्नो भावनालाई अभिव्यक्त गर्नसक्छ ।  बोली भाषासँग भावनाको गहिरो सम्बन्ध रहेको हुन्छ । भाषाको माध्यमबाट बोली बाहिर निस्किन्छ, बोली नै हाम्रो हृदयको दर्पण हो । एउटा बच्चा मातृभाषामा जति कुरा बुझ्छ, भावना अभिव्यक्त गर्न सक्छ । त्यो भन्दा धेरै गाह्रो हुन्छ अर्को भाषा बुझ्न । 

यही कुराको महसुस गरी प्राथमिक तहका बच्चाहरुलाई मातृभाषामा शिक्षा दिने अवधारणाको विकास भएको हो । र, मानवजातिको अस्तित्व र पहिचानसँग जोडिएर आउने भाषाहरुको संरक्षण र प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै