• २०८१ बैशाख ५ बुधबार

एमाले-माओवादीबीच एकीकरणका सात बुँदे आधारहरुमा सहमति, के के विषयमा भयो सहमति ?

kharibot

काठमाडौँ ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकृत पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” रहने लगायत एकीकरणका प्रारम्भिक सात बुँदे आधारहरुमा सहमति भएको छ । 

वाम गठबन्धनमा आवद्ध यी दुई पार्टीले आपसी वैचारिक विषयलाई वहश र छलफलपछि परिमार्जन गर्दै एकता महाधिवेशन गर्ने निर्णय पनि गरेका छन् । सोमबार साँझ ७ बजेदेखि राति ११ बजेसम्म बसेको बैठकले आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपमा सम्पन्न गरिने पनि सहमति गरेको हो । यो सहमतिसँगै माओवादी केन्द्रलाई सरकारमा मन्त्री पठाउन बाटो खुलेको छ । यही फागुन २ गतेको समितिको बैठकमा मिल्न बाँकी विषयलाई दुई दलले हस्ताक्षरसहित सहमति गरेका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अबेरसम्म बसेको पार्टी एकता संयोजन समितिको बैठकले गरेको सहमतिमा पार्टीको नेतृत्वमा दुई सहअध्यक्ष रहने तथा सरकारको नेतृत्व आलोपालो गर्ने भनी चर्चामा आएका विषयबारे उल्लेख गरिएको छैन । कहिलेसम्म पार्टी एकता गर्ने भन्ने पनि किटान गरिएको छैन । 

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको उक्त एकता संयोजन समितिले एमालेले अपनाउँदै आएको “जनताको बहुदलीय जनवाद” अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा केन्द्रले पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता समान रहेको स्पष्ट पारेको छ । 

सहमतिमा एमालेको “जबज” र केन्द्रको “माओवाद र एक्काइसौँ शताब्दीको जनवाद” सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने तथा उक्ता आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गर्ने उल्लेख छ । 

प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिकरुपान्तरणमार्फत् समाजवादको आधार निर्माण गर्ने सहमतिमा जनाइएको छ । 

सहमतिका सात बुंदाहरु :

१. एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।
२. पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।
३. एमालेले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा माओवादी केन्द्रले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने छ ।
४. नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलिय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निर्माण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।
५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।
६. प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रीयता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रुपान्तरणमार्फत् समाजवादका आधार निर्माण गरिनेछ ।
७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्य रुपले सम्पन्न गरिने छ ।

सात बुँदे प्रारम्भिक आधारहरुमा एकता समितिका रहेका एमालेका अध्यक्ष ओली, बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र ईश्वर पोखरेल तथा केन्द्रका अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन् । 

एमाले महासचिव पोखरेर र केन्द्रका नेता श्रेष्ठले सात बुँदे सहमति सार्वजनिक गर्दै पार्टी र सरकारको नेतृत्वका विषयमा थप स्पष्ट भने गरेनन्  । उनीहरुले लिखितरुपमा आएका विषयहरुलाई आधिकारिक ठान्न आग्रह गरेका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअघि गत असोज १७ गते दुई पार्टीबीच एकता गर्ने घोषणा गरिएको थियो । निर्वाचनमा बहुमत हासिल गरेको यस गठबन्धनको समर्थनमा एमालेका अध्यक्ष ओली यही फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

बैठकमा उपेन्द्र यादवको प्रवेश रहस्यमय :

 एमाले-माओवादी केन्दको एकता संयोजन समितिको बैठक वालुवाटारमा चलिरहदा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बाहिरिएका थिए । 

बैठक सुरु भएलगत्तै सुटुक्क बालुवाटार प्रवेश गरेका यादव साढे ९ बजेतिर बाहिरिएका थिए । 

प्रधानमन्त्री निवासको दायाँतर्फको ढोकाबाट भित्र छिरेका यादव एमाले नेता अग्नी खरेलको गाडीमा आएका थिए । एमाले-माओवादी नेताहरुको बैठकमा करिव ४० मिनेट सहभागी भएर यादव खरेलकै गाडीमा फर्किएका थिए । 

उनलाई सञ्चारकर्मीबाट लुकाउन ढोकासम्मै गाडी पुर्याएर रिसिभ गरिएको थियो। यादवलाई लुकाएर बालुवाटारबाट फर्काएपछि त्यहाँ उपस्थित सञ्चारकर्मीले उनलाई देखेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै