• २०८१ बैशाख ८ शनिबार

‘वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट नहुँदा काँग्रेस पराजीत’

kharibot

काठमाडौँ । वैचारिक र सैद्धान्तिक दृष्टिकोण स्पष्ट नहुँदा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस पराजीत भएको बुद्धिजीवीले बताएका छन् । 

गणेशमान सिंह अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘सशक्त विचार र सुदृढ संगठनको काँग्रेस’ विषयक छलफलमा सहभागी वक्ताले विधि र विधानमा पार्टी चल्न नसकेकाले काँग्रेसले हार व्यहोरनु परेको बताए । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले पार्टीको नीति र कार्यक्रम लिएर आम जनतासमक्ष जान नसके काँग्रेसको भविष्य समाप्त हुने बताउँदै ‘पार्टीको नीति कार्यक्रम आम जनतासमक्ष लैजानका लागि केन्द्रीय नीति प्रशिक्षण प्रतिष्ठान गठन गर्नुपर्छ,’ भने । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले पार्टी कार्यकर्तालाई बाँच्ने आधार तय गरेर संगठन निर्माण नगरेसम्म पार्टी पहिलेको अवस्थामा आउन नसक्ने उल्लेख गर्दै स्थानीय तहबाटै पार्टी संगठनको पुनःनिर्माणमा लाग्नुपर्ने बताए । 

राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डा स्वर्णिम वाग्लेले प्रविधिको समयमा पुरानो शैलीमा पार्टी चल्दा पराजय हुन पुगेको बताउँदै ‘नयाँ पार्टी नयाँ एजेण्डासाथ मैदानमा आउँदा काँग्रेस कमजोर भयो, नयाँ युवाको मन अब काँग्रेसले जित्न सक्नुपर्छ,’ भने । 

नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले गुट बनाएर पार्टी हस्तक्षेप गर्ने बानी काँग्रेसभित्र हुँदा पार्टी कमजोर भएको बताउँदै गुटको अन्त्य पार्टीबाट नभएसम्म विपक्षी दललाई जित्न नसकिने धारणा व्यक्त गरे । 

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले पार्टीभित्र दुःख गरेका व्यक्तिलाई भन्दा धन भएका व्यक्तिलाई टिकट दिँदा पार्टी कमजोर भएको स्पष्ट पारे । 

पूर्वसांसद रामहरि खतिवडा, नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष हरेराम श्रेष्ठ, डेमोक्रेटिक लयर्स एशोसियशनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौला, प्रा डा जीवराज पोखरेल, पत्रकार कविर राणा, रामजी दाहाल, खिला कार्कीलगायतले काँग्रेस सुधारका लागि क्रियाशील सदस्यबाट सुधार अभियान चलाउनुपर्नेमा जोड दिए । 

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले बुद्धिजीवीबाट प्राप्त राय सुझावलाई समावेश गरी केन्द्रीय समितिमा छलफलका लागि लैजाने बताउँदै आगामी निर्वाचनमा काँग्रेसलाई स्पष्ट बहुमत ल्याउन तथा पार्टीभित्र आएको संकट समाधानका लागि सबैले एकजुट भएर अगाडी बढ्नुपर्ने आवश्यकता औल्याए । 

छलफलमा काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, इश्वरी न्यौपाने, रामकृष्ण यादव, गगनकुमार थापा, महेन्द्र यादव, धनराज गुरुङ, गोविन्द भट्टराई, कल्याण गुरुङ, पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, जीवन परियार र बद्री पाण्डेलगायतको सहभागिता थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै