• २०८१ बैशाख ५ बुधबार

सेमेष्टरमा चर्को शुल्क असुलेको भन्दै आरआर क्याम्पसमा तालाबन्दी

kharibot

काठमाडौं । रत्नराज्य क्याम्पसका विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । स्नातकोत्तर दोस्रो सेमेस्टर अध्ययनरत विद्यार्थीहरुले क्याम्पस प्रशासनले चर्को शुल्क असुलेको भन्दै  क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । 

स्नातकोत्तर दोस्रो सेमेष्टर अंग्रेजी, अर्थशास्त्र, जनसंख्या र नेपाली विषयको भर्ना शुल्क अन्य सरकारी क्याम्पसमा भन्दा अत्यधिक बढी भएको र घटाउनको लागि पटक–पटक आग्रह क्याम्पस प्रशासनसँग आग्रह गर्दा कुनै प्रतिक्रिया नआएपछि बाध्य भएर क्याम्पस प्रशासनमा तालाबन्दी गरेको विद्यार्थीहरुले बताएका छन् । 

आइतबार बिहानैदेखि दोस्रो सेमेष्टरमा पुगेका विद्यार्थीले प्रशासनमा तालाबन्दी गरेका भए पनि मध्याह्नतिर विद्यार्थीहरुले लगाएको ताला स्वतन्त्र विद्यार्थी युनियनले फुटाइदिएको छ । विद्यार्थीकै हकहितका लागि भनेर गठित युनियनले नै ताला फोडेपछि विद्यार्थीहरु स्ववियुप्रति नै आक्रोशित भएका छन् ।

उनीहरुले पुनः तालाबन्दी गर्ने तयारी गरेका छन् । आरआरमा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन निर्वाचित युनियन हो । अखिलका तपेन्द्रजंग शाही अहिले स्ववियु सभापति रहेका छन् । 

स्नातकोत्तर दोस्रो सेमेष्टर अंग्रेजी विषय अध्ययनरत सरोज भुसालले खरीबोटसँग कुरा गर्दै अन्य सरकारी क्याम्पसको तुलनामा आरआर क्याम्पसमा भर्ना शुल्क धेरै भएको र अन्य क्याम्पसको तुलनामा तीन हजार पाँच रुपैयाँ बढी रहेको बताएका छन् । क्याम्पस प्रशासनले टियुबाट नै कम स्रोत उपलब्ध गराएको र शिक्षक पनि कम भएकाले शुल्क बढी लिएको बताएको समेत भुसालले जानकारी दिए ।  

क्याम्पसले दोस्रो सेमेष्टर अंगे्रजीमा १३ हजार ५ सय, नेपालीमा १२ हजार ५ सय ,  अर्थशास्त्रमा ११ हजार ५ सय शुल्क असुल्दै आएको छ । यो बाहेक परीक्षाशुल्कभन्दै एक हजार रुपैयाँ विद्यार्थीबाट लिँदै आएको छ । 

क्याम्पस प्रशासनले आफ्नो माग पुरा नगरे अरु जे सुकै कदमचाल्न सक्ने बिद्यार्थीहरुले चेतावनी दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै