• २०८१ बैशाख ७ शुक्रबार

समग्र सिन्धुलीको विकास र महिला सशक्तीकरणमा मेरो पहल हुनेछ : सांसद् देवकोटा 

kharibot

काठमाडौं । सिन्धुलीको बितीजोरमा वि.सं. २००८ सालमा आमा भक्तकुमारी र बाबु जयबहादुर कार्कीकी जेठी छोरीको रुपमा जन्मिएकी हुन् गोमा देवकोटा । 

सिन्धुली जिल्लामा जन्मेर, हुर्केकी गोमा एमाले केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघको कार्यवाहक अध्यक्ष हुँदै हाल प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएकी छिन् । उनले सानै उमेरबाट राजनीतिक जीवन सुरु गरिन्, पार्टीको लागि काम गरिन्, त्यसैले आज उनी माननीय बन्न सफल भइन् । 

सिन्धुलीको समग्र पक्षको विकास गर्ने उनको सोच छ । खरीबोटसँगको कुराकानीमा उनले भनिन्, ‘मैले माननीय हुँदा मात्र हैन, अघिपछि पनि हरेक समय सिन्धुलीको लागि काम गर्दै आएकी छु र अब माननीय हुँदा काम नगर्ने भन्ने नै हुँदैन ।’ खासगरी विकास बजेट, राष्ट्रिय योजना, मन्त्रालयमा पहल गर्ने उनको भनाइ छ ।

‘समग्र सिन्धुलीको विकासमा सकेको योगदान गर्नेछु’, उनले भनिन्, ‘सिन्धुलीको शिक्षा, स्वास्थ्य, बिजुली, बाटो, स्वच्छ खानेपानी,  स्वास्थ्य चौकी र रोजगारीको लागि मेरो पहल हुनेछ ।’ यही कुरा सिन्धुलीवासीले आफूबाट आशा गरेको उनले बताइन् । त्यस्तै, महिलाको हक, हित र अधिकारको लागि उनले काम गर्ने बताइन् । 

पार्टीले सम्मान गर्यो 

हालै सम्पन्न भएको प्रतिनिधिसभाबाट समानुपातिकतर्फ सदस्य भएकी गोमाले आफूलाई पार्टीले सम्मान गरेको सम्झेकी छिन् । उनले भनिन्, ‘आफूले पार्टीको लागि गरेको योगदान हेरेर पार्टीले आफूलाइ सम्मान गरेको हो, एकदमै खुसी छु ।’ आफू जनताको सिपाही भएकाले जनताको सेवामा समर्पित हुने उनको भनाइ छ ।

उनी आफैँ सहिदपत्नी हुन् । उनले सहिदहरुको सपना साकार पार्नको लागि देशको समृद्धि, विकास, जनताको गाँस, बास र कपास र जनताकै लागि वीर सहिदहरुले आफ्नो ज्यान आहूति दिएको बताउँदै जब जनताले हरेक क्षेत्रमा सहजता प्राप्त गर्छन्, तब मात्र सहिदको सपना साकार हुने बताइन् ।

समानवाद र साम्यवादका कुरा गरे पनि अझै पनि सहिदका सपना साकार पार्न नसकेको र त्यो कठिन भएको उनको गुनासो छ । सहिदका सपना पूरा गर्नको लागि आफूले जनताकै हक, हित र अधिकारको लागि काम गर्ने उनको लक्ष्य रहेको छ । त्यसको लागि गरिब र धनीबीच देखिएको खाडल पुर्न आवश्यक रहेको उनको भनाइ छ ।

सर्वहारा वर्गकै नेतृत्वमा लागेकाले मुख्य कुरा देश विकास, समृद्धि, महिला समानता, महिला हक, हित, रोजगारी, महिला हिंसा रोक्ने लगायतको बारेमा आफू सक्रिय रहने उनले बताइन् । 
मध्यमस्तरको पारिवारिक पृष्ठभूमि भएकी गोमा सानै उमेरमा वैवाहिक जीवनमा बाँधिइन्  । त्यो पनि न्यून पारिवारिक पृष्ठभूमि भएको मान्छेसँग ।

त्यसैले उनलाई लाग्छ, सम्पत्ति ठूलो कुरा हैन, सन्तोष नै सबैभन्दा ठूलो कुरा हो । त्यसैले त आफू मात्र नभएर आफ्नो परिवारले नै पार्टीको लागि योगदान गरेकाले पार्टी आफूप्रति सम्मान गरेको हो जस्तो लाग्छ उनलाई । ‘यहाँसम्मको मेरो उपलब्धि मेरो आफ्नै मिहिनेत र परिश्रम हो’, उनले भनिन् । त्यस्तै महिला हक , हित र अधिकारको लागि लामो समयदेखि नै लागिपरेकाले अझै पनि यही क्षेत्रमा लागिपरेको उनको भनाइ छ । 

हिजो र आजमा आकाशपातालको फरक छ 

लामो समयदेखि महिला हकहित र अधिकारको लागि काम गर्दै आएकी गोमा हिजो र आजमा महिलाको स्थिति आकाश र पातालको फरक आएको उनको भनाइ छ । उनले भनिन्, ‘हिजो राजनीतिमा महिला थोरै मात्र थिए, आज हेर्ने हो भने राजनीति मात्र नभएर हरेक क्षेत्रमा महिलाहरु अगाडि आइरहेका छन् ।’

तर यतिले मात्रै उनलाई सन्तुष्टि नमिलेको उनले बताइन् । उनले भनिन्, ‘राजनीतमा अझ महिला सक्रिय भएनन्, हामीले कल्पना गरेजसरी महिला अझै राजनीतिमा आएका छैनन् ।’ तर हरेक महिलाले राजनीति बुझ्न आवश्यक रहेको उनलाई लाग्छ । महिला राजनीतिमा सक्रिय हुनको लागि पारिवारिक सहयोग आवश्यक हुने उनको अनुभव छ ।

देशका हरेक क्षेत्रमा ५० प्रतिशत कायम गर्नको लागि आफू सधैँ लागि पर्ने उनले बताइन् । देशको नीतिनिर्माण तहसम्म महिलाहरु पुग्नुपर्ने बताउने उनी महिलाहरुले राजनीति नबुझे भोलि प्रतिस्पर्धामा जान नसक्नेमा उनको चिन्ता छ । 

महिलाहरु आर्थिक कारणले पछाडि परेको देवकोटाको भनाइ छ । महिलालाई आर्थिक रुपमा बलियो बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिएर त्यसको लागि उचित पहल गर्ने उनले सोच बनाएकी छिन् । नीति निर्माण तह, बजेट, संविधान कार्यान्वयन गराउने र राजनीतिक क्षेत्रमा पनी महिलालाई माथि उठाउने काम आफूले गर्ने उनको भनाइ छ । 

  • (खरीबोटकी कविता घिमिरेसँगको कुराकानीमा आधारित)  

    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै